७ वैशाख २०८१ शुक्रबार
समाज

गृह श्रमिकलाई पहिचान दिन माग

काठमाडौं– गृह श्रमिकले पहिचानसहितको जिविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।  घर भित्र बसेर गरिएको आफूहरुको श्रमको मूल्यांकन सरकार र सम्बन्धित निकायबाट नहुने गरेको भन्दै उनीहरुले अन्य श्रमलाई दिए सरह गृह श्रमिकको पनि पहिचान कायम गर्न माग गरेका हुन्।

राजधानीमा सोमबार सुरु भएको गृह श्रमिकहरुको सम्मेलनका सहभागीले समान कामका लागि समाज ज्याला, व्यवसायिक सुरक्षा र स्वास्थ्य उपचारको व्यवस्था लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन्। घर भित्रै बसेर काम गरी जीवन गुजारा गर्नेहरुको संख्या अत्यन्तै ठूलो रहेपनि सो कामका लागि सरकारले पहिचान दिन नसकेको गुनासो सहभागीले गरे।

उनीहरुले भूकम्पपछि टहराभित्र बसेर काम गर्नुपर्दा मानवीय सुरक्षा, सामानको सुरक्षा तथा काम गर्न बाधा पुगेको भन्दै सुरक्षित कार्यथलोको व्यवस्था गर्न पनि माग गरे। सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य कृपासिन्धु प्रसादले घरेलु श्रमिकका बारेमा सरकारको ध्यान जान नसकेको स्वीकार गरे। उनले रोजगारी भन्ने वित्तिकै बैदेशिक रोजगारीमा जानेलाई मात्रै हेर्ने र बुझ्ने गरिएको भन्दै आगामी दिनमा घरेलु श्रमिकका सम्पूर्ण सवाललाई सम्बोधन गरिने प्रतिवद्धता जनाए ।

श्रमिकको क्षेत्रमा काम गर्दे आएको होम नेट नेपालले भूकम्प प्रभावित काठमाडौं, ललितपुर र भक्तपुरका गृह श्रमिकहरुको प्रत्यक्ष प्रदर्शनी सहितको सम्मेलन आयोजना गरेको हो। होम नेटका कार्यकारी निर्देशक ओम थपलियाले सम्मेलनमा गृह श्रमिकको सामाजिक सुरक्षा, समान कामका लागि समाज ज्याला, लैङ्गिकमैत्री वातावरण निर्माण लगायत विषयमा सरोकारवालाको ध्यानाकर्षण गराइने बताए। मुलुकभर करिब २२ लाख गृह श्रमिक रहेको अनुमान गरिएको छ ।
 

प्रकाशित: ५ पुस २०७३ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App