वीरेन्द्रनगर- प्राकृतिकरूपले सुन्दर कर्णाली जहिले पनि पर्यटकको पर्खाइमा रह्यो। भौगोलिक विकटतासँगै पूर्वाधार अभावले पनि पर्यटक यहाँ आउन चाहेर पनि आउन सकेनन्। मंगलबारदेखि सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ कर्णाली घुम्ने राम्रो अवसर बन्न सक्छ। यही अवसरमा कर्णाली प्रदेश सरकारले ‘यसपालि, घुमौँ कर्णाली’नारा दिएको छ।
वर्षाैंदेखि पर्यटकविहीन यी क्षेत्र पर्यटकको स्वागतका लागि आतुर छ। सामान्य आन्तरिक पर्यटक मात्र पुग्ने पर्यटकीयस्थलमा वाह्य पर्यटक आउने स्थानीयको अपेक्षा छ। घुम्नुपर्ने धेरै ठाउँ हुँदा पनि कर्णाली पर्यटकीय हब बन्न नसकेको रुकुमबाट सुर्खेत आएका चंख विश्वकर्माले बताए। ‘कर्णालीमा प्राकृतिक सुन्दरता छ,’ उनले भने, ‘तर सुन्दरताको मूल्यांकन हुन सकेन।’ भ्रमण वर्षपश्चात् कर्णालीका पर्यटकीय क्षेत्रले पर्यटक आउने उनको आशा छ। रारा, शे–फोक्सुण्डो, सिँजा, पचालझरना, मिनीलुम्बिनी भनेर चिनिने काँक्रीविहार यहाँका घुम्न लायक ठाउँ हुन्। अन्य यस्ता धेरै ठाउँ छन् जहाँ पर्यटक एकपटक पुग्नै पर्ने देखिन्छ।
कर्णालीको कला संस्कृति पनि यहाँको पर्यटकलाई आकर्षण गर्न सक्ने एउटा माध्यम हो। देउडा, जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको नाच, टप्पा, सिंगारु पनि पर्यटकका लागि नयाँपन हुन सक्छ। एक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘कर्णालीमा बनावटी सुन्दरता छैन। कर्णाली प्राकृतिकरूपमा सुन्दर छ।’ ‘आफू कर्णाली घुम्ने मात्र होइन,’ जुम्लाबाट सुर्खेत पुगेकी दुर्गा आचार्यले भनिन्, ‘अर्कालाई पनि घुमाउन ल्याऔँ।’हिमाल, पहाडले घेरिएको कर्णाली ठाउँठाउँमा रहेका उपत्यकाले तराईको झल्को दिने उनको भनाइ छ।
यस भन्दा पहिला अन्य ठाउँ घुम्ने पर्यटक पटकपटक त्यहीँनै नजाने भएकाले पनि यसपालि पर्यटक कर्णाली घुम्ने सुर्खेतका मानबहादुर केसीले बताए। नेपाल भ्रमण वर्षका लागि कर्णालीका निजी क्षेत्रले विशेष प्याकेज पनि ल्याएका छन्। सुर्खेतका होटेल व्यवसायीहरूले १० प्रतिशत छुट दिने र भेरी नदीमा र्याफ्टिङ गर्नेलाई ५० प्रतिशत छुट दिने र्याफ्टिङ व्यवसायीहरूले तयारी गरेका छन्। यसले पनि कर्णालीमा पर्यटक भित्र्याउन मद्दत पुग्ने बताइएको छ।
बाह्य पर्यटकका लागि रारा, शे–फोक्सुण्डो, सिँजा, द्वन्द्वको उद्गमथलो रुकुम, काँक्रीविहार हुन सक्छन् भने आन्तरिक पर्यटकका लागि जिल्लास्तरका थुप्रै गुफा, हिमाल, तालतलैया, धार्मिक मठमन्दिरहरू हुन्।
प्रकाशित: १७ पुस २०७६ ०६:४३ बिहीबार