८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नर्सहरू मधुमेह खोज्दै समुदायमा

खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित डायबिटिज स्क्रिनिङ क्याम्प। तस्बिर : नागरिक

बनेपा – कुनै समय थियो स्वास्थ्य क्षेत्रको एक स्तम्भ मानिने नर्सहरूको काम अस्पतालमा भर्ना भएका बिरामीलाई औषधि खुवाउने, स्याहार–सुसार गर्ने र डाक्टरहरूको सहयोगीका रूपमा काम गर्नेमा सीमित थियो। तर अस्पतालको चौघेरामा सीमित नर्सहरूको भूमिका र परिचय अचेल फेरिन थालेको छ। धुलिखेल अस्पतालले उनीहरूलाई मधुमेह (डायबिटिज) रोग नियन्त्रण अभियानको प्रमुख भूमिका जिम्मा दिएको छ। समुदायस्तरमा मधुमेह रोग नियन्त्रण अभियानको अगुवाइ गर्ने जिम्मा पाएपछि नर्सहरू पनि अभियान सफल बनाउन दिनरात मिहिनेत गरिरहेका छन्। अस्पतालले पहिलो पटक नर्सहरूको सहयोगमा यो कार्यक्रम थालेको हो।

‘नर्सहरूलाई विशिष्टीकृत तालिम दिएर फिल्डमा खटाएका छौं। उनीहरूले डायबिटिज रोगको पहिचान (स्क्रिनिङ) समुदायमै गर्दै रोग देखापरेकाहरूलाई अस्पतालमा आउन आग्रह तथा प्रेरित गर्छन्। डायबिटिज हुनुपूर्वको अवस्था पत्ता लगाएर खानपान र जीवनशैली परिवर्तनका लागि अभिमुखीकरणसमेत गरिरहेका छन्,’ अस्पतालका निर्देशक डाक्टर रमेश माकजुले भने। धेरै किसिमका नसर्ने रोगहरूको दाँजोमा डायबिटिजको लक्षण बेलैमा देखा नपर्ने हुँदा हेलचक्र्याइँसमेत हुने गरेकाले समुदायमै नर्सहरू पठाउनुपरेको उनको भनाइ छ।

धुलिखेल अस्पतालले डायबिटिजको मुख्य कारक मानिएको खानपिन र बिरामीहरूको उपचारको निरन्तरतामा विशेष जोड दिएको छ। ‘बढ्दो सहरीकरणको प्रभावले फेरिएको जीवनशैली र खानपिनका कारणले अधिकतरमा डायबिटिज रोग निम्तिने भएकाले अस्पतालमा आएका बिरामीहरूलाई ‘फुड केयर क्लिनिक’ मार्फत र अस्पतालको २२ वटा हेल्थ सेन्टर (आउट–रिच) मा सचेतना कार्यक्रमहरूमार्फत विभिन्न कार्यक्रम आयोजना गर्नेर्छाैं,’ सामुदायिक विभागकी अनुसन्धानकर्ता डाक्टर आभा श्रेष्ठले भनिन्। सो विभागका अनुसार नेपालजस्ता विकासोन्मुख देशका नागरिकहरू नसर्ने रोगहरूमध्ये डायबिटिज रोगबाट बढी प्रभावित हुन थालेका छन्।

एक पटक डायबिटिजको यकिन भएका बिरामीले नियमित औषधि खाए वा नखाएको र जीवनशैलीमा परिवर्तन गरे या नगरेको अनुगमन हुने संयन्त्र नहुँदा कालान्तरमा आँखा, मृगौला र मुटुका रोगहरूले आक्रान्त भएर मृत्युसमेत हुने गरेका धेरै उदाहरण अनुसन्धानका क्रममा देखिएको श्रेष्ठको भनाइ छ। ‘त्यही भएर हामीले आउट–रिच सेन्टरहरूमा चलाइने ‘क्याम्प’ हरूबाट र सीधै अस्पताल आएका डायबिटिजका बिरामीहरूको उपचारको ‘फलो–अप’ लाई विशेष प्राथमिकता दिएका छौं। यसका लागि सफ्टवेयर र मोबाइल एपहरूबाट बिरामीहरूलाई अस्पतालसँग नियमित सम्पर्कमै राखिराख्छौं,’ उनले थपिन्।

