६ वैशाख २०८१ बिहीबार
खेल

सन्तोषको आगमनमा आर्मीलाई सफलता

काठमाडौं - डेढ महिनाको प्रतिबन्धपछि टोलीमा फर्किएका सन्तोष तामाङले उत्कृष्ट खेल प्रदर्शन गर्दा बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बलियो प्रतिद्वन्द्वी थ्री स्टारलाई २–० ले पराजित गरेको छ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलअघि भुटान प्रस्थान गर्नु अघिल्लो दिन डिस्को गएकोमा अनुशासनको कारबाही भोगेका सन्तोष प्रतिबन्धपछि बुधबार थ्री स्टारविरुद्ध आर्मीबाट मैदान उत्रिएका थिए। टोलीमा फर्किएसँगै उनको उत्कृष्ट खेलको मद्दतमा आर्मीले थ्री स्टारविरुद्ध सानदार जित निकाल्न सफल भएको हो।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र सन्तोषले एक÷एक गोल गरे। महत्वपूर्ण अंक दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका सन्तोषको खेललाई प्रशंसा गर्दै आर्मीका प्रशिक्षक न्यौपानेले टोलीमा अब सबै पक्ष मजबुत भएको बताए।

आर्मीका लागि सन्तोषले ७९औं मिनेटमा फ्रिकिकबाट अग्रता दोब्बर पारे। जारी लिगमा पहिलो पटक देखिएका सन्तोषले गोलसँगै खेलमा पुनरागमन गरेको संकेत गरे। अनौठौ शैलीमा दुवै कान समाएर दर्शकदीर्घातिर फर्किएका उनले डेढ महिनाको प्रतिबन्ध आफ्ना लागि निकै पीडादायक भएको सुनाए।

‘यसअघि भएका  खेलमा मिडबाट बल सप्लाई गर्ने खेलाडीको कमी थियो। सोही कारण हामी कहिले नवयुग र कहिले भरत खवासलाई मिडबाट खेलाएका थियौं। खेल सोचेजस्तो भएन,’ प्रशिक्षक न्यौपानेले भने, ‘सन्तोषको आगमनले टोली अब पूर्ण भएको छ। यसअघि सम्पन्न लिगमा हामीले सबै खाले टोलीसँग बराबरी खेल्दा अन्तिममा कठिन भएको थियो। मनाङ र थ्री स्टारसँगको खेलबाट निक्लिएको अंकले हामीलाई आउँदा दिनमा सहज हुनेछ। यद्यपि अझै सुधार गर्ने ठाउँ धेरै छन्।’

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। कप्तान विक्रम लामाले दोहोरो पहेंलो कार्डका कारण खेल गुमाउँदा थ्री स्टार बुधबारको खेलमा स्तब्ध हुन पुगेको हो। खेलअवधिभर थ्री स्टारले केही राम्रा अवसर सिर्जना गर्दा आर्मीले थ्री स्टारलाई दबाबमा राख्यो।

जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको आर्मीका लागि नवयुग श्रेष्ठले ५४औं मिनेटमा टोलीको खाता खोलेका थिए। कप्तान भरत खवासले पेनाल्टी क्षेत्रबाट रक्षक अनन्त तामाङलाई बिट गराउँदै दिलाएको एयर बललाई स्ट्राइकर नवयुगले आकर्षक शैलीमा जाली चुमाए।  यसअघि ५२औं मिनेटमा नवयुगले वान भर्सेस वान अवसरलाई खेर फालेका थिए। थ्री स्टारका कप्तान अनन्त तामाङले क्लियर गर्न चुकेको बललाई नवयुगले खोस्दै अगाडि बढाए पनि थ्री स्टारका गोलकिपर पेरिसो जान्गाले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने अवसर खेर गएको थियो।

अग्रता लिएसँगै थ्री स्टारलाई थप दबाबमा राखेको आर्मीका लागि सन्तोषले ७९औं मिनेटमा फ्रिकिकबाट अग्रता दोब्बर पारे। जारी लिगमा पहिलो पटक देखिएका सन्तोषले गोलसँगै खेलमा पुनरागमन गरेको संकेत भने गरे। अनौठौ शैलीमा दुवै कान समाएर दर्शकदीर्घातिर फर्किएका सन्तोषले डेढ महिनाको प्रतिबन्ध आफ्ना लागि निकै पीडादायक भएको सुनाए।

