coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मंगोल फोर्सका १० पुर्पक्ष थुनामा, ४ धरौटीमा रिहा

काठमाडौं– भक्तपुर जिल्ला अदालतले मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित पक्राउ परेकामध्ये दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न र चारजनालाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको छ।

महानगरीय आयुक्त कार्यालय र प्रहरी विशेष ब्युरोले दुई महिनाअघि विभिन्न हातहतियार, विष्फोटक पदार्थ, दस्तावेजसहित १४ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार चारजनालाई धरौटीमा छाड्न र दसजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतबाट ताप्लेजुङका ७१ वर्षीय पृथ्वीनारायण लिम्बुलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । त्यसैगरी सिन्धुपाल्चोकका २१ वर्षीर्य वनबहादुर स्याङबो, रोल्पाका ३० वर्षीर्य जोगबहादुर घर्ती र २२ वर्षीय दुजमान घर्तीमगरलाई जनही ५० हजार रुपैयाँ लिएर तारेखमा रिहा गर्न आदेश भएको छ । बाँकी १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।

आदेशमा भनिएको छ, ‘पृथ्वीनारायण लिम्बु सिंगापुरका भूपू प्रहरी भएको र वृद्ध पनि भएकाले भागी जाने सम्भावना नरहेकाले एक लाख रुपैयाँ नगद तथा जेथाबराबर लिई तारेखमा छोड्नू ।’ त्यसैगरी आदेशमा उल्लेख छ, ‘वनबहादुर, जोगबहादुर, दुजमानबाट जनही ५० हजार नगद वा सो बराबरको जेथा लिई तारेखमा राख्नू । जमानत दिन नसके कानुनबमोजिम कारागार पठाइदिनू ।’

बाँकी १० जनामध्ये रुकुमका ३० वर्षीय उपेन्द्र घर्तीमगर, रामेछापका ४६ वर्षर्का दाबा भन्ने तेम्डी शेर्पा, सिन्धुपाल्चोकका १८ वर्षीय  अजय तामाङ, ३९ वर्षीर्य नारायण भन्ने टुल्के श्रेष्ठ, २९ वर्षीय रविन श्रेष्ठ, खोटाङका ३२ वर्षीय सुवासचन्द्र राई, पाँचथरका ३३ वर्षीय सचिन्द्र पालुङवा, रोल्पाका ३० वर्षीय  रामबहादुर बूढामगर, ३६ वर्षीय चन्द्रबहादुर घर्ती, ३२ वर्षीय लोकबहादुर बुढालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

उनीहरूलाई संगठित अपराधसम्बन्धी मुद्दा लगाइएको छ । साथै राज्यविरुद्धको मुद्दा, हातहतियार तथा खरखजना मुद्दा पनि चलाइएको छ ।

फोर्सले सशस्त्र द्वन्द्वको योजनासहित रुकुममा युद्धसम्बन्धी तालिम दिएको भन्दै सम्बद्ध उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । फोर्स गठनसँगै केही युवालाई  रुकुमको जाङ खारखोलामा उपेन्द्र घर्तीमगरको नेतृत्वमा सैन्य तालिम दिइएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाबाट हातहतियार तथा बन्दोबस्तीका सामग्री, भरुवा बन्दुक, रिभल्बर, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, पेट्रोल बम, खुकुरी, नाइनस्टिक तथा घरेलु हतियार प्रहरीले बरामद गरेको थियो ।                                   

प्रहरीका अनुसार सो समूहले सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइमा आक्रमणको तयारी गरेको खुलेपछि पक्राउ गरिएको हो । काठमाडौं उपत्यका र पश्चिम तथा पूर्वी पहाडी जिल्लाका वित्तीय संस्था लुटपाटको योजनामा रहेका फोर्सका कार्यकर्ता प्रहरी निगरानीमा थिए । रुकुम र रोल्पालाई आधार क्षेत्र बनाएर सशस्त्र क्रियाकलाप योजना बनाएको दस्तावेज फेला प्रहरी पारेको थियो।

प्रकाशित: ६ पुस २०७३ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App