coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हलेसी मन्दीर व्यवस्थापन समितिको कार्यालयमा डेढ वर्षदेखि ताला

सोर्‍ह महिनादेखि ताला लागेको हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालय।तस्बिरः दमन/नागरिक

खोटाङ– भ्रमण वर्ष मनाइरहँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा डेढ वर्षअघि लागेको ताला अझै खुलेको छैन। हलेसीमा हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दीर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २०७५ साल भदौ २६ गते हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हालसम्म खुलाइएको छैन।

देशभर भ्रमण वर्ष मनाइरहँदा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला खुलाउनमा हालसम्म कसैको ध्यान जान सकेको छैन। हलेसी मन्दीर व्यवस्थापन समितिको कार्यालयमा ताला लाग्दा हलेसीको महत्वपूर्ण कामकाज गर्न र हलेसीको आय–व्ययलाई पारदर्शी राख्न असहज भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। हाल सामान्य दैनिक पूजाआजा लगायतका कामकाज तथा कर्मचारीलाई तलव खुवाउने बाहेकका काम हुन नसकेको बताइएको छ।

कांग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिस गरेको व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा र नेकपा निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि विवाद चुलिएको हो। विवाद बढ्दैजाँदा नगरपालिकाले सिफारिस गरेको समितिका हर्कराज लगायतले हलेसी मन्दीर व्यवस्थापन समितिको कार्यालयमा २०७५ साल भदौ २६ गते ताला लगाएका थिए। हर्कराज लगायतका ५ जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिकातर्फबाट २०७५ साल भदौ २४ गते कार्यभार सम्हालेको दोश्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि कांग्रेस समर्थक समूहबाट ताला लगाइएको हो। सम्भावित तोडफोड नियन्त्रणका लागि प्रशासनले हलेसीमा महिनौं दिनसम्म शसस्त्र र नेपाल प्रहरी परिचालन गरेको थियो।

२०७५ साल जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराजको अध्यक्षतामा गठन गरेर सिफारिस गरेको हलेसी मन्दीर व्यवस्थापन समितिलाई गुठी संस्थानले प्रशासनको रायमा हेरफेर गरेर २०७५ साल असार २५ गते स्वीकृत गरेकाले समस्या आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। पुरानो समितिको पदावधि सकिएको अवस्थामा अर्को समिति गठनका लागि गुठी संस्थान, प्रशासन र मालपोत कार्यालयले गरेको पत्राचारका आधारमा नगरपालिकाले समिति गठन गरेर सिफारिस गरेको जनाएको छ।

नेकपाका स्थानीय नेताले भने वडाबाट दलीय सहमतिमा गठन गर्नुपर्ने मन्दीर व्यवस्थापन समितिलाई नगरपालिकाले कांग्रेसीकरण गरेर एकलौटीढंगले सिफारिस गरेकाले समस्य आएको बताउँदै आएको छ। ‘हामीले हलेसीको आय–व्ययलाई पारदर्शी राख्ने प्रयास गरेका थियौँ तर गुठीले अर्कै समितिलाई मान्यता दियो। त्यसमाथि हलेसीलाई संघीय सरकारको मातहतमा राख्ने निर्णय गरियो,’ मेयर राईले भने, ‘जसका कारण अहिले हलेसीको खर्च र आम्दानीको हिसाव–कितावमा पारदर्शीताको प्रश्न उठिरहेको छ।’

नगरपालिकाले हर्कराज राई अध्यक्ष, भूपेन्द्र राई उपाध्यक्ष, कमल गिरी सचिव, थामबहादुर राई सह–सचिव, दिलीपराज गिरी कोषाध्यक्ष, रमिता बस्नेत, शौरभ गिरी, यज्ञराज राई र राजेश परिवारलाई सदस्यकारुपमा सिफारिस गरेको थियो। तर, गुठी संस्थानले हर्कराजलाई अध्यक्षमा यथावत राखेर लंकसेर राई उपाध्यक्ष, खिलाल राई सचिव, रमिला बस्नेत कोषाध्यक्ष, भूपेन्द्र राई, मंगल परियार, यज्ञराज राई, प्रकाशचन्द्र गिरी, थामबहादुर राई सदस्य रहेको समितिलाई २०७५ साल असार २५ गते स्वीकृत गरेर असार २८ गते मालपोत कार्यालयलाई पत्राचार गरेको थियो।

प्रशासनले २०७५ साल असार १६ गते गुठी संस्थानलाई पठाएको सिफारिस र रायका आधारमा संस्थानले हर्कराजलाई अध्यक्ष कायम राखेर अन्यलाई फेरबदल गरेको जनाइएको छ। सोही कारण नगरपालिकाले समिति गठनमा प्रशासनले हस्तक्षेप गरेको तथा गुठी संस्थानको निर्णयमा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै आरोप–प्रत्यारोप सुरु भएको थियो।

२०७४ साल पुस १७ गते सिफारिस समिति गुठी संस्थानबाट अस्वीकृत भएको अवस्थामा नगर कार्यपालिकाबाट पुनः सोही समिति पास भएर आएकाले प्रशासन र संस्थानबीचमा राय लेनदेन भएको श्रोतले जनाएको छ।

 

प्रकाशित: १८ पुस २०७६ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App