coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वार्षिक कार्ययोजना कतै आएनन्

प्रदेश ब्यूरो

काठमाडौं - संघीय र प्रदेश सरकारहरुले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेर बुधबार राजधानी काठमाडौंसँगै सातै प्रदेशमा ‘भिजिट २०२०’ कार्यक्रम भव्य रुपमा आयोजना गरेका छन्। सन् २०१९ मा अनुमानित साढे १२ लाख पर्यटक आएको सन्दर्भमा यो वर्ष २० लाख आउने नआउने निश्चित नभए पनि सरकारी अधिकारीहरुले पर्यटक भित्र्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन्। सरकारले यसअघि पनि दुईपटक भ्रमण वर्ष मनाइसकेको छ।

यो वर्षको कार्यक्रम भने विगतका भन्दा भिन्न देखिएको छ। प्रदेश सरकारले आ–आफ्ना क्षेत्रमा पर्ने बाजागाजा सहित सास्कृतिक झाकी, पहिरन प्रस्तुत गरेका थिए। यस्तै, भिन्न–भिन्न स्थान र नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई फूलमाला, खादा लगाएर स्वागत गरिएको थियो।

विराटनगर– प्रदेश १ सरकारले हेलिकप्टरबाट पुष्पवृष्टि गरेर भ्रमण वर्षको उद्घाटन गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालमा आयोजित उद्घाटनमा सेनाको हेलिकप्टेरले पुष्पवृष्टि गरेको हो। मुख्यमन्त्री शेरधन राईले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन प्रवद्र्धनका लागि निजी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्न सरकार तत्पर रहेको बताए।

सन २०१९ मा अनुगमानित साढे १२ लाख पर्यटक आएको सन्धर्भमा यो वर्ष २० लाख आउने/नआउने निश्चित नभचए पनि सरकारी आधिकारीहरुले पर्यटक भित्र्याउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्।

उनले जनसहभागिताबिना पर्यटकीय क्षेत्रको विकास नहुने र पर्यटन प्रवद्र्धनका लागि निजीक्षेत्रको महत्वपूर्ण योगदान हुने धारणा राखे। ‘यो प्रदेश सगरमाथा लगायत धेरै अग्ला हिमाल भएको, धार्मिक पर्यटनका थुप्रै स्थल रहेको, विविध संस्कृतिले भरिपूर्ण भएकाले पर्यटनको प्रचूर सम्भावना छ,’ राईले भने। नेपालका प्रमुख सय गन्तव्यमध्ये प्रदेश १ मा ३६ वटा छन्। उनले प्रदेश सरकारले सांस्कृतिक संग्रहालय स्थापनाको तयारी गरेको बताए।

कार्यक्रममा सहभागी सिक्किमका ग्रामीण पर्यटन अभियन्ता राज वसुले नेपालका धार्मिक क्षेत्रलाई भारतका धार्मिक क्षेत्रस“ग जोडेर ‘ज्वाइन्ट सर्किट’ बनाउनु आवश्यक रहेको बताए। उनले ज्वाइन्ट सर्किट निर्माण गरे नेपाल भारतीय पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा स्थापित हुन सक्ने धारणा राखे। नेपाल र भारतका धेरै पर्वहरू एकआपसमा मेल खाने भएकाले पर्व सर्किटका रुपमा पनि पर्यटनको विकास गर्न सकिने वसुले बताए।

लहान– प्रदेश २ सरकारका प्रतिनिधिले बुधबार बुद्ध एयरबाट जनकपुर आउने सबै यात्रुलाई फूलमाला लगाएर भ्रमण वर्षको सुरुआत गरे। यस्तै, दिनभर जानकी मन्दिरमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। साँझ मन्दिरमा २०२० दीप प्रज्ज्वलन गरिएको छ।

प्रदेश २ अन्र्तगत पर्ने विभिन्न सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई फूलमाला लगाएर स्वागत गरिएको छ। विभिन्न स्थानमा बाजागाजासहितका जुलुस निकालिएको छ। पोखरा– २० लाख विदेशी पाहुना भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहितको ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रादेशिक शुभारम्भ भव्य बनाए पनि वर्षभरि गरिने कुनै पनि गतिविधि बुधबार सार्वजनिक गरिएन।

भ्रमण वर्ष अवधिमा विदेशी पाहुना तान्न के कस्ता गतिविधि र कार्यक्रम गर्ने भन्ने यकिन भएको छैन। बुधबार फेवाताल किनारमा रहेको नेपाल ट्रस्टको खुला मैदानमा गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भ कार्यक्रम आयोजना गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्षभरि गरिने गतिविधिबारे केही बोलेनन्। गुरुङले नेपाल भ्रमण वर्ष सबैको अभियान भएकाले सफल बनाउन कम्मर कस्नुपर्ने बताए। पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनले बताए।

गण्डकी प्रदेशका पर्यटनमन्त्री तथा संयोजक विकास लम्सालले यो प्रदेशले पर्यटनबाटै समृद्धिको सपना देखेकाले भ्रमण वर्षलाई उत्सवका रुपमा मनाउनुपर्ने बताए। आन्तरिक पर्यटक आकर्षण गर्न प्रदेश सरकारले सन् २०१९ मा आन्तरिक पर्यटक भ्रमण वर्ष मनाएको र यस्तै कार्यक्रम २०२२ सम्मका लागि तय भएकाले ती सबै कार्यक्रममार्फत गण्डकी प्रदेशले पर्यटनमा फड्को मार्ने उनले बताए। ‘अबका चार वर्षमा हामीले पर्यटनमा सोच्दै नसोचेको सफलता पाउनुपर्छ। त्यसमा सबैको सहकार्य जरुरी छ,’ उनले भने।

