८ वैशाख २०८१ शनिबार
अर्थ

आक्रामक बन्दै काभ्रे वितरण केन्द्र

खोपासी पावर हाउस परिसरमा रहेको इलेक्ट्रिकल स्विचिङ यार्ड। तस्बिर : नागरिक

बनेपा – नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल हुँदै गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षभरि नै  केन्द्रले चुहावटलाई २० प्रतिशतभन्दा तल झार्न सकेको थिएन।

‘चालु आवको प्रथम चौमासिक अवधिमा चुहावट १७.९० प्रतिशत कायम राख्न सफल भएका छौं। सो अवधिको साउन र भदौमा १९ प्रतिशतको हाराहारीमा रहेको चुहावट असोज र कात्तिकमा उल्लेख्य रुपमा घटाएर १७.९० मा पु-याउन सक्यौं,’ केन्द्र प्रमुख इन्जिनियर रञ्जनराज गुरुङले भने, ‘मंसिर महिनाको चुहावटमा समेत उल्लेख्य नतिजा आउने अपेक्षा गरेका छौं,’ उनले थपे।

आव ०७५/७६ को साउन महिनामा केन्द्रको चुहावट दर साढे ३० प्रतिशतको हाराहारीमा रहेको थियो। त्यसलगत्तै केन्द्रले प्रभावकारी रुपमा चुहावट घटाउँदै लगेको पछिलला तथ्यांकले देखाएको छ। हाल १७.९० प्रतिशतमा रहेको चुहावटलाई चालु आवको अन्त्यसम्ममा घटाएर १४.९४ प्रतिशत कायम गर्नुपर्ने प्रादेशिक कार्यालयले लक्ष्य दिएको गुरुङको भनाइ छ। ‘प्रादेशिक कार्यालयमातहतका अन्य केन्द्रहरुभन्दा हामीलाई चुहावटको मात्रालाई धेरै नै घटाउने लक्ष्य दिइएकाले हाम्रो पछिल्लो ध्यान सो लक्ष्य प्राप्तिमा रहेको छ। यसका लागि अलग्गै रणनीति बनाएर काममा जुटेका छौं,’ उनले भने।

‘विगतमा धेरै नै चुहावट भएको जिल्ला र भौगोलिक विकटताले गर्दा लक्ष्य प्राप्तिमा अल्लि कठिनाइ देखिएको थियो। तर, पछिल्ला महिनामा केन्द्रलगायत प्रादेशिक कार्यालयबाट उल्लेख्य सहयोग भइरहकाले चुहावट दर घट्दो क्रममा छ। यसलाई हामीले लक्ष्य प्राप्तिको सूचकका रुपमा लिएका छौं,’ गुरुङले थपे। यद्यपि प्रादेशिक कार्यालयले चुहावट कमीका लागि दिएको लक्ष्यमा दिनरात नभनी काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

विगतमा काभ्रे जिल्लाभर विद्युत् वितरणका कार्य हेर्नका लागि बनेपामा एउटैमात्र वितरण केन्द्र थियो। चालु आवको कात्तिक महिनाबाट पाँचखालमा थप केन्द्र कायम भएको छ। पाँचखाल केन्द्र अलग भएपछि यस केन्द्रमा ग्राहक संख्या ४४ हजार चार सय ३७ रहेको छ। विगतमा यो संख्या ६० हजारको हाराहारीमा थियो।

काभ्रे वितरण केन्द्रमा घरायसी ग्राहकको बाहुल्य रहेको छ। कर्पोरेट ग्राहकमध्ये सबैभन्दा बढी विद्युत् खपत गर्नेमा धुलिखेल अस्पताल र त्यसपछि दोस्रोमा बाँसाडोलस्थित गोरखा इको ब्रिक फ्याक्ट्री रहेको छ। यस्तै, ग्रामीण गाउँ/नगरपालिकामा स्थापित सामुदायिक सहकारीले थोकमा विद्युत् किनेर ग्राहकलाई बिक्री गर्दै आएका छन्।