वर्ल्ड डायबिटिज फाउन्डेसनको सहयोगमा अस्पतालबाट भइरहेको सो अभियानअन्तर्गत डायबिटिजका बिरामीहरूलाई सुझाव दिनेमात्रै नभई नियमित ‘ट्र्याक’ गर्दै उनीहरूको सबैखाले समस्याहरूमा पनि विस्तृत रूपमा निगरानी गर्ने योजना बनाइएको छ। ‘फलो–अपमा आउनका लागि मोबाइलबाट म्यासेज पठाइन्छ। त्यस्तै, धेरै पटक फलो–अपमा नआएको बिरामीको हकमा फोन गरेर उपचारका लागि अन्यत्र गएको हो या उपचार नै छाडेको हो कि भनेर जानकारी राख्छौं,’ श्रेष्ठले भनिन्। अस्पताल आएका बिरामीहरूको खानपिनको हेरविचारमा बढी ध्यान दिने र दोस्रो चरणमा आँखाको हेरविचार गर्ने योजना मिलाइएको छ र यसमा पनि तालिमप्राप्त नर्सहरूलाई नै प्रमुख भूमिका दिइएको छ।

अस्पताल र मातहतका आउटरिच सेन्टरको प्रयासले मात्रै डायबेटिज रोगबारे पर्याप्त सचेतना फैलाउन सम्भव नभएकाले समुदायमा रहेका क्लबहरूलाई पनि डायबिटिज सचेतना तालिम प्रदान गर्दै स्थानीय क्लबहरूमार्फत सामुदायिक हेरचाह गरिने प्रणालीसमेत बनाइएको कार्यक्रमकी फोकल पर्सन रविना श्रेष्ठले जानकारी दिइन्। ‘हामीले खोपासी प्राथमिक स्वास्थ्य केन्द्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पहिलो पटक डायबिटिज रोगबारे अभिमुखीकरण कार्यक्रम चलायौं। यो अभिमुखीकरणमा धुलिखेल, बनेपा र पनौतीमा कार्यरत एक सय ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेटनेछौं,’ उनले भनिन्, ‘उहाँहरूको सहभागितामा प्रत्येक नगरपालिकामा भौगोलिक अवस्थाअनुसार दुईदेखि तीनवटा ‘डायबिटिज अवारनेस (सचेतना) क्लब’ हरू गठन गर्दैछौं। यसमा पनि नर्सहरूकै प्रमुख भूमिका रहनेछ।’

अस्पतालले हालसम्म धुलिखेल, बनेपा र पनौती नगरपालिकाका हेल्थ सेन्टर, समुदाय र क्याम्पसमा गरी ११ ठाउँमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिसकेको छ। श्रेष्ठका अनुसार धुलिखेलमा ६ सय, बनेपामा तीन सय र पनौतीमा दुई सय आठजनाको स्क्रिनिङको काम सकिएको छ। उनीहरूको मोबाइल नम्बर अस्पतालको डेटाबेसमा राखिएको छ। बिरामीहरू अस्पताल आउने क्रम सुरु भइसकेको छ। नर्सहरूले आँखा, मुटुरोगलगायत विभिन्न विभागमा लगिदिने र उपचारका लागि मद्दत गर्ने गरिरहेका छन्।’ धुलिखेल अस्पतालले धुलिखेल, बनेपा र पनौतीमा ५० वटाका दरले एक सय पचासवटा र काभ्रे र सिन्धुपाल्चोक जिल्लामा रहेका हेल्थ सेन्टरमा दुई सय गरी साढे तीन सयवटा डायबिटिज स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने योजना बनाएको छ।

प्रकाशित: १७ पुस २०७६ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App