coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खाद्यले पाँच हजार क्विन्टल कोटा थप्योे

नेपालगन्ज कारकाँदोस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय परिसरमा राखिएको धान। तस्बिर:अर्जुन/नागरिक

नेपालगन्ज -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले पाँच हजार क्विन्टल धानको कोटा थप गरेको छ। गत कात्तिक २७ गतेदेखि कारकाँदोस्थित कार्यालय परिसरमा धान खरिद गर्न सुरु गरेको कम्पनीले चालु वर्षका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो। धान बिक्री गर्न आउने किसानको चाप अत्यधिक बढेपछि कम्पनीको केन्द्रीय कार्यालयले थप पाँच हजार क्विन्टल खरिद गर्न स्वीकृति दिएको अञ्चल कार्यालय नेपालगन्जका प्रमुख भरत खनियाले जानकारी दिए।

‘हाम्रो यस वर्षको चालु कोटा ३५ हजार क्विन्टल हो, कोटा अनुसार धान खरिद लगभग भइसकेको छ, अब थप पाँच हजार क्विन्टल खरिद गर्ने हामीलाई मौखिक स्वीकृति प्राप्त भएको छ,’ उनले नागरिकसँग भने। कम्पनीले यस वर्ष किसानसँग फ्रेस मोटा धान प्रतिक्विन्टल दुई हजार पाँच सय ३२ रुपैयाँ ८० पैसा र फ्रेस मध्यम धान प्रतिक्विन्टल दुई हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरिरहेको छ।

तत्कालीन खाद्य संस्थान अञ्चल कार्यालयले गत आर्थिक वर्ष ०७५/७६ मा नेपालगन्जबाट ३३ हजार क्विन्टल धान खरिद गरेको थियो। कम्पनीले धान खरिद गर्न सुरु गरेपछि दिनहुँ किसानको ओइरो लागिरहेको छ। किसानको चाप बढेपछि व्यवस्थापन गर्न समस्या भएको प्रमुख खनियाले बताए। उनले थपे, ‘धान खरिदको काम सुरु भएपछि दैनिक ३० देखि ४० वटा ट्रली र १५ देखि २० वटा लडिया आउने गरेका छन्, त्यही भएर हामीलाई थेग्नै गाह्रो भयो।’ कम्पनीले थप गरेको पाँच हजार कोटा पनि लगभग पूरा हुने क्रममा रहेको बताउँदै उनले भने, ‘अब हामी कार्यालय परिसरभित्र प्रवेश गरिसकेका ट्रली र लडियामा राखिएको धान मात्र खरिद गर्न सक्ने अवस्थामा छौं।’

धानको सुरक्षामा जोखिम
 किसानसँग खरिद गरिएको धानको सुरक्षा गर्न जोखिम देखिएको छ।  पर्याप्त गोदाम नहुँदा कम्पनीले उक्त धान चौरमै राखेको छ। शितलहर र बेमौसमी वर्षाका कारण धान जोगाउन जोखिम भएको हो। कम्पनीसँग पर्याप्त मात्रामा गोदाम नभएको र उपलब्ध रहेका गोदाम पनि खाली नहुँदा धान चउरमै राख्नु परेको हो। ‘धान जोगाउन जोखिम त जोखिम नै छ,’ अञ्चल प्रमुख खनियाले भने, ‘दैनिक रुपमा त्रिपालले ढाँक्ने र खोल्ने निरन्तर गरिराखेका छौं, तरपनि कहिलेकाही त्रिपालको साना प्वालबाट पानी छिर्दो रहेछ, त्यस्तो अवस्थामा हामीले दैनिक रुपमा पल्टी गर्छौं।’

कम्पनीले किसानसँग अहिलेसम्म नेपालगन्जमा खरिद गरेको धानको मूल्य करिब १० करोड नाघेको छ। चुनौतीसँगै धानलाई सुरक्षित गरेर राखिएको कम्पनीको दाबी छ। ‘हामीले किसानसँग खरिद गरेको धानमध्ये करिब तीनदेखि चार हजार क्विन्टल मात्र गोदामभित्र राखेका छौं, बाँकी धान चौरमै सुरक्षा सावधानी अपनाएर राखेका छौं,’ प्रमुख खनियाले भने, ‘बाहिरबाटै पनि कुटानका लागि मिलतिर पठाउने काम गरेका छौं, अब जति सकिन्छ खरिद भएको धान मिलतिरै पठाउने काम गर्छौं।’

तत्कालीन खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनीलाई सरकारले मर्ज गरिसकेपछि हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नामकरण गरिएको छ। तत्कालीन नेसनल ट्रेडिङ कम्पनीको नेपालगन्ज कार्यालयसँग रहेका गोदाम लामो समयदेखि प्रयोगमा नआएका कारण जीर्ण बनेका छन्। तत्कालीन नेसनल ट्रेडिङको गोदाम मर्मत गर्न सकेमा ३० देखि ४० हजार क्विन्टल धान/चामल राख्न सहज हुने कम्पनीका अञ्चल प्रमुख खनिया बताउँछन्।

प्रकाशित: १५ पुस २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App