‘मंसिरमा हामीले चार करोड ६५ लाख ६९ हजार रुपैयाँ बराबरको ४२ लाख ४४ हजार युनिट बिजुली बेचेका छौं। यस्तै, लाइन काटेर असुलीमा ५० लाख ९३ हजार रुपैयाँ संकलन भएको छ भने चुहावटको जरिवानाबाट यो महिनामात्रै साढे पाँच लाख असुल्न सफल भयौं। चालु आवमा १० लाख ४२ हजार ६ सय रुपैयाँ चुहावटबाटमात्रै असुल गरेका छौं,’ गुरुङले भने।

केन्द्रले अघिल्लो आवमा मुस्किलले ९० प्रतिशतसम्म आय संकलनमा गर्ने गरेकामा यतिखेर एक सय चार प्रतिशतसम्म संकलन गर्न थालेको छ। उनले भने, ‘यो सबै कर्मचारीको सक्रियता, स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिको साथ र सहयोग पाएकाले मात्रै सम्भव भएको हो,’ गुरुङले थपे।

पछिल्लो समय गाउँँपालिका र नगरपालिकाका वडाध्यक्षले विद्युत् चुहावट गर्ने र बक्यौता नतिर्नेहरुलाई अधारभूत सेवासमेत नदिने निर्णय गरेसँग बक्यौता असुलीमा समेत प्रगति भएको उनको भनाइ छ। ‘जनप्रतिनिधिले नै धेरै सहयोग गरिरहनु भएको छ। हामीले पनि उहाँँहरुको अनुरोधमा जीर्ण पोल तथा ११ केभिएका लाइन फेर्ने, मिटर तत्काल उपलब्ध गराउनेलगायत थप काम पनि गरिरहेका छौं। लोड अनुसार धेरै ट्रान्सफर्मर पनि थपिरहेका छौं। यसले पनि प्राधिकरणले माया पाएको हो,’ गुरुङले भने।

नयाँँ सबस्टेसन खोपासीमा
पनौती–१०, खोपासीस्थित नेपालकै तेस्रो जलविद्युत् उत्पादन गृह परिसरमा नयाँ सबस्टेसन (३३÷११ केभिए) स्थापना हुने भएको छ। चालु आवको अन्त्यसम्ममा खोपासी सबस्टेसनमा स्थापना हुने ११ केभिएको नयाँ फिडरमार्फत खोपासी, पस्थली, शंखु, ढुंखर्क, बल्थली, कामीडाँडा, भुग्देउलगायत क्षेत्रमा गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न सहज हुने गुरुङको भनाइ छ।

‘हाललाई खोपासीमा ३ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर सबस्टेसन सुरु हुन्छ। पछि डिमान्डमा आधारित रहेर यसको क्षमता बढाउन सकिने गरी डिजाइन गरेका छौं। अब केही दिनभित्रै टेन्डर प्रक्रिया सुरु हुन्छ। यसका लागि आवश्यक बजेट स्वीकृत भइसकेको छ,’ उनले भने।

खोपासी पावर हाउसबाट उत्पादित विद्युत् भक्तपुरसम्म लैजान प्रयोगमा आइरहेको प्रसारण लाइन र पावर हाउसस्थित पूर्वाधार (इलेक्ट्रिकल स्विचिङ यार्ड)को उपयोग हुने भएकाले चाँडै निर्माण सम्पन्न हुनेमा उनले आश्वस्त बनाए। प्राधिकरणअन्तर्गत हाल बनेपा, २८ किलो र पाँचखालस्थित सब–स्टेसन सञ्चालनमा रहेको छ। दुवै सबस्टेसनमा पावर लोड धेरै भएकाले पनौती क्षेत्रमा पावर कम हुँदा ठूला उद्योग आउन अनिच्छुक थिए।

‘खोपासी सबस्टेसन स्थापनासँगै अब पनौती नगरपालिका र आसपासका गाउँपालिकामा ठूला–ठूला उद्योग आउनमा सहज भएको छ। काभ्रे वितरण केन्द्रको प्रयासले पनौतीलाई औद्योगिक ग्राममा रुपान्तरण गर्ने सरकारी योजनालाई समेत मद्दत पुग्ने भयो,’ पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले भने।

प्रकाशित: १६ पुस २०७६ ०५:०६ बुधबार

विद्युत्_चुहावट