८ वैशाख २०८१ शनिबार
समाज

राउटे: फिरन्ते कि मगन्ते ?

वीरेन्द्रनगर- गाडीबाट ओर्लिएर जंगलमा फिरन्ते जीवन बिताउने राउटे बस्ती नियाल्दै थिएँ। परबाट राउटे समुदायका बालबालिका गाडी नजिकै आए। उनीहरूसँगै उनीहरूका अभिभावक पनि गाडीनेरै झुम्म भए। त्यहीँ झुम्म भीडमा एउटा राउटे युवा हात जोड्दै दाजु (दाई) पैसा दिनुन् भन्न थाले। अर्काेले सूर्ति मागे। राउटे समुदायको बस्तीमा पहिलोपटक पुगेको म धेरै कुरा गर्न खोजे, तर उनीहरू पैसा नदिँदासम्म बोल्न मानेनन्। पैसा दिएपछि बोल्ने नत्र प्रतिक्रिया नदिने यो राउटेको संस्कार हो की विकृति? मनमनै सोचें।

राउटे समुदायको स्पष्ट तीनमध्ये एक सिद्धान्त छ, ‘पैसा नछुने।’ लोकसेवा आयोगका लागि एउटा प्रश्न पनि निर्माण गरिएको छ, ‘पैसा छुए पाप लाग्छ भन्ने समुदाय कुन हो?’ यसको सीधा उत्तर, ‘राउटे समुदाय हो।’ तर पछिल्लो समय राउटे समुदायका लागि पैसा अनिवार्य जस्तै बनेको छ। काठबाट निर्मित सामग्री खाद्यान्नसँग साट्ने र जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामाग्री बिक्री हुन थालेपछि पनि उनीहरूमा पैसा अनिवार्य जस्तै बनेको छ। तर पैसा कमाउनलाई अनेकन उपाय हुँदाहुँदै उनीहरू मगन्ते शैलीमा प्रस्तुत हुँदा पछिल्लो पुस्तामा काम गर्ने हौसला हराउने र उनीहरू मगन्ते (माग्ने बानी) मा आकर्षित हुने देखिन्छ।

सरकारी तथा गैरसरकारी निकायले दिने सहयोगको होडबाजीले पनि राउटे समुदायमा विकृति मौलाउँदै गएको छ। विभिन्न संघसंस्थाले आफ्नो स्वार्थका लागि राउटे समुदायलाई बिगारेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काको आरोप छ। ‘अहिले राउटे समुदाय रक्सीले लट्टिएका छन्,’ उनले भनिन्, ‘पहिला पैसा नहुँदा उनीहरू यसरी खाँदैन्थ्ये, अहिले धेरै खान थालेका छन्।’ सरकारी र गैरसरकारी निकायले दिएको सहयोग सामाग्री बिक्री गरेर रक्सी खाने गरेको बेलाबेलामा समाचारहरू पनि आइरहेका छन्।

पैसा माग्न अहिले उनीहरू सहरदेखि सरकारी तथा गैरसरकारी संस्थासमेत धाउने गरेका छन्। उनीहरूको पेसालाई व्यवस्थित गर्न सके र एकद्वार प्रणालीबाट राउटे समुदायमा सहयोग वितरण भए यस्तो अवस्था नआउने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। राउटे समुदायले बनाएका सामाग्रीको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले बजारीकरण गरिदिनु पर्ने उनको भनाइ छ। ‘उनीहरू आफैँ आम्दानी गर्न थालेपछि माग्ने बानी हराउँछ,’ उनले भनिन्, ‘यसका लागि उनीहरू व्यावसायिक हुन जरुरी छ।’ ‘केही मान्छेले उनीहरूसँग फोटा खिच्न र कुरा गर्न पैसा, रक्सी र सूर्ति दिने चलन छ,’ उनले भने, ‘यो विकृति हो। यसलाई रोक्नु पर्छ।’

राउटे बस्तीमा जाने जो कोहीसँग पनि उनीहरू बिनाहिचकिचावट पैसा माग्न थाल्छन्। राउटे समुदाय पश्चिम नेपालका जंगलहरूमा फिरन्ते जीवन बिताउने गर्छन्। उनीहरूको प्रमुख आयस्रोत भनेको विभिन्न दाताले दिने सहयोग बनेको छ। राउटे बस्तीमा एउटा साइनबोर्ड पनि छ। साइनबोर्डमा कसले कति शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ।

गुराँस गाउँपालिकाका नागरिक प्रति व्यक्ति १०, नेपाली नागरिक प्रति व्यक्ति २०, विदेशी नागरिक प्रतिव्यक्ति पाँच सय, मोबाइलबाट अडियो, भिडियो डकुमेन्ट्री बनाएको एक सय र क्यामेराबाट अडियो, भिडियो डकुमेन्ट्री बनाए एक हजार रूपैयाँ तिर्नुपर्ने उक्त साइनबोर्डमा लेखिएको छ। सञ्चारकर्मीलाई भने परिचयपत्रका आधारमा छुट भनिएको छ। साइनबोर्ड लेखाइदिएको संस्थाको नाम भने उक्त साइनबोर्डमा लेखिएको छैन।

जंगलमा बस्ने र बसोबास सारिरहने भएकाले राउटे समुदायलाई फिरन्ते समुदाय भनिन्छ। राउटे समुदाय मान्छेको भीडभन्दा पर जंगलमा घुमन्ते जीवन बिताउने गर्छन्। अहिले यो समुदाय दैलेखको गुराँसे गाउँपालिकाको गुराँसे जंगल नजिकै बस्दै आएको छ।
 

प्रकाशित: १७ पुस २०७६ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App