‘यो बीचमा मैले फुटबललाई निकै मिस गरें। महत्वपूर्ण  समयमा टोलीबाट बाहिर रहँदा मेरो आँखाबाट आँसु झ¥यो,’ सन्तोषले भने, ‘लिग सञ्चालन भइरहेको छ। कहिले खेलौं जस्तो भएको थियो।’ सुरुआतबाट नै दबाबमा राखेको आर्मीका लागि कप्तान भरतले पहिलो मिनेटमा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। चौथो मिनेटमा थ्री स्टारका मिक्चेन तामाङले पेनाल्टी बक्सभित्र गोलका लागि कडा सट हाने पनि उनको प्रहार साइड बारनजिकैबाट बाहिरिएको थियो।

१२औं मिनेटमा ३ खेलाडीलाई बिट गराउँदै थ्री स्टारका रूपेश केसीले २० यार्ड टाढाबाट हानेको बल माथिल्लो बारनजिकैबाट अकासियो। १६औं मिनेटमा आर्मीका सन्तोषले पेनाल्टी क्षेत्रबाट हानेको सट नवयुगले हेडमार्फत प्रयास गरे पनि सफल हुन सकेन। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा जर्ज प्रिन्स कार्कीले वान भर्सेस वान अवसरलाई खेर फाले। दोस्रो हाफमा झन् निरीह देखिएको थ्री स्टारले आर्मीको काउन्टरलाई रोक्नुबाहेक अन्य राम्रा अवसर सिर्जना गर्न सकेन। इन्जुरी समयमा थ्री स्टारले पेनाल्टीको अवसर पाए पनि रूपेश केसीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए।

थ्री स्टारसँग जित निकालेको आर्मीका प्रशिक्षक नवीन न्यौपानले रणनीतिक हिसाबले खेल्दा टोलीले महŒवपूर्ण जित निकाल्न सफल भएको बताए। ‘आर्मीको खेल नै पावर र स्ट्रेन्थबाट खेल्ने हो। प्रतिद्वन्द्वीलाई दबाबमा राख्दै खेल्ने रणनीति आजको खेलमा सफल भयो,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘पहिलो हाफमा केही राम्रा अवसर सिर्जना भए पनि फरवार्ड लाइनले सदुपयोग गर्न सकेनन्।’

उता पराजित थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मीविरुद्ध टोलीको प्रदर्शन निकै फितलो भएको प्रतिक्रिया दिए।
‘निर्धारित समय हामी पूरै आर्मीको दबाबमा रह्यौं। धेरे मिस पास भए, आर्मीको पेसलाई थेग्न सकेनौं’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘खेलमा विक्रम लामाको कमी महसुस भयो। साग खेलदेखि नै मिलेको जोडी थियो। विक्रमको ठाउँमा गएर अनन्त खेल्दा बीचमा खाली भयो। पहिलो गोल सोही कारण भयो। त्यसपछि टोलीको मनोबल केही घट्यो।’

बुधबार जित निकालेको आर्मीले चार खेलबाट ९ अंक बनाएको छ। तेस्रो स्थानमा उक्लिएको आर्मीभन्दा माथि मच्छिन्द्र क्लब समान ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने साबिक च्याम्पियन मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ। उता पराजित थ्री स्टार ७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।

लिगअन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले संकटा क्लबलाई २–१ ले स्तब्ध बनाउँदै जारी लिगमा दोस्रो जित निकालेको छ। एन्फा मुख्यालय मैदानमा भएको खेलमा पुलिसले उपहार गोलको मद्दतमा जित निकाल्न सफल भएको हो। १५औं मिनेटमा अमित तामाङको उपहार गोलबाट अग्रता लिएको पुलिसविरुद्ध १८औं मिनेटमा अमितले नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३३औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै अग्रता २–१ मा पु-याएका थिए। त्यसपछि संकटाले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। खेलको सातौं मिनेटमा संकटाका सुवास गुरुङको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले सहजै बचाएका थिए। २६औं मिनेटमा संकटाका भारतीय खेलाडी रोयले करिब ३५ यार्डबाट गरेको प्रहार पुलिसका गोलरक्षकले नै विफल बनाए।

यस्तै ३७औं मिनेटमा संकटाका अमितको फ्रिकिक पुलिसका गोलकिपरले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए। खेलमा सुमन म्यान अफ दी म्याच चुनिए । जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ। र, पुलिस लिगको पाँचाैं स्थानमा उक्लिएको छ। संकटाले ४ खेलमा ४ अंक जोडेको छ। संकटाको यो दोस्रो हार हो। संकटा लिगको दशौँ स्थानमा छ। लिगमा बिहीबार एक खेल मात्र हुनेछ। सरस्वती युथ क्लबले विभागीय टोली एपिएफको सामना गर्दा लिगको चौथो चरणका खेल सकिनेछन्।
आजको खेल
सरस्वती युथ क्लबविरुद्ध एपिएफ क्लब    दिनको ३ः०० बजे

प्रकाशित: १७ पुस २०७६ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App