coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जाडोमा लाइट थेरापी

डा. डीबी सुनुवार,अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

लाइट थेरापी व्यायामको विभिन्न उपायमध्ये एक हो। विशेषगरी जाडो मौसममा शरीर तताउन यो थेरापी उपयोगी हुन्छ। यस्तो थेरापीको सहयोगले शरीरमा भएको अनावश्यक बोसोको मात्रा कम गर्नुका साथै शरीरलाई स्लिम तथा फिट राख्न सकिन्छ।

लाइट थेरापी चिकित्सकीय उपचारका रुपमा प्रयोग हुने क्रम बढ्दो छ। विशेषगरी यो विधि फिजियो थेरापी, आयुर्वेद चिकित्सा तथा प्राकृतिक चिकित्सा पद्धतिमा शरीर फिट एण्ड फाइन राख्नका लागि प्रयोग हुने विभिन्न विधिमध्ये एक हो। यो सामान्य किसिमको उपचार विधि भए पनि शरीर फिट राख्न पछिल्लो समयमा यसको प्रयोग बढिरहेको छ।

लाइट थेरापी गर्ने विभिन्न किसिमका मेसिन हुन्छन्। तर सहज हुने भएकाले हाते लाइटको बढी प्रयोग गरिन्छ। सामान्य किसिमको टर्चलाइट भन्दा केही ठूलो आकारको हाते मेसिनले थेरापी गरिन्छ। थेरापी गर्ने मेसिनको आकार भने टर्च लाइटजस्तै देखिन्छ।

थेरापी गर्ने टेक्निक
लाइट थेरापी तालिमप्राप्त थेरापिस्टकै सहयोगमा गर्नु उपयुक्त हुन्छ। थेरापी सुरु गर्दा थेरापी गराउने व्यक्ति सुत्नु पर्छ। त्यसपछि शरीरको जुन ठाउँमा दुःखेको छ  वा शरीरको जुन भागको बोसो घटाउन मन लागेको छ, त्यही भागमा पाँच इन्च परबाट लाइट दिइन्छ। सामान्यतः करिब तीन मिनेट लाइट दिइन्छ। आवश्यकता अनुसार समय घटबढ गर्न सकिन्छ।  सामान्यतः यसमा २० देखि ३० डिग्री तापक्रम रहेको हुन्छ। शरीरका भित्री मांशपेशी तथा नसामा ताप पुग्ने भए पनि तापका कारण शरीरमा कुनै असर हुन्न।

यस्तो थेरापीको माध्यमबाट शरीरमा ताप दिँदा शरीरका मांशपेशी तथा हाडजोर्नी खोल्नुका साथै लचिलो  बनाउँछ। जसका कारण शरीरको बोसो पग्लन सहयोग गर्छ। जसका कारण शरीरका अंग मर्किने, भाँचिने जोखिम कम हुन्छ। त्यसैले विशेषगरी नियमित खेल खेल्ने खेलाडीका लागि यो थेरापी उपयोगी हुन्छ।  

विशेषगरी उपचारात्मक दृष्टिले यस्तो शारीरिक समस्या भएका व्यक्तिमा सातदेखि १२ दिनसम्म लाइट थेरापी गर्न उपयुक्त हुन्छ। यो थेरापी गरी समस्याबाट छुट्कारा पाउन सकिन्छ। घामको विकल्पका रुपमा समेत यो थेरापी गरिन्छ। सामान्य व्यक्तिले हप्तामा एकपटक गर्दा बोसो त घट्छ नै व्यक्तिको शरीर नै लचिलो हुन पुग्छ।

विशेषगरी जाडो मौसममा हप्तामा एकपटक गर्नु उपयुक्त हुन्छ। बाथ, युरिक एसिड, चिसोको समस्या, शरीर दुख्ने, मोटोपना घटाउने, कुपोषणको समस्या, हर्मोनको उतारचढावजस्ता समस्या समाधानका लागि लाइट थेरापी व्यायामको उपयुक्त विधि हो। नसा च्यापिएको तथा मोटोपनको समस्या भई भद्दा शरीरलाई स्लिम बनाउन यो थेरापी उपयोगी हुन्छ।

सप्तरंगी मेसिन
लाइट थेरापीमा सातै रंगको प्रकाश प्रवाह हुने किसिमका मेसिन हुन्छन्। एकै पटकमा सातै रंग भने आउँदैन। आवश्यकता अनुसार सातै किसिमका रंगको भने प्रयोग गर्न सकिन्छ। सामान्यतः थेरापी गर्दा एकै पटकमा सातै किसिमका रंगको प्रायोग गरिन्न। फरक–फरक समयमा फरक किसिमको प्रकाशको रंगको प्रयोग गरिन्छ।

