coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वडा कार्यालयमा लगाइएको ताला खुलाइयो

खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल वडा कार्यालयमा वडा सदस्यले लगाएको ताला खुलाइएको छ। वडाध्यक्ष सन्तवीर तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै आइतबार वडासदस्य जयकुमार तामाङले लगाएको ताला मंगलबार साँझ सहमतिमा खुलाइएको हो। गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितिमा भएको छलफलमा सहमति जुटाएर ताला खुलाइएको हो। वडाध्यक्ष र वडासदस्यबीचमा सहमति कायम गराएर साँझमा ताला खुलाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।

पाँच लाख विनियोजन गरिएको खोपखर्कभञ्ज्याङ–गोर्केविसकाम हुँदै साल्पासिलिचो जोड्ने सडकको सट्टा रुट परिवर्तन गरेर बादेलबाट बिसकाम हुँदै साल्पासिलिचो जोड्ने सडक निर्माण गर्ने, बाकाचोलको बजेटबाट निर्माण गरिने बगाले सिरुडाँडा–पारा सडक निर्माणका लागि ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका स्थानीयलाई मात्र सहभागी गराएर बनाइएको उपभोक्ता समितिको सट्टा दुबै वडाका स्थानीय सहभागी गराएर अर्को उपभोक्ता समिति गठन गर्ने, वडाध्यक्षले आफुखुसी गठन गरेका उपभोक्ता समितिलाई सल्लाह र सहमतीमा पुःर्नगठन गर्ने, प्रत्येक महिना वडाले दुई पटक बैठक बोलाउने, हरेक ६ महिनामा सामाजिक लेखा परिक्षण गर्ने र कामको प्रगतीका बारेमा जानकारी दिने सहमतीमा ताला खोलिएको हो। वडाध्यक्षसँगको सहमतिपछि वडासदस्य जयकुमार आफैले लगाएको ताला आफैले खोलेका हुन्। पुस ७ गते वडा कार्यालयमा लगाइएको ताला सोही दिन साँझ प्रहरीको सहयोगमा वडाध्यक्षले खोलेपछि वडासदस्यले स्थानीय समेतको सहभागीतामा पुःन ताला लगाएका थिए।

बाकाचोलका वडाध्यक्ष सन्तबीर र वडा कार्यालयमा ताला लगाउने जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। वडाध्यक्षले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेको, आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएको भन्दै वडासदस्य जयकुमारले वडा कार्यालयमा ताला लगाउनु परेको बताए। वडाध्यक्षले बाकाचोलको खोपखर्कभञ्ज्याङ–गोर्केविसकाम सडक निर्माणका लागि बजेट विनियोजन गराएको तर सो योजनाले लुबेरा खानेपानी आयोजनालाई क्षति पुग्ने र करिब अढाई सय घरधुरीलाई अशर पुग्ने भन्दै वडासदस्य असहमति जनाएपछि उनीहरुबीच विवाद सिर्जना भएको जनाइएको छ। वडासदस्य जयकुमारले यसपल्टको योजनाको उपभोक्ता समिति पनि वडाध्यक्षले एकलौटी गठन गरेको आरोप लगाए।

प्रकाशित: १५ पुस २०७६ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App