८ वैशाख २०८१ शनिबार
समाज

विप्लवका थप दुई कार्यकर्ताले पार्टी छाडे

उदयपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका थप दुई कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। केही साताअघि दुई जिल्ला सदस्य र त्यसअघि थप १ जनाले पार्टी परित्याग गरेको घोषणा गरेकोमा अहिले थप दुईजनाले पार्टी छाडेको प्रहरीले जनाएको छ।

पार्टी छाड्नेमा रौतामाई गाउँपालिका ७ का आक्रोस उपनामका तिलक तामाङ र त्रियुगा नगरपालिका १० बोक्सेका स्थायी बसोबासी सिद्धान्त भन्ने नईन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विप्लव पार्टीमा आबद्ध भई आपराधिक गतिबिधि गरेको आरोपमा पक्राउ परी कारागारमा थुनुवा रहेका उनीहरु दुवैले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी पार्टीको कुनै पनि तहमा नबस्ने प्रण गरेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

‘यसअघि विप्लव समूहको नेकपामा आबद्ध भई बिभिन्न आपराधिक गतिबिधिमा संलग्न हुँदै आएकोमा अब उप्रान्त कुनै गतिबिधिमा संलग्न नहुने गरी सो पार्टी छाडेको घोषणा गर्दछु’ पार्टीको जिल्ला सदस्य रहेका आक्रोसको विज्ञप्तीमा उल्लेख छ ‘अबदेखि उक्त पार्टी परित्याग गरी स्वतन्त्रतापूर्वक जीवनयापन गर्नेछु तथा घर परिवारसँग समय बिताउने छु।’

यसअघि जिल्ला सदस्यद्वय पूर्णबहादुर तामाङ र निर्मल रेग्मीले गत मंसिर अनितममा पार्टी छाडेका थिए। ३ महिनाअघि पक्राउ परी कारागार सजाय भोग्दै आएका बेलका नगरपालिका ४ का ४९ वर्षीय तामाङ र प्रहरीको खोजी सूचीमा रहेका त्रियुगा १३ का रेग्मीले विज्ञप्ती जारी गरी विप्लव नेतृत्वको पार्टी त्यागेको घोषणा गरेका थिए।

त्यसभन्दा पहिले पनि दुई कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका थिए। गत मंसिर १० गते घरैबाट पक्राउ परेकी त्रियुगा नगरपालिका १२ की २८ वर्षीया अनिता गजमेर (पवित्रा)ले दुईदिनपछि प्रेस विज्ञप्ती प्रकाशित गर्र्द पार्टी परित्यागको घोषणा गरेकी थिइन्। उनीसँगै पक्राउ परेका राई भने थुनामा थिए।  

प्रकाशित: १७ पुस २०७६ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App