८ वैशाख २०८१ शनिबार
राजनीति

विश्वलाई नेपाल घुम्न निम्तो

नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा बुधबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशवराज थोकर/नागरिक

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि तयार पारिएको दशरथ रंगशालाबाट बुधबार विश्वलाई नेपाल भ्रमणमा आउन आह्वान गरिएको छ। देशका चर्चित नायक राजेश हमालले भव्यरुपमा सिँगारिएको रंगशाला मञ्चबाट अंग्रेजीमा प्रश्न गरे, ‘वल्र्ड, आर यु रेडी फर नेपाल (विश्व, तिमी नेपाल आउन तयार छौ।)’

देशका सातै प्रदेश र संघीय राजधानी काठमाडौंबाट एकसाथ थालनी भएको नेपाल भ्रमण वर्षको उद्घाटन समारोहले सम्पूर्ण नेपालीको साझा अभियान भएको छनक दिएको थियो। नेपाल घुम्न आउने पर्यटकले यहाँका प्राकृतिक सौन्दर्य, वन्यजन्तु, साहसिक पर्यटनसँग साक्षात्कार त गर्छन् नै, त्योभन्दा बढी यहाँका नागरिकको मुस्कान पर्यटकका निम्ति बिर्सिनसक्नुको हुन्छ। यसैलाई हमालले आफ्नो आरम्भिक वक्तव्यमा उल्लेख गरेका थिए।

नेपालले उद्घाटन समारोहमा आफ्नो बहुधार्मिक र सांस्कृतिक छटासमेत विश्वसामु प्रस्तुत गरेको छ। हिन्दु, बौद्ध, किरात, मुस्लिम, कृस्चियनलगायतका सातै धर्मको प्रतिनिधित्व आफैंमा अनुपम संयोग थियो। सांस्कृतिक झाँकीले अनेकतामा एकताको सन्देश दिएको थियो। मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको हो।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन हुने प्रचार गरिए पनि उनी उपस्थित भएनन्।

मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको छ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तित्वसहित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारकर्मी, सुरक्षाकर्मी, सर्वसाधारणलगायतको उपस्थिति थियो।

समारोहमा राष्ट्रपति भण्डारीले दुई दशकदेखि स्थिर रहेको नेपालको पर्यटन क्षेत्रको विकास अघि बढाउन राष्ट्रिय लक्ष्यसहितको अभियान थालनी भएको जानकारी गराइन्। ‘पर्यटनलाई राष्ट्रिय अभियानको रुपमा विकास गर्दै देशभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन र विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन भ्रमण वर्ष महŒवपूर्ण हुनेछ’, उनले भनिन्, ‘हाम्रो देश भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण छ। यहाँका असंख्य नदीनाला, हिमाल, पहाड, झरना वन र वन्यजन्तुले संसारको ध्यान आकर्षण गरिरहेको छ।’

‘अतिथि देवो भवः’ को भावनाले यहाँ आउने पर्यटकमा नेपालप्रतिको गहिरो छाप रहने जनाउँदै उनले उक्त भावनालाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राखिन्। उनले भनिन्, ‘वसुदैव कुटुम्बकम्’लाई आत्मसात् गर्दै राष्ट्रले लिएको २० लाख पर्यटक नेपाल भिœयाउने अभियानमा सबैको साथ र समर्थन चाहिन्छ।’

नेपाल ‘लाइफ टाइम एचिभमेन्ट’ (जीवनभरिका स्मृति आर्जन) का निम्ति उपयुक्त गन्तव्य रहेको जानकारी दिँदै उनले नेपाल हरेक मौसममा भ्रमणका लागि संसारकै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरिन्।

नेपालले पर्यटन आउन थालेपछि मात्रै पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय गन्तव्यको पहिचान र पर्यटन उद्योगबाट आर्थिक लाभ लिन थालेको स्मरण गर्दै उनले पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै उद्योगको रुपमा विकास भएको बताइन्। प्रकृतिलाई मासेर होइन, जगेर्ना गरेर पर्यटनको विकास गर्न आवश्यक रहेको उनले स्पष्ट पारिन्।

देशभित्र प्रशस्त नदीनाला, तालतलैया, हिमाल, पहाड, तराई, वनजंगल आदि रहेकाले पदयात्रा तथा साहसिक खेलका लागि नेपाल संसारकै नमुना राष्ट्र भएको राष्ट्रपति भण्डारीको भनाइ थियो। सो अवसरमा उनले भ्रमण वर्ष लक्षित भाइबर स्टिकर र यतीको प्रतिमाको समेत अनावरण गरिन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई प्रस्थान विन्दुका रुपमा लिएर आगामी दशकलाई पर्यटन दशकका रुपमा मनाउने सरकारको तयारी रहेको जानकारी गराए। ‘पर्यटनलाई नेपालको आर्थिक विकासको महŒवपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन’, उनले भने, ‘हामीले २०२० लाई प्रस्थान विन्दु मान्नेछौं। २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गरेर देशको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान दिने बनाउनेछौं।’ अहिले यसको योगदान तीन प्रतिशतमात्र छ।

भ्रमण वर्षको प्रचारप्रसारलाई देशको समृद्धिको आधारसँग जोडेर स्वदेशभित्रै पर्यटनको क्षेत्रबाट रोजगारी सिर्जना गराई गरिबी निवारणमा टेवा पु-याउने लक्ष्य रहेको उनको भनाइ रहेको छ। ‘विश्वभरका पर्यटकलाई नेपाल सुरक्षित र पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको जानकारी दिन आवश्यक छ’, मन्त्री भट्टराईले भने, ‘नेपाल विभिन्न क्षेत्रबाट लगानीका लागि उपयुक्त मुलुक रहेको समेत जानकारी गराउँछौं।’ सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याएर पर्यटकको बसाइ अवधि लम्ब्याउने, पर्यटकले गर्ने खर्चको क्षेत्र फराकिला बनाई देशभित्र नै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी गराए। ‘यो अभियानमार्फत समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा अग्रसर भएका छौं’, उनले भने, ‘अबको यात्रा उज्यालोतर्फको यात्रा हो।’ उनले विश्वलाई आग्रह गर्दै भने, ‘आउनुस्, नेपाल घुम्नुस्, नेपाल भर्जिन ल्यान्ड हो।’

सरकारले साढे दुई वर्षपहिले बजेट भाषणमार्फत नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो। सरकारले यस कार्यक्रमका लागि ६५ करोड विनियोजन गरेको छ।

सरकारले सन् १९९८ र सन् २०११ मा नेपाल भ्रमण वर्ष आयोजना गरिसकेको छ। ती कार्यक्रमअन्तर्गत सरकारले सन् १९९८ मा पाँच लाख र सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। १९९८ मा चार लाख ६३ हजार ६ सय ८४ र २०११ मा सात लाख ३६ हजार दुई सय १५ पर्यटक नेपाल आएका थिए। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए।

नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा बुधबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशवराज थोकर/नागरिक
नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा बुधबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशवराज थोकर/नागरिक
नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा बुधबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशवराज थोकर/नागरिक
नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा बुधबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः केशवराज थोकर/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App