८ वैशाख २०८१ शनिबार
समाज

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

सेलाङ गाउँपालिका–१ स्थित मञ्जुदेउराली सामुदायिक बन अतिक्रमण गरेर बसिरहेका भूकम्प पीडितका अस्थायी टहरा। तस्बिर: ध्रुव/नागरिक

सेलाङ (सिन्धुपाल्चोक)- बिनासकारी भूकम्पपछि आश्रय लिइ बसेको सामुदायिक बन छोडेर पीडित थातथलो फर्कँन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक बनको जमिन कब्जा गरेर बसिरहेका छन्।

                सेलाङ गाउँपालिका–१ स्थित बाँसखर्क र काफ्लेडाँडामा ३८ परिवार अस्थायी टहरोमा आश्रित छन्। यो जमिन मञ्जुदेउराली सामुदायिक बनमा पर्छ। घर फर्कँन वडा कार्यालय र बन डिभिजनले अनुरोध गरिरहे पनि उनीहरु अझै अटेर गरेर बसिरहेका छन्। भूकम्पपछिको आपतकालीन अवस्थामा उनीहरु यहाँ आश्रय लिन आइपुगेका थिए।

                सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका छन्। टेण्ट, त्रिपाल र जस्ताको टहरोमा उनीहरु आश्रित छन्। उनीहरु सबै भूकम्प पीडित भए पनि बिस्थापित हुनेहरु नरहेको वडाध्यक्ष कमलबिक्रम थापाले बताए। ‘आफ्नो गाउँ पहिरोको जोखिममा रहेको अड्डी लिएर छोड्न मानेका छैनन्,’ उनले भने। गाउँ फर्केर जान पटक–पटक अनुरोध गरे पनि उनीहरुले नसुनेको थापाले जानकारी दिए।

जिल्लाभर ८० परिवार पीडित सामुदायिक बन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित बन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरु गाउँ फर्कँन नचाहेका हुन्। अनुदानबाट अधिकांशले गाउँमा भने घर बनाइसकेका छन्।

                सामुदायिक बनको जमिनमा आश्रित धेरैले अनुदानबाट आफ्नै गाउँमा घर बनाइ सकेका छन्। तर घर गएर बस्न आलटाल गरिरहेका छन्। अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका केहीले अझै घर बनाउन सुरु नै गरेका छैनन्। पुनर्निर्माण प्राधिकरणबाट दुई पटक आएका भूगर्वविद्ले सेपगाउँ, खानीगाउँ र लिदीगाउँ पहिरोको जोखिममा नरहेको स्पस्ट पारेको वडाध्यक्ष थापाले जानकारी दिए।

                उनका अनुसार पीडित अहिले बसिरहेका ठाउँ सदरमुकामबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण छोड्न नमानेका हुन्। ‘यो ठाउँ पीडितको गाउँको तुलनामा धेरै सुगम छ। त्यही भएर छोड्न नमानेका हुन्,’ उनले भने। कतिपय पीडितले आफू बसेको टहरोमै होटल, पसल सञ्चालन गरी बसिरहेका छन्।

                बाँसखर्क र काफ्लेडाँडा अधिकांश वडावासी ओहोर–दोहोर गर्ने मुख्य बाटो हो। बाँसखर्कको डाँडोमा टहरोमा किराना पसल सञ्चालन गरेर बसिरहेका अवस्थामा भेटिए सेपगाउँका भीमबहादुर तामाङ। उनी भूकम्पपछिदेखि परिवारसहित यहाँ बसिरहेका छन्। पहिलो किस्ता ५० हजार रुपैयाँ पाए पनि घर बनाउन सुरु नगरेको उनले बताए। सरकारले दिने अनुदानको तीन लाख रुपैयाँले घर नबन्ने र बनाउँदा ऋण लाग्ने भएपछि आश्रितस्थल छोड्न नसकेको उल्टै गुनासो गरे उनले। ‘फेरि गाउँमा पहिरो पनि लागेको छ,’ तामाङले दाबी गरे।

                विज्ञले जोखिमपूर्ण औँल्याएको सेपगाउँका एउटा टोलका १९ परिवार भने काफ्लेडाँडा नजिक एकीकृत बस्ती बसालेर बसेका छन्। सामुदायिक बनमा आश्रित पीडितलाई समेत एउटा संस्थाले एकीकृत बस्ती बसालेर राख्न खोजेको थियो। तर उनीहरु मान्न तयार भएनन्। भूकम्पपछि बाँसखर्क र काफ्लेडाँडामा गोल्चे, गुम्बा, सेलाङका विभिन्न गाउँका गरी झण्डै पाँच सय परिवार आश्रित थिए। ३८ परिवारबाहेक सबै पीडित आफ्नै थातथलो र बैकल्पिक स्थान रोजेर फर्किए।

                डिभिजन बन कार्यालय सिन्धुपाल्चोकका बन अधिकृत तुलाराम घिमिरेले सामुदायिक बन अतिक्रमण गरेर बसिरहेका भूकम्प पीडितलाई फर्काउँने प्रयास भइरहेको बताए। ‘सामुदायिक बन खाली गर्न सम्बिन्धित गाउँपालिकाका प्रमुखहरुबाट सहमति पाएका छौँ,’ उनले भने। उनले लिसंखुपाखर गाउँपालिकाको सिक्रे र ताम्चे सामुदायिक बनमा थप ४२ परिवार भूकम्प पीडित बसिरहेको उनले जानकारी दिए।

                घिमिरेका अनुसार अटेर गरी बसिरहेका अधिकांशले अनुदान लिएर गाउँमै घर बनाइसकेको पाइएको छ। झण्डै ८० परिवार पीडित सामुदायिक बन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ।

 

               

प्रकाशित: १५ पुस २०७६ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App