८ वैशाख २०८१ शनिबार
समाज

आतंकवादी खोज्दा सुन तस्कर भेटिए

काठमाडौं – नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वषौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी छिर्दैछन् भन्ने सूचनालाई पछ्याउँदै जाँदा नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले सुन तस्कर महोम्मद जिसानलाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक भएकाले प्रहरीले यसलाई सार्वजनिक गरेको छैन। मुजाहिद्दिन आतंकवादी नेपाल छिरेका छन् भन्ने सूचना पाएपछि परिचालित भएको प्रहरी टोलीले उनलाई फेला पारेको हो। प्रहरीले औपचारिक उनलाई सुन तस्करका रूपमा प्रस्तुत गरेको भने छैन।

उनको गतिविधि शंकास्पद रहेको जनाएको छ। विशेष ब्युरोले सोह्रखुट्टे प्रहरी वृत्तमा बुझाएको भए पनि सोह्रखुट्टे प्रहरीले जिसान आफ्नो हिरासतमा नरहेको बताएको छ। ‘विशेष व्यूरोले धेरै मानि ल्याइरहेको हुन्छ कहिले को ल्याउछ कहिले को ल्याउछ हामी त राखिदिने मात्रै हो अनुसन्धान उतैबाट हुन्छ’, वृत्त प्रमुख डिएसपी सन्तोषसिंह राठौरले भने। मंसिर २९ गते विमानस्थलमा झरेका जिसानलाई ३० गते सोह्रखुट्टे प्रहरीमा बुझाएको थियो।

प्रहरीले तयार पारेको प्रारम्भिक विवरणमा भने उनी सुन तस्कर भएको उल्लेख छ। पक्राउ परेका महोम्मद जिसानले दुबईमा बस्ने भारतीय नागरिकबाट सुन संकलन गरेर नेपालको बाटोबाट लैजाने गरेको उल्लेख छ।

सन् २०१७ देखि मोहम्मद जिसानले दुबईबाट निरन्तर त्रिभुवन विमानस्थल प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले काठमाडौंमा अवतरण गरी नेपालगन्ज, धनगढी, महेन्द्रनगरबाट भारत गएको र पटकपटक दुबई हँुदै सोही रूट प्रयोग गरेको देखिएको छ। ‘चार वर्षको अवधिमा धेरैपटक एउटै रूट प्रयोग गरेको देखिन्छ, उनी निर्वाध दुबई नेपाल र भारत गइरहेको देखिएको छ,’ प्रहरी स्रोतले भन्यो। प्रहरीका अनुसार उनले कालो रंगको पोकामा सुन राखेर मलद्वारमा लुकाएको अवस्थामा बरामद भएको हो। ‘दुबईको संगठित गिरोहबाट सुन प्राप्त गरी प्रायःजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आन्तरिक ट्रमिनल हुँदै नेपालगन्ज वा महेन्द्रनगर धनगढी हुँदै स्थलमार्गबाट सुन तस्करी गरेको उल्लेख छ। उनी धेरैपटक नेपालको विमानस्थल प्रयोग गरेर जाने गरेको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार उनी सुन तस्करमात्रै होइनन। उनको विषयमा थप अनुसन्धान भैरहेको छ। ‘धेरै वर्षदेखि ओहोर दोहोर गरेका उनी सुन तस्करका रुपमा मात्रै होइन भन्ने हाम्रो अनुसन्धानले देखाएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘ धेरै पक्ष जोडिएका छन् हामी थप अनुसन्धान गदैछौ।’ प्रहरीले अन्र्तराष्ट्रिय आतंकवादीहरु छिर्न सक्ने भन्दै विशेष ब्युरोबाट विमानस्थलमा प्रहरी खटाएको छ।

अमेरिकी विदेश मन्त्रालयको गत कात्तिकमा एउटा प्रतिवेदनमा प्रकाशित गर्दै नेपालको विमानस्थलमा कमजोर सुरक्षाले प्रणाली भएकाले त्यहाँबाट अन्तर्राष्ट्रिय आतंकवादी छिर्नसक्ने सम्भावना औंल्यएको थियो। नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट बन्नसक्ने खतरा औंल्याइएपछि नेपालको विमानस्थलमा नेपाल प्रहरीले विशेष ब्युरोलाई थप सक्रिय बनाएको थियो। यसअघि विमानस्थलको सुरक्षामा खटिने प्रहरीबाहेक विशेष ब्युरोबाट थोरै संख्यामा खटिन्थे अहिले भने १५ देखि २० जनाको समूह नियमित खटिँदै आएको छ। अमेकिकाले नेपालमा आतंकवादको खतरा सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गर्दा पनि नेपाल सरकारले त्यसलाई खण्डन गरेको थिएन।

प्रकाशित: १७ पुस २०७६ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App