coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वटा विश्वविद्यालयका लागि माग गरेको उपकुलपतिको आवेदन शिक्षा मन्त्रालयमै थन्किएको छ। प्राध्यापकहरूले आवेदन दिएको दुई महिना बितिसक्दा पनि ६ विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुन सकेका छैनन्। यस विश्वविद्यालयहरूमा दैनिक काम–कारबाहीसमेत प्रभावित बनेको छ।

मंसिर ६ गतेदेखि तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएपछि विश्वविद्यालयहरू उपकुलपतिविहीन बनेका हुन्। यस बेला नेपाल संस्कृत, पोखरा, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति छैनन्।

शिक्षा मन्त्रालयका अनुसार ६ विश्वविद्यालयका उपकुलपतिका लागि दुई सय ५० जनाको आवेदन परेको छ। मन्त्रालयले आवेदन माग गरे पनि राजनीतिक दलहरूबीच भागबन्डा नमिल्दा उपकुलपति चयन हुन नसकेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना बताउँछन्। आवेदन माग त नाटक मात्र भएको उनको ठहर छ। ‘दुईवटा पार्टी एक भएसँगै नेकपाभित्रै उपकुलपति नियुक्तिमा भागबन्डा मिल्न सकेको छैन। मन्त्रालयले उपकुलपतिको नियुक्तिको मापदन्ड नै नतोकी आवेदन मागेर आतंक त मच्चायो। तर सबै आवेदन मन्त्रालयमै थन्किएको छ,’ तिमल्सिनाले नागरिकसँग भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’

विश्वविद्यालयहरू उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूमा प्राज्ञिक र प्रशासनिकसहित विशेष निर्णय गर्नुपर्ने कामहरू ठप्प बनेका छन्।

यसअघि सरकारले त्रिभुवन विश्वविद्यालयको कामुउपकुलपतिमा रेक्टर सुधा त्रिपाठी, नेपाल संस्कृत विश्वविद्यालयमा रेक्टर रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयमा डिन शारदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयमा डिन बिजुकुमार थपलियालाई निमित्त उपकुलपति नियुक्त गरिएको थियो। यीमध्ये त्रिविबाहेक कुनैमा पनि उपकुलपति नियुक्त हुन सकेका छैनन्।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाअध्यक्ष प्राध्यापक रमेश ढकालले आफनो तीन महिने कार्यकाल सकिएसँगै विश्वविद्यालयका थाति कामहरू पूरा गर्न असहज भएको बताए। हाल रजिष्ट्रार पदावधिसमेत सकिएर उनी घरमै बसेका छन्। नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिमात्र होइन रेक्टर, रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र सदस्य पदसमेत खालि हुँदा विश्वविद्यालय कार्यकारीविहीन बनेको छ। मन्त्रालयको मागेको उपकुलपतिको आवेदनमा ढकालले पनि नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन दिएको बताए। ‘हाम्रो विश्वविद्यालयमा त नौ महिनादेखि सेवा आयोगसमेत रिक्त छ,’ ढकालले भने, ‘विश्वविद्यालयका महत्त्वपूर्ण निर्णयहरू सबै थन्किएका छन्।’

नेपाल प्रगतिशील प्राध्यापक संघका अध्यक्ष यादव लामिछानेले अब सरकारले अविलम्ब उपकुलति नियुक्त गरी विश्वविद्यालयहरूलाई निर्वाध रूपमा चल्नु दिनुपर्ने बताए। ‘मन्त्रालयले आवेदन मागेको दुई महिना भइसक्यो,’ अध्यक्ष लामिछानेले नागरिकसँग भने, ‘प्रतिस्पर्धाको आधारमा योग्य उपकुलपति छनोट हुनुपर्छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार उपकुलपति नियुक्तिका लागि मन्त्रालयलाई प्राप्त सबै आवेदनहरू उच्चशिक्षा महाशाखामा छ। छनोटका लागि सर्च कमिटीले काम गरिहेको छ।

भदौ ६ गतेदेखि सातवटा विश्वविद्यालयको उपकुलपतिहरूको चार बर्से कार्यकाल सकिएपछि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा तीन महिने निमित्त कुलपति नियुक्त गरेका थिए। त्यही क्रममा सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर धर्मकान्त बाँसकोटालाई कात्तिक १८ गते चार बर्से कार्यकालका लागि नियुक्ति गरेको थियो। त्यसबाहेक अन्यमा उपकुलपति छनोट गर्न शिक्षामन्त्रीकै संयोजकमा सर्च कमिटी गठन भए पनि कमिटीले उपकुलपति सिफारिस गर्न सकेको छैन।

प्रकाशित: १८ पुस २०७६ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App