७ वैशाख २०८१ शुक्रबार
अर्थ

तातोपानीमा चिनियाँ पर्यटकलाई भब्य स्वागत

तातोपानी– चीन जोड्ने उत्तरको तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ। 

पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुवात गरिएको हो। भ्रमण वर्ष मनाउन उनीहरुलाई ३ नम्बर प्रदेश सरकारले निम्तो पठाएको थियो।

तिब्बतको नेलाम काउन्टीका डेपुटी सेक्युरिटी लावा छिरिङ, जाङमु भन्सार समन्वय डिभिजन प्रमुख यान जिनको नेतृत्वमा आएका पर्यटकलाई मितेरी पुलमा नेपाली अधिकारीले पञ्चेबाजा, परम्परागत झाँकी र नाचले स्वागत गर्दै नेपाल भित्र्याएका थिए। 

जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, ३ नम्बर प्रदेको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका अधिकारी, भोटेकोसी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष दाबुटी शेर्पा लगायतले फूलमाला र ढाकाको खादा लगाएर स्वागत गरे। कालो भाद्गाउँले टोपी पहिर्‍याएर चिनियाँ अधिकारीलाई बजार परिक्रमा समेत गराइयो।

तातोपानीको मुख्य बजारमा पर्यटकलाई स्थानीय आमा, महिला समूह, व्यवसायी लगायतले स्वागत गरे। जाङमु भन्सार प्रशासनका डिभिजन प्रमुख यान जिनले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन चीनले सघाउने प्रतिवद्धता जनाए। 

‘नेपाल भ्रमण वर्षको सन्देश चीनको केन्द्रीय सरकारसम्म पुर्‍याउँछौँ,’ उनले भने, ‘नेपाल घुम्न जान चिनियाँ नागरिकलाई उत्प्रेरित गर्छौँ।’

नेपाल–चीनको संस्कृति, पर्यटन र व्यापारको क्षेत्रमा दुबै देश मिलेर काम गर्नु पर्नेमा जोड दिए। यसअघि जिल्ला समन्वय प्रमुख तामाङले भ्रमण वर्षलाई सघाउन आग्रह गर्दै आफ्ना नागरिकलाई घुम्न नेपाल आउने वातावरण बनाउन चिनियाँ अधिकारीलाई अनुरोध गरेका थिए। उक्त अवसारमा प्रदेश पर्यटन मन्त्रालयले तयार पारेको मायाको चिनो र नेपाल सरकारले बनाएको भ्रमण वर्षको लोगो चिनियाँ अधिकारीलाई प्रदान गरिएको थियो।

प्रकाशित: १७ पुस २०७६ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App