७ वैशाख २०८१ शुक्रबार
समाज

भ्रमण वर्ष उद्घाटन गर्न चौदण्डीगढी नगरपालिकामा सार्वजनिक विदा

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को अवसरमा सार्वजनिक बिदा दिएको छ।

चौदण्डीगढी दरवारक्षेत्रमा भ्रमण वर्षको उद्घाटन गर्दै विविध कार्यक्रमसहित दिनभर त्यही पर्यटनमैत्री गतिबिधि गर्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। 

जनवरी १ कै दिनदेखि भ्रमण वर्ष सुरु गरेर वर्षभरी विभिन्न पर्यटन प्रबर्द्रधनका गतिबिधि गर्ने निर्णय भए अनुसार सुरु दिन सार्वजनिक विदा दिने निर्णय गरेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए।

उनले सरकारले घोषणा गरेको ‘भिजिट २०२०’ लाई सफल पार्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु अघि सारेको छ। जस अुनसार पहिलो दिन ‘राईड टु चौदण्डीगढी’लगायत आधादर्जन कार्यक्रम गरिरहेको उनले बताए। 

३ सयवर्ष पुरानो चौदण्डीगढी दरवार ऐतिहासिक, पुरातात्विक र मानव सभ्यताको खोज अनुसन्धान थलो भएकाले त्यही ठाउँबाट भ्रमण वर्षको सुरुवात गर्ने कार्यक्रम राखेको मेयर राईले बताए। भ्रमण वर्ष एक किसिमको अभियान भएको भन्दै त्यसलाई सफल पार्न ऐतिहासिक चौदण्डीगढी दरवार क्षेत्रबाट सुरु गरिएको उनले बताए। 

नगरपालिकाका सबै वडामा पहिचान भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल र  तथा रमणीय ठाउँमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आकर्षित गर्ने उदेश्यले ऐतिहासिक दरवारक्षेत्रबाट कार्यक्रम सुरु गरिएको उनले बताए। उनले दरवारक्षेत्र १ नं. प्रदेशकै महत्वपूर्ण र पुरातात्विक/ऐतिहासिक स्थल भएकाले यसको विकास र प्रबर्द्रधन गर्न नगरपालिकाले प्रदेश र संघीय सरकारसँग पनि सहयोग मागे। 

उद्घाटनपछि नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता उदयपुरकी अनुपमा मगरलगायत खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान समेत गरेको छ।

प्रकाशित: १६ पुस २०७६ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App