७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुपर सान्जेनको अवरोध हट्यो

रसुवा -  रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण हुन लागेको सुपर सान्जेन जलविद्युत् आयोजना निर्माणको अवरोध हटेको छ। निर्माण प्रक्रिया सुरु भएको करिब डेढ वर्षपछि आयोजना निर्माणको अवरोध हटेको हो। मुआब्जा वितरण, क्षतिपूर्ति सेयर लगायत विषयमा उत्पन्न विवाद समाधानका लागि जलविद्युत् आयोजना, गाउँपालिका, वडा कार्यालय र पीडितबीच चारबुँदे सहमति भएपछि उक्त अवरोध हटेको हो।

आयोजना निर्माणका क्रममा प्रयोग गर्नुपर्ने लामो समयदेखि विवादित सडक जग्गाको विषयमा नेपाल सरकारबाट अनुदान प्राप्त गरी निर्माण गरिएको सडकले बचेको जग्गा भएमा सो बाहेक अन्य सडकमा पर्ने जग्गाको मुआब्जा, क्षतिपूर्ति नेपाल सरकारको नियमअनुसार उपयुक्त मूल्यमा जग्गाधनीलाई उपलब्ध गराउने निर्णय गरिएको छ।

यसका लागि आयोजनाले एक साताभित्र मालपोत, नापी कार्यालयलगायत सरोकारवाला निकायसँगको समन्वयमा सडकको प्राविधिक मूल्यांकन, जग्गाधनीको पूर्ण विवरण र आवश्यक जग्गाको विवरणसहित प्रारम्भिक अध्ययन प्रक्रिया सुरु गरिने छ।

आयोजनाको सामाजिक जिम्मेवारीका पक्ष तथा रोजगार लगायत विषयमा आमाछोदिङ्मो गाउँपालिका र वडा नं ५ सँग समन्वय गरी कार्यान्वयन  गर्ने, आयोजनामा सिर्जना हुने रोजगारीमा प्रभावित, अति प्रभावित र जिल्लाबासीलाई सीप, योग्यता र योग्यताअनुसार प्राथामिक दिइने निर्णयमा उल्लेख छ।

स्थानीय जनतालाई नियमानुसार पाउनुपर्ने मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन र समयमै आयोजना सम्पन्न गर्नका लागि जनप्रतिनिधि, सम्बन्धित सरकारी निकाय, राजनीतिक दललगायत सम्बन्धित सरोकारवाला निकायले सहयोग गर्ने छन्। सालासुंगी हाइड्रोपावर कम्पनी लिमिटेड यसको प्रवद्र्धक यो आयोजना ७८ मेगावाट क्षमताको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाभन्दा करिब पाँच सय मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुंगी पावरले चार वर्षअघि निर्माणको अनुमति लिएको थियो।

अपर रोङ्गामा ड्याम साइड र तिलोचेमा पावर हाउस निर्माण हुने छ। निर्माण सुरु भएको साढे तीन वर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रोजेक्ट इन्जिनियर राजु श्रेष्ठले बताए।

यसको निर्माण सिनो हाइड्रो ब्युरो–११ कम्पनी लिमिटेडले गर्ने छ। यो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडको ९२ प्रतिशत लगानी रहेको छ। आयोजनाको हेडरेस टनेल चार किलोमिटर र अन्य टनेल साढे दुई किलोमिटरको रहने छ।

प्रकाशित: १७ पुस २०७६ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App