coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भ्रमण वर्षलाई लक्षित गरि खनियाखर्कमा १२ करोडको रिर्सोट सञ्चालन

सिन्धुलीको खनियाखर्कमा खुलेको चेतना भिलेज रिर्सोट। रिर्सोट उद्घाटन गर्न पुगेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल।

सिन्धुली- भ्रमण वर्षलाई लक्षित गरेर बिपी राजमार्गस्थित सिन्धुलीकाे खनियाखर्कमा १२ करोड रुपैयाँ लगानीमा चेतना भिलेज रिर्सोट खुलेको छ। नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा लिएसँगै काभ्रे स्थाई घर भएका यादव हुमागाईले गोलञ्जोर गाउँपालिका ५ खनियाखर्कमा चेतना भिलेज रिर्सोट सिन्धुली सञ्चालनमा ल्याएका हुन्।

करिब १२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त रिर्सोटको भ्रमण वर्षको पहिलो दिन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै उनले ठूलो जोखिम मोलेर खनियाखर्कमा रिर्सोटमा लगानी गरेको बताउदै उक्त रिर्सोटलाई सबैले सहयोग गरेर सफलतामा लानुपर्ने बताए। लगानी उठाउन भन्दा पनि खनियाखर्कको विकासका लागि रिर्सोटले ठूलो टेवा पुर्‍याएको दाहालको भनाई थियो।

लामो समय चितवनको रामपुर कृषि क्याम्पसमा शिक्षण पेशा गरेका यादवले सिन्धुलीको खनियाखर्कमा आएर ठूलो लगानीमा रिर्सोट सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रका स्थानीयसमेत हर्षित भएका छन्। मैले पढाएर मात्र हुँदैन, पढाउनेले व्यवहारमा पनि उतार्नुपर्छ भन्ने मनसायले रिर्सोटमा लगानी गरेको हुँ, यादवले नागरिकसँग भने, खनियाखर्कलाई पनि भेडेटार जत्तिकै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने उदाहरण मैले लगानी गरेको रिर्सोटले दिएको छ।

खनियाखर्कस्थित विपी राजमार्गबाट झन्डै पाँच सय मिटर भन्दामाथि पहाडमा उनले रिर्सोट सञ्चालनमा ल्याएका छन्। रिर्सोटबाट हिमाली दृश्य, तराईको फाट, सिन्धुलीगढी रामेछाप सोलुखुम्बु ओखलढुङगासहित सिन्धुलीकै जुनार क्षेत्रको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ। यस्तै रिर्सोटबाट बिपी राजमार्गको नागबेलीसमेत देखिने स्थानीय बताउछन्।

'नेपाल सरकारले भ्रमण वर्षको घोषणा गरेसँगै मैले नेपाल भारत तथा अन्य मुलुकका पर्यटकहरुलाई खनियाखर्कमा बस्ने व्यवस्था मिलाउनुपर्छ भन्ने मनसायले त्यहाँ गएर १२ करोड बढी रुपैयाँ लगानी गरेको हुँ,' उनले भने, 'यो भ्रमण वर्षभरी रिर्सोटमा प्याकेजमै छुटको व्यवस्था मिलाइएको छ।' २३ रोपनी पाखो जमिनमा खोलिएको रिर्सोटमा ६० जनालाई बेलुकाको बाससहितको व्यवस्थापन गर्ने क्षमता भएको यादवले बताए। सिन्धुलीमै त्यति ठूलो लगानी भएको पहिलो रिर्सोटलाई सफल बनाएमात्रै अन्य उद्योग र रिर्सोट खुल्ने पूर्व कृषिमन्त्री तथा सिन्धुली क्षेत्र नं. २ संघिय सांसद हरिबोल गजुरेल बताउछन्। 'हामीले लगानीकर्तालाई सम्मानका साथै सहयोग गर्न सक्नुपर्छ अनिमात्रै पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ,' उनले भने, 'त्यसैले यस्ता लगानी गर्ने व्यवसायीलाई धेरैभन्दा धेरै सिन्धुली भित्र्याउन सके यहाँको समृद्धि हुन्छ।'

डाँडामा खुलेको रिर्सोट भएकाले १५ मिटर तलबाट पानीको व्यवस्था गरिएको सञ्चालक हुमागाई बताउछन्। 'त्यहाँका ९ घरपरिवारलाईसमेत मैले नै खानेपानीको व्यवस्था मिलाईदिएको छु,' उनले भने। संघिय सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि आफूहरुले रिर्सोट खोल्ने र रिर्सोटको उद्घाटन नेकपाका अध्यक्ष दाहाललाई गरिदिन गत असोजमै अनुरोध गरेकाले उद्घाटनमा दाहाल पुगेको सञ्चालक हुमाईले बताए। मैले नाफा कमाउनका लागि भन्दा पनि पर्यटकीय क्षेत्र सिन्धुलीगढी र खनियाखर्कलाई विकासमा टेवा पुर्‍याउने उद्देश्यले खोलेको हुँ, उनले भने।  

 

प्रकाशित: १८ पुस २०७६ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App