रातो रंगको प्रयोग
हाडजोर्नी दुख्ने, सुन्निनेजस्ता समस्यामा प्रायः रातो रंगको लाइटको प्रयोग गरी थेरापी गरिन्छ। रातोले बढी ताप दिने र मनोवैज्ञानिक प्रभावसमेत पर्ने भएकाले यस्तो समस्या भएका व्यक्तिमा रातो रंगको लाइटको प्रकाशको प्रयोग गरी थेरापी गरिन्छ।

हाडजोर्नीको यस्तो समस्या भएको अवस्थामा नसा तथा लाईटबाट प्रवाहित हुने प्रकाशको तापका कारण हाडजोर्नीका नसा तथा मांशपेशी तात्ने र लचिलो भई खुल्ने प्रक्रिया हुन्छ। शरीरमा ताप पुग्ने भएकाले बोसो जम्न पाउँदैन। त्यसैले समस्या भइसकेपछि मात्रै हैन समस्या हुनुपूर्व यो रातो रंगको प्रकाशको प्रयोग गरी लाइट थेरापी गर्नाले बाथ तथा हाडजोर्नी दुख्ने, सुन्निनेजस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ।

हरियो र निलो
हरियो र निलो रंग शीतलता प्रदान गर्न प्रयोग गरिन्छ। विशेषगरी दुखाइका कारण धेरै पीडा भएको अवस्थामा यी रंगको प्रयोग गरी थेरापी गरिन्छ। शरीरमा धेरै ताप भएको अवस्थामा शरीरको तापक्रम कम गर्न हरियो र निलो रंगको प्रयोग गरिन्छ। व्यायाम, शारीरिक समस्याका कारण शरीर तातेको अवस्थामा यी रंगको प्रयोग गरी थेरापी गरिन्छ।

पहेँलो
पहेँलो रंग शरीरलाई शान्त, आनन्दित बनाउन प्रयोग गरिन्छ। यस किसिमको थेरापीमा लाइटको तापले मात्रै हैन मनोवैज्ञानिक रुपमा व्यक्तिको दुखाइ कम गर्न मद्दत गर्छ।

पहेँलो रंगको प्रकाशको प्रयोग गरिने यो थेरापीले मन्द ताप दिने भएकाले शरीरमा तातो वा चिसो दुवै कारणले समस्या भएको अवस्थामा प्रयोग गरिन्छ। यसले तापलाई सन्तुलित बनाउँछ। यो थेरापीले व्यक्तिको शरीरमा भएको तापलाई सन्तुलित गर्ने भएकाले शरीर भद्दा हुन पाउँदैन। जसले शारीरिक स्फुर्ती ल्याउन सहयोग गर्छ।

वैजनी र प्याजी
व्यक्ति स्वस्थ हुँदैमा शारीरिक तथा मानसिकरुपमा स्फूर्ति आउँछ नै भन्ने हुन्न। शरीर स्वस्थ हुँदाहुँदै पनि व्यक्तिमा हार्मोनको उतारचढावका कारण शारीरिक तथा मानसिक रुपमा स्फूर्ति नआउने जोखिम हुन्छ।
तर वैजनी र प्याजी रंगको प्रकाशको प्रयोग गरी लाइट थेरापी गर्नाले सेरोटोनिन तथा डोपामिनजस्ता मस्तिष्क रसायन सक्रिय भई व्यक्तिमा शारीरिक तथा मानसिक स्फूर्ति आउन मद्दत गर्छ। यो थेरापीको रंग तथा तापका कारण व्यक्तिको शरीर चलायमान हुन पुग्छ।

थेरापीको क्रममा मांशपेशी तथा नसामा दिइने किरण ९रेज० ले स्वचालित रुपमै  नसा तथा मांशपेशीमा व्यायाम पुग्छ। व्यायामको कारण व्यक्तिमा हार्मोनको सक्रियता बढ्ने हुँदा शारीरिक तथा मानसिकरुपमा व्यक्तिमा स्फूर्ति आउँछ। उन्माद आउँछ। यस किसिमको थेरापी ‘भिटामिन–डी’को कमी भएको अवस्थामा समेत प्रयोग गरिन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

शुक्रबारबाट

 

 

प्रकाशित: १६ पुस २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App