नेपालमा ५० थरी विदेशी पाहुना भित्र्याउन सकिने सम्भावना रहेकाले पनि पर्यटनबाट समृद्धि हासिल गर्न सकिने उनले बताए। ‘पछिल्लो समय नेपाल हेर्न र घुम्नैपर्ने देश भनेर परिचित भएको छ,’ उनले भने, ‘विदेशी सञ्चारमाध्मले नेपालको पहिचान फराकिलो बनाइदिएका छन्। नेपाललाई विदेशी सञ्चारमाध्यमले घुम्नैपर्ने मुलुकको रुपमा व्याख्या गरेकाले पनि पर्यटनबाट समृद्धिको सम्भावना छ।’ लेकसाइडको बसुन्धरा पार्कलाई नेपाल भ्रमण वर्ष पार्क बनाउने घोषणा पनि गरिएको थियो।

बर्दिया– प्रदेश पाँच सरकारले पश्चिम तराईको पर्यटन गन्तव्यका रुपमा चिनिने ठाकुरद्वारामा कार्यक्रम गरेर भ्रमण वर्षको सुरुआत गरेको छ। कार्यक्रममा आन्तरिक पर्यटक र स्थानीयको बाक्लो उपस्थिति थियो। सरकारले भ्रमण वर्षका लागि नयाँनयाँ कार्यक्रम, योजना प्रस्तुत भने गरेन। कार्यक्रममा बोल्ने कसैले पनि भ्रमण वर्षको योजना सुनाएनन्। पार्टीले आयोजना गर्ने आमसभामा जस्तै करिब पाँच घन्टा भाषण मात्र भयो। निर्धारित समयभन्दा एक घन्टापछि आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्दै देशकै नमुनाका रुपमा बर्दियास्थित निकुञ्ज भएको बताए।

स्थानीय कृष्ण शाहले भ्रमण वर्ष शुभारम्भमा नयाँनयाँ योजना सरकारले ल्याउँछ भन्ने आस रहे पनि त्यसो हुन नसकेको गुनासो गरे। कार्यक्रममा विदेशी पाहुना थिएनन्। वीरेन्द्रनगर– कर्णाली प्रदेशको पर्यटकीय क्षेत्र वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भ्रमण वर्ष शुभारम्भ गरिएको छ।

भ्रमण वर्ष २०२० को कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्दै कर्णाली प्राकृतिक रूपले सुन्दर भएको तर भौगोलिक विकटताका कारण पर्यटक आउन नसकेको बताए। प्रदेश सरकारले ‘यसपालि, घुमौं कर्णाली’ नारा तय गर्दै यो वर्ष कर्णालीमा एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्ष २०२० को एक भव्य समारोहबीच औपचारिक सुरु गरेको छ। संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजित समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्षको लोगो सार्वजनिक गरेर औपचारिक रुपमा सुरु गरेका हुन्। गड्डाचौकीवाट भ्रमण वर्षमा सुरुमा आएका पर्यटकलाई भीमदत्त नगरपालिकाले फूलमाला सहित नगर परिक्रमा गराएको थियो। पहिलो दिन १ हजारभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्रिएका छन्।

मुख्यमन्त्री भट्टले भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याएर सफल पार्न सरकार लागिपर्ने जानकारी दिए। ‘सुदूरपश्चिम विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक र रमणीय पर्यटकीयस्थल छन्,’ उनले भने।

पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा सुविधा, सुरक्षा सबैको राम्रो व्यवस्था गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। प्रदेश ७ मा मनोरञ्जन, धार्मिक, साहसिक, सांस्कृतिक, जैविक लगायत पर्यटनको प्रचूर सम्भावना छ। भू–स्वर्ग मानिने ऐतिहासिक, धार्मिक तथा रमणीयस्थल खप्तड, बढीमालिका, रामारोशन, सात बहिनी देवीका मन्दिर, १२ सिंगेका बथान देखिने शुक्लाफाँटा, अपी र सैपाल हिमाल, घोडाघोडी, टीकापुर पार्क, दोधारा चाँदनी झोलुंगे पुल लगायत थुप्रै महत्वपूर्ण पर्यटकीय गन्तव्य यहाँ छन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट तीन सयदेखि चार सय किलोमिटर दूरीमा भारतको राजधानी नयाँदिल्लीलगायत थुप्रै सहर रहेको र यहाँबाट भारतीय पर्यटक ठूलो संख्यामा भित्र्याउन सकिने बताइयो। कञ्चनपुरमा रहेको शुक्लाफाँटामा ठूलो बथानमा सजिलै बाह्रसिंगे देखिन्छ। खप्तड जैविक विविधता र भू–सौन्दर्यले भरिएको छ।  ८–९ घन्टाको सडक दूरीमा कराडौं आवादी रहेका भारतीय ठाउँमा गर्मी धेरै हुन्छ। त्यहाँका पर्यटक गर्मी छल्न चिसो ठाउँमा सपरिवार घुम्न जाने गर्छन्।

प्रकाशित: १७ पुस २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App