६ वैशाख २०८१ बिहीबार
समाज

जलवायु परिवर्तनको असर महिला र बालबालिकामा

कटारी नगरपािलकाभित्र पर्ने चुरे जंगलमा हरिया रुख काटेको अवलोकन गर्दै वन कर्मचारी तथा स्थानीय। तस्बिरः महेश्वर

उदयपुर- विश्वमा दिनदिनै बढ्दै गएको जलवायु परिवर्तनको असर महिला र बालबालिकामा बढी देखा पर्न थालेको सार्वजनिक भएको छ। ‘जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान’ कार्यक्रमअन्र्तगत चेतना महिला समूह उदयपुरले गरेको अध्ययनमा जलवायु परिवर्तनले प्रत्यक्षरुपमा महिला र बालबालिकालाई असर परेको देखाएको हो।

समूहले त्रियुगा नगरपालिका १ र २ नं. वडाको जोगीदहमा गरेको अनुसन्धानले यस्तो अवस्था देखाएको बिहीबार गाईघाटमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकमा चुरेक्षेत्रको बढ्दो दोहन समग्र उदयपुर जिल्लाबासीका लागि जलवायु परिवर्तनमा मुख्य कारक मानिएको छ। जलवायु परिवर्तनको प्रमुख आधारमध्ये चुरेक्षेत्रको दोहन नै सबभन्दा बढी जिम्मेवार रहेको तथ्यांक समूहकी मुख्य अनुसन्धानकर्ता तारा खनालले सार्वजनिक गरिन्। उनका अनुसार सिजनअघि वा पछिसम्म बाढी आउने, बेमौसममा हावाहुरी चल्ने, अतिबृष्टि (धेरै पानी पर्ने) र अनाबृष्टि (खडेरी लाग्ने) खण्डबृष्टि (पानी पर्ने नजिकै नपर्ने) जस्ता परिवर्तन सबै जलवायु परिवर्तनका सूचकहरु हुन्।

‘केही वर्षयता तपाईहामीले देख्दैछौं, लामो समयसम्म खडेरी लागेर पानी पर्दैन, पानी पर्दा पनि नजिकै पर्छ उता पर्दैन’ खनालले भनिन् ‘बेमौसममा पानी पर्ने, हावाहुरी चल्ने, लगातार पानी परिरहनेजस्ता घटना सबै जलवायु परिवर्तनको उपज हो।’ जलवायु परिवर्तनले बिभिन्न खाले बिपत्तीहरु आईपर्ने गरेको भन्दै उनले त्यस्को असर स्वभाविक रुपमा महिला र बालबालिकामा पर्ने उनको भनाई छ।

बाढी पहिरोले खेतीयोग्य जमिन बगाउने तथा राम्ररी उब्जनी नहुने समस्या पनि यसको असर भएको समूहले जनाएको छ। पुरुषहरु प्रायः जागीर या वैदेशिक रोजगारीको सिलसिला देश विदेश जाने हुँदा घर सम्हाल्ने महिला र उनीहरुप्रति आस्रित बालबालिका नै असरको प्रत्यक्ष भागीदार हुनुपर्ने बाध्यता रहेको समूहकी अध्यक्ष अरुणा चौधरीले बताईन्।

उनका अनुसार समूहले जलवायु परिवर्तनबारे ‘ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफिक फोरम अन ओमन’ को साझेदारीमा दुई वर्षको अवधि लगाएर बस्तीबस्ती पुगेर अध्यन गर्दा यो नतिजा देखिएको हो। उनले अध्यनले जलवायु परिवर्तनका कारण महिला र बालबालिकाको शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी नकारात्मक प्रभाव पारेको बताईन्। जोगीदहमा २१ वटा महिला समूह गठन गरी पूर्व अनुसन्धान र छलफल गर्दै अध्यन थालेको समूहले बिभिन्न  संघसंस्था, नागरिक समाज, किसान, व्यापारी, वन समूह पदाधिकारीलगायत सरोकारवालासँग समन्वय गरेको उनले बताईन्।

अध्ययनको क्रममा जलवायु परिवर्तनबारे समूहले स्थानीयहरुसँग विगत र अहिलेको मौसमी अवस्था, बालीनाली, उत्पादन क्षमता, उर्वरशक्ति, नदी खोलाको विगत र अहिलेको अवस्था तथा पहिले र अहिलेका महिला र बालबालिकाको मानसिक, शारिरीक, संवेगात्मक, सहभागितात्मक स्थितिबारे मिहीन ढंगले सोधपुछ गर्दै प्रतिवेदन तयार पारेको अध्यक्ष चौधरीले बताएकी छन्।

अनुसन्धान अधिकृत खनालका अनुसार ५ प्रतिशत स्थानीयले भने जलवायु परिवर्तनबारे थाहै नभएको उत्तर दिएका थिए। सर्भेक्षणमा सहभागीमध्ये २६ प्रतिशतले बिपत्ती आईलाग्नुमा भगवान र देवीदेवतालाई दोष दिएका थिए भने बिपत्ती आईपर्नुमा मुख्य कारक मानव गतिबिधि भन्ने हिस्सा ६९ प्रतिशत रहेको उनले बताईन्।

सरकारले पछिल्लो दुईदशकयता सामुदायिक वन उपभोक्ता समूहको अवधारण अघि सार्दै वन जंगल स्थानीयलाई हस्तान्तरण गर्ने परिपाटी पनि यसको मुख्य कारण भएको समूहले ठहर गरेको छ। समूहहरु वन संरक्षण र विकास गर्नुभन्दा वन माफीयाको चंगुलमा परेर दोहन गर्र्दै विनाशतिर अघि बढेका कारण पनि चुरेदोहन निरन्तर भएर यस्तो अवस्था आईपरेको समूहो ठहर छ ।

वन विनाश र जंगल दोहनकै कारण चुरेक्षेत्र दिनदिनै मासिँदै गएर बिभिन्न खाले विपत्तीहरु आई लाग्न थालेको कुरा पनि तथ्यांकमा समेटिएको छ । वन जंगलको दोहनकै कारण चुरे प्रभावित भएको र त्यसको प्रत्यक्ष असर महिला र बालबालिकामा ठोक्किन आएको ठहर समूहले गरेको छ । वर्षेनी बढ्दो विनाश रोक्नेतर्फ कुनै ठोस योजना नहुनु तथा सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिले विपतपूर्व सावधानी अपनाउनुपर्ने ठोस योजना तर्जुमा नगर्ने गरेका कारण यस्तो समस्या आएको उसको ठहर छ ।
    
 

प्रकाशित: १८ पुस २०७६ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App