८ वैशाख २०८१ शनिबार
समाज

दुर्गमका बालबालिका खोपबाट वञ्चित

बाजुरा- कोल्टी क्षेत्रमा रहेका स्थानीय तहका बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। पुस महिनामा पाउनु पर्ने खोप सेवाबाट करिब १ सय बढीको संख्यामा बालबालिका वञ्चित बनेका हुन्। जन्मेदेखि १२ महिनासम्म बालबालिकाले अनिवार्य मासिक खोप लगाउनु पर्ने हुन्छ।

भविष्यमा हुने विभिन्न रोगका संक्रमणबाट बच्न नियमित खोप पाउनु पर्ने भएपनि दुर्गम गाउँका बालबालिका त्यो सुविधाबाट वञ्चित भएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा रहेको फ्रिजर मेसिन बिग्रीएपछि यो महिना खोप दिन नसकिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताएका छन्।

मेसिन बिग्रे नबिग्रेको र कस्तो अवस्थामा छ भन्ने बारे कुनै जानकारी नै नराखि अन्तिममा आएर मेसिन बिग्रीँदा खोप दिन नसकेको बताएको प्रति स्थानीय आक्रोशित बनेका छन्। विगत महिना जस्तै यो महिना पनि खोपका लागि महिलाहरु बालबालिकासहित तयार थिए, तर गाउँमा खोप नै नपुगेको गुनासो स्थानीयको छ।

कोल्टी क्षेत्रमा १ नगरपालिका र ३ गाउँपालिका गरि ४ वटा स्थानीय तह रहेका छन्। चार मध्ये तीन वटामा सञ्चालन गरिएको र बाँकी एक वटा हिमाली गाउँपालिकामा भने सेवा नै सुचारु नभएको दाबी स्वास्थ्य कार्यालयको छ। अपुग सबैतिर रहेपनि हिमालीमा सुरु नै नगरिएको बताइएको छ।

हिमाली गाउँपालिका जिल्लाकै सार्वाधिक विटक र दुर्गमममा पर्दछ। भ्याक्सीन राख्ने फ्रिजले आइस बनाउँन नसकेकै कारण सेवा दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ। फ्रिज नभएसम्म भ्याक्सीन सुरक्षीत हुँदैन र फ्रिज मेसिन नबनेसम्म खोप सेवा संचालन गर्न नसकीने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका निमित्त प्रमुख ओमजंङ्ग शाहीले बताएका छन्।

फ्रीज बिग्रेर खोप सेवा सञ्चालन नहुँदा कोल्टी क्षेत्रका करिब १ सय बढी बालबालिका खोप लगाउनबाट वञ्चित बनेका छन्। तर स्वास्थ्य कार्यालय बाजुराले भने यस महिनाको पुर्ति अर्को महिनामा भएपनि गर्ने बताएको छ । जिल्ला अस्पतालबाट भ्याक्सीन बनाएर भएपनि सेवा दिने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख अशोक सिंहले बताएका छन्।

स्थानीय तहले फ्रिजको अवस्था बारे समयमै खबर गरेन्, स्थानीय तहकै जिम्मेवारी हो, स्वास्थ्य संयोजक र कर्मचारीले पनि थाहाँ पाउने विषय भएपनि सामाजिक विकास मन्त्रालयलाई भनेर तत्काल सवा सञ्चालन गर्ने दाबी स्वास्थ्य कार्यालयको छ। तर मेसिन पूर्ण रुपमा बिग्रीएकोले मर्मतका लागि केन्द्रीय मेडीकल स्टोरबाटै प्राबिधिक आएर मात्र मर्मत गर्न सकिने बताइएको छ। रोगसँग लड्ने क्षमता विकास र प्रतिरोधात्मक शक्ति विकासका लागि नियमित लगाईने खोपबाटै बालबालिकालाई वञ्चित गरिनु ठूलो लापरवाही र बाल अधिकार माथिको हनन् भएको आरोप सर्वसाधारणको छ।

सामाजिक विकास मन्त्रालयको नियमित अनुगमन नहुनु र स्थानीय जनप्रतिनिधी स्वास्थ्य सेवामा बेखबर जस्तै हुँदा यो समस्या आउने गरेको स्थानीयको भनाइ छ। गाउँपालिका आफैले आवश्यक रिफ्रेजेनेटर चलाउन सक्ने विद्युतीय श्रोत नभएको हिमालीले बताएको छ।

खोप अति नै संवेदनशिल सेवा हो । यसको प्रभाव पछि गएर मात्र देखिने हुँदा समयमै ध्यान दिन स्वास्थ्यकर्मीकै सुझाव छ। भ्याक्सिन स्टोरेज गर्न २४ सै घन्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ। यसका लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रेजेनेटर र सोही अनुसारको विद्युत आवश्यक हुन्छ। प्रदेश सरकार र स्थानीय सरकार कसैले पनि वास्ता नगरेको स्वास्थ्यकर्मीको आरोप छ।
    

प्रकाशित: १५ पुस २०७६ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App