coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका उपसभापति विमलेन्द्र निधिलाई बिनापरार्मश एकलौटी ढंगबाट गरिएको निर्णय सच्याएपछि मात्र सहमतिका लागि छलफलमा बस्नसक्ने बताएका हुन्।

पार्टीभित्र विश्वासको संकट बढ्दै गएको जनाउँदै नेता पौडेलले सहमतिका लागि भइरहेको प्रयास बीचमै छाडेर केन्द्रीय समितिबाट अनाय निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका थिए। व्यक्तिगत र गुटगत स्वार्थका लागि पार्टीलाई संकटमा नपार्न आग्रह गर्दै पौडेलले निधिलाई भनेका थिए, ‘यो तरिका ठिक भएन। निर्णय सच्याउनुस्।’

त्यसपछि मात्र सहमतिका विषयमा छलफल गर्न सकिने धारणा पौडेलले राखेको निकट स्रोतको दाबी छ। पौडेललाई भेट्न निधि बोहोराटार पुग्दासँगै रहेका केन्द्रीय सदस्य हृदयराम थानीले महाधिवेशनको कार्यतालिका माग गर्ने पक्षलाई नै नसोधी निर्णय गर्नु जायज नभएको धारणा राखेका थिए। विवाद देखिएका धेरै विषय सहमझदारीतिर अघि बढीरहेका बेला एकलौटी ढंगबाट विभागको संख्या थप, नेपाल तरुण दलको कार्यकाल बढाउने निर्णय गरेको थियो। पार्टी विधानलाई आफुखुसी संशोधन र निलम्बन गरेको धारणा राख्दै थानीले उपसभापतिलाई निधिलाई भनेका थिए, ‘विधान संशोधन गर्दा पनि अर्को पक्षलाई सोध्नुपर्दैन ? कांग्रेसको विगतको परम्परा यही हो त ?’

पौडेललाई भेटर उपसभापति निधिले सहमतिबाट अघि बढ्नुपर्ने धारणा राख्दै राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभाका सभामुखको निर्वाचनका विषयमा भइरहेका छलफलको जानकारी गराएