coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टेस्टलाई चार दिनमा झार्न इङ्ल्यान्ड सहमत

लन्डन (एएफपी) – पाँच दिवसीय टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न इङ्ल्यान्ड क्रिकेट बोर्डले समर्थन गरेपछि टेस्ट क्रिकेटमा नयाँ संरचना बनाउनेतर्फ सम्बन्धित निकाय अग्रसर भएका छन्।

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रवक्ताअनुसार पछिल्ला समय खेलाडीको व्यस्त कार्यतालिकाका कारण टेस्टको संरचना चार दिनमै छोट्याउनु सही विकल्प भएको प्रतिक्रिया दिएसँगै नयाँ योजनाले सार्थकता पाउने देखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टेस्ट क्रिकेट संरचना छोट्याउन टेस्ट राष्ट्रहरूसँग यसअघि नै बहस थालेको थियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले तत्कालै यो निर्णय गर्नु हतारको निर्णय हुने प्रतिक्रिया दिइरहँदा इसिबीले भने समर्थन जनाएको छ।

इङ्लिस सञ्चारमाध्यममार्फत इसिबीले खेलाडीमा कम भार पार्ने हुनाले नयाँ संरचना उचित भएको जनाएको छ। साथै इसिबीले पछिल्ला योजना खेलाडीलाई जतिसक्दो कम भार पर्ने खालको दीर्घकालीन संरचनासमेत हुने निस्कर्ष निकालेको छ। ‘हामी पनि चार दिनको खेलप्रति खुसी छौं। तर, टेस्ट क्रिकेटको इतिहासलाई भने मर्न दिनु हुँदैन। यस विषयमा खेलाडी, समर्थक र सरोकारवालासँग पनि बहस चलाउनुपर्छ, ’इसिबीको भनाइ छ।

क्रिकेट अस्ट्रेलियाका कार्यकारी प्रमुख केभिन रोबर्ट्सले गत हप्ता नयाँ संरचनाका बारेमा सबैले सोच्नुपर्ने तर्क दिएसँगै इसिबीले पनि बहस थालेको बुझिएको छ। सन् २०१७ देखि नै केही राष्ट्रले चार दिनको टेस्ट खेल्न थाले पनि आइसिसीले भने विश्व टेस्ट च्याम्पियनसिपपश्चात् नै नयाँ संरचना ल्याउन सक्नेछ। आइसिसी क्रिकेट कमिटीले सन् बोर्डमा मतदान गरेर मात्र सम्भवतः सन् २०२३ देखि नयाँ योजना थाल्नेछ।

यसका सम्बन्धित राष्ट्रको समर्थन पनि उतिकै आवश्यक पर्नेछ। ‘मुख्य सरोकारको विषय भने टेस्ट क्रिकेटको भविष्य हो। नयाँ संरचनाबाट हाम्रा समर्थक आकर्षित हुन्छन् कि हुँदैनन् भन्ने छ,’ इसिबीका प्रवक्ताले भने, ‘त्यसैले यस विषयमा सबैको समर्थन हुनुपर्छ। राम्रा विचार पनि समेटिनुपर्छ।’ खेलाडीको पछिल्ला व्यस्तताको स्थायी समाधान नयाँ संरचनाको टेस्टले परिपूर्ति गर्ने आइसिसीको भनाइ छ। टेस्ट क्रिकेटको इतिहास करिब १ सय ४० वर्ष पुरानो हो, जहाँ सुरुआतदेखि नै पाँच दिनमा खेलिँदै आएको छ।

९ वर्षको अन्तरालका बीच चारदिवसीय खेल हुने हो भने ३ सय ३५ दिन वचत हुने क्रिकेटका सरोकारवालको विचार छ। यद्यपि, यो प्रचलन पूर्णरूपमा नयाँ भने होइन। यसअघि पनि यसै वर्षको सुरुआतमा आयरल्यान्ड र इङ्ल्यान्डले चार दिनको खेल खेलेका थिए। सन् २०१७ मा पनि दक्षिण अफ्रिका र जिम्बाव्बेले पनि चार दिनको खेल खेलेको थियो।
तर, विश्व क्रिकेटमा शक्तिशाली भारतको क्रिकेट बोर्डको समर्थन नभएसम्म  नयाँ योजनाले समर्थन पाउने छैन। बिसिसिआई अध्यक्ष गांगुलीले पनि सन् २०२३ सम्मको विश्व टेस्ट च्याम्पियनसिपअगाडि यस विषयमा टिप्पणी गर्नु हतारको निर्णय हुने बताइसकेका छन्।

प्रकाशित: १६ पुस २०७६ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App