coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भ्रमण वर्षको शुभकामना !

सरकारले २ वर्षअघि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटन हुँदै छ। राजधानीको दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा अन्य ४ मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने जानकारी सरकारले दिएको छ। कार्यक्रममा जमैका, म्यानमार, भारत, चीन, कम्बोडिया, युएई, भुटानलगायत देशका प्रतिनिधि सहभागी हुँदै छन्। भारत, चीन, जमैका र म्यानमारबाट पर्यटनमन्त्री सहभागी हुने भएका हुन्। नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तिसहित सर्वसाधारणको उपस्थिति रहनेछ। संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशबाट एकसाथ भम्रण वर्ष उद्घाटन गरिनेछ। नेपालबाहिर भने जनवरी ७ मा उद्घाटन गर्ने कार्यक्रम छ। रंगशालामा भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष उद्घाटन नै अन्तर्राष्ट्रिय रूपमा चर्चा पाउने खालको हुने दाबी गरेका छन्। हालै आयोजना गरेको दक्षिण एसियाली खेलकुद (साग) भन्दा यसलाई अझ भव्य बनाउने तयारी सरकारले गरेको छ।

पर्यटक आगमन बढाउने सबैभन्दा ठूलो अस्त्र प्रचारप्रसार हो। ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ उखान त्यसै बनेको होइन। नेपालमा घुम्ने र बस्ने सुविधाबारे जानकारी नहुँदासम्म कसैको पाइला यहाँ पर्दैन। त्यसैले पर्यटकीय गन्तव्यका रूपमा नेपालको प्रचारप्रसार गर्नु सबैभन्दा जरुरी कुरा हो।

सरकारले यसपटकको भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेको छ। भ्रमण वर्षको सफलतालाई देशको समृद्विको आधारसँग जोडिएको छ। मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन सयभन्दा बढी संघ/संस्थाले सहयोग गर्ने सहमति जनाएको बताएका छन्। सरकारले उद्घाटनमा विदेशी पाहुना बोलाएर विश्वभरका पर्यटकलाई नेपाल सुरक्षित र पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य भएको सन्देश दिन खोजेको छ। मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा अहिले पर्यटन क्षेत्रको योगदान धेरै छैन। २० लाख पर्यटक भित्र्याएर यस क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने अर्को लक्ष्य सरकारको छ। त्यसैले सन् २०२० लाई प्रस्थान बिन्दु बनाएर आगामी १० वर्षलाई ‘भ्रमण दशक’का रूपमा अगाडि बढाउने योजनामा सरकार छ ।

सरकारले पर्यटक बढाउने उद्देश्यले आयोजना गरेको यो तेस्रो भ्रमण वर्ष हो। पहिलोपटक सन् १९९८ मा सरकारले ५ लाख पर्यटक ल्याउने गरी कार्यक्रम ल्याएको थियो। त्यसपछि १० लाख पर्यटक ल्याउने कार्यक्रमसहित भ्रमण वर्ष २०११ मनाइयो। यी दुवै बेला सरकारले राखेका लक्ष्य पूरा हुन सकेनन्। नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन भने सरकार केही सफल भएको थियो।

यो वर्षको पर्यटक आगमनको तथ्यांक हेर्दा  २० लाख पर्यटक ल्याउने लक्ष्य पुरानै जस्तो महत्वाकांक्षी हो। तर पूरै गर्न नसकिने आँकडा भने यो होइन। पछिल्ला केही वर्षदेखि २५ प्रतिशतका दरले पर्यटक आगमन बढिरहेको सरकारी तथ्यांक छ। यो वर्ष साढे १२ लाख विदेशी पर्यटक नेपाल भित्रिने सरकारको अनुमान छ। अघिल्लो वर्ष सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी नेपाल आएका थिए। सरकारको तयारी अहिलेकै पूर्वाधार, प्रचारप्रसार, छुट÷सुविधाका प्याकेज तथा वर्षभर गरिने कार्यक्रमका आधारमा आगामी वर्षको लक्ष्य प्राप्त गर्न सजिलो छैन। सरकारले लक्ष्य हासिल खासै समस्या नरहेको दाबी गरिरहँदा व्यवसायी भने यसमा विश्वस्त छैनन्।

