८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पुटिनले दिए ट्रम्पलाई धन्यवाद

मस्को – आफ्नो देशमा हुन लागेका ‘आतंककारी गतिविधिहरु’ रोक्न सहयोग हुने गरी गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सोमबार एउटा विज्ञप्ति जारी गर्दै पुटिनले अमेरिकी समकक्षी ट्रम्पलाई धन्यवाद दिएको उल्लेख गरेको छ।

दुई राष्ट्रपतिबीच आइतबार भएको फोनवार्तामा पुटिनले ट्रम्पलाई आफ्नो देशमा हुन लागेका विभिन्न आतंकवादी गतिविधिबारे जानकारी दिएको भन्दै धन्यवाद दिएको क्रेम्लिनले जारी गरको सो विज्ञप्तिमा उल्लेख छ। यद्यपि रुसी राष्ट्रपति कार्यालयले अमेरिकी गुप्तचर निकायमार्फत् ‘आतंकवादी गतिविधिबारे सूचना प्राप्त भएको’ जनाए पनि त्यसबारे विस्तृत विवरण भने उपलब्ध नगराएको बिबिसीले उल्लेख गरेको छ।

रुसी सञ्चारमाध्यमका अनुसार नयाँ वर्षका बेला सेन्ट पिटर्सबर्गमा हुन लागेको आतंककारी आक्रमणको योजना अमेरिकी गुप्तचरी निकायले पत्ता लगाएका थिए  र सोबारे रुसी समकक्षीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी गराएका थिए।

अमेरिकी जानकारीपछि दुई रुसी नागरिकलाई पक्राउ गरिएको छ। त्यसैगरी मानिसहरु भेला भएको एउटा क्षेत्रमा आक्रमण गर्ने योजनासँग सम्बन्धित विभिन्न सामग्रीसमेत बरामद गरिएको समाचार संस्था टासले रुसी गुप्तचर निकाय एफएसबीका एक प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ।

यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच विभिन्न विषयमा बेलावखत फोनवार्ता हुने गरेको थियो। दुई राष्ट्रपतिबीच प्रायः सिरिया, पारमाणविक सम्झौता, उत्तर कोरिया तथा व्यापारलगायतका यावत विषयमा छलफल हुने गरेको छ। यसअघि सन् २०१७ को डिसेम्बरमा पनि रुसी राष्ट्रपति पुटिनले अमेरिकी गुप्तचर निकायले सूचना उपलब्ध गराएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार त्यो सूचना पनि सेन्ट पिटर्सबर्गमा हुन सक्ने सम्भावित आतंककारी आक्रमणबारे नै थियो।

क्रेम्लिनका अनुसार त्यति बेला पुटिनले आफूले पनि अमेरिकालाई आतंककारी गतिविधिबारे सूचना दिने वचन दिएका थिए। सन् २०१४ मा रुसले क्रिमियालाई आफ्नो भूभागमा गाभेपछि वासिङ्टन र मस्कोको सम्बन्धमा तिक्तता आएको थियो। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा क्रेम्लिनले हस्तक्षेप गरेको निष्कर्ष अमेरिकी गुप्तचर निकायले निकालेपछि त दुई देशबीचको सम्बन्ध झनै बिग्रियो।

दुई देशबीचको सम्बन्धमा तिक्तता भएपनि दुई राष्ट्रपतिबीच राम्रो व्यक्तिगत सम्बन्ध रहेको देखिन्छ। त्यहीअनुरुप नै उनीहरुले आतंकवाद नियन्त्रण गर्न परस्पर सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै आएका छन्। रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा स्वीकार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी मे महिनामा मस्कोमा आयोजना हुने ‘भिक्ट्री डे’ समारोहमा उपस्थित हुने संकेत गरेका छन्।

दुवै राष्ट्रले इस्लामिक स्टेट समूहबाट खतरा महसुस गरिरहेका छन्। उक्त समूहले सन् २०१५ मा रुसबाट उडेको एउटा रुसी विमान आफूले खसालिदिएको स्वीकार गरेको थियो। उक्त घटनामा दुई सय २४ जनाको मृत्यु भएको थियो। रुसमा पक्राउ परेका व्यक्तिहरूको अन्य समूहसँग सम्बन्ध भएको वा नभएको स्पष्ट छैन।

प्रकाशित: १५ पुस २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App