भ्रमण वर्ष २०२० घोषणा गर्दादेखि नै काम हुनुपर्ने हो। यसमा सरकार चुकेको छ। भ्रमण वर्षमा नेपाल घुम्न आउँदा पर्यटकले पाउने सहुलियत, आकर्षण, प्याकेजबारे पहिल्यै थाहा पाउनुपर्ने थियो। गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचार हुन सकेन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचारका लागि १७ करोड बजेट विनियोजन गरिएको थियो, तर खर्च हुन सकेन। भारतका टिभी तथा एफएम रेडियो, चीनको टिभी, बिबिसी, सिएनएन, रोयटर्स, ट्रिप एडभाइजर, लोन्ली प्लानेटमा प्रचारका लागि त्यो रकम खर्चने योजना थियो। यस्तै चालु आर्थिक वर्षमा पनि सिएनएन, बिबिसी, ट्रिप एडभाइजर, लोन्ली प्लानेट, भारतीय र चिनियाँ सञ्चारमाध्यममा नेपालबारे प्रचार गर्न झन्डै १३ करोड बजेट दिइएको छ। यो वर्ष पनि अहिलेसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचारको सुरसार छैन। प्रचार नभई पर्यटक आउँदैनन्।

पर्यटक आगमन बढाउने सबैभन्दा ठूलो अस्त्र प्रचारप्रसार हो। ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ उखान त्यसै बनेको होइन। नेपालमा घुम्ने र बस्ने सुविधाबारे जानकारी नहुँदासम्म कसैको पाइला यसतर्फ डोरिँदैन। त्यसैले पर्यटकीय गन्तव्यका रूपमा नेपालको प्रचारप्रसार हुनु सबैभन्दा जरुरी छ। त्यसपछि मात्र अन्य विषय आउने हुन्। भरपर्दो हवाई सञ्जाल, भौतिक पूर्वाधार, स्तरीय होटल, खाना, भ्रमण वर्षका प्याकेज, छुट सुविधालगायत विषयमा पनि पर्यटकलाई जानकारी दिन जरुरी छ। भ्रमण वर्षमा पर्यटकका लागि नयाँ प्रोडक्ट चाहिन्छ। हामीले त्यस्तो केही तयारी गरेका छैनौं। पर्यटकको बसाइ अवधि र खर्च बढाउने योजना पनि हामीसँग छैनन्।

भ्रमण वर्ष सफल पार्ने हो भने सरकारले धार्मिक र गैरधार्मिक दुवै पर्यटकलाई तान्ने प्रयास गर्नुपर्छ। सगरमाथा र उच्च हिमश्रृंखला मात्र होइन, धार्मिक पर्यटक तानेर पनि हामी लक्ष्य पूरा गर्न सक्छौं। मुस्लिमका लागि साउदी अरबको मक्का मदिनाजस्तै बुद्धधर्मावलम्बीका लागि लुम्बिनी, जीवनमा एकपटक जानैपर्ने पवित्र स्थलका रूपमा विकसित गर्न सक्छौं। यो अति सम्भावना भएको क्षेत्र हो। छिमेकी चीन, म्यानमार, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकमा बस्ने बुद्ध धर्मावलम्बी एकपटक लुम्बिनी आउने वातावरण बनाउन सके वार्षिक २० लाख होइन ५०औं लाख पर्यटक नेपाल आउन सक्छन्। बौद्ध मात्र नभएर हिन्दू धर्मावलम्बीका लागि पनि पशुपतिनाथ, मुक्तिनाथजस्ता पवित्र धार्मिकस्थल हामीकहाँ छन्। भारतभर छरिएका हिन्दू तीर्थस्थलमा करोडौं संख्यामा धार्मिक पर्यटक पुग्ने वातावरण बन्छ भने नेपालमा किन बन्न सक्दैन ? सरकारले यसतर्फ ध्यान दिन जरुरी छ।

नेपालका विभिन्न पर्यटकीय स्थल दुनियाँका चर्चित गन्तव्य सूचीमा परेका छन्। विदेशी सञ्चारमाध्यमले बेलाबखत यस्ता स्थलका प्रचारप्रसार गर्ने गरेका पनि छन्। यस्ता गन्तव्यमा पर्यटकलाई विचरण गराउन सरकारले हरसम्भव उपाय खोजी गर्नुपर्छ। पहिले प्रचारप्रसार, त्यसपछि भौतिक पूर्वाधार निर्माण, पर्यटकलाई सेवा–सुविधा व्यवस्थालगायत काम गर्न सके सरकारले पर्याप्त पर्यटक भित्र्याउन सक्छ। २० लाख पर्यटक भित्र्याउन सरकारी लक्ष्य अर्को वर्ष नै पूरा हुन कठिन भए पनि यसले पर्यटक आउने आधार तय गर्नेछ। नेपाललाई भ्रमण वर्षको शुभकामना ! विश्वलाई अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना !

 

 

प्रकाशित: १६ पुस २०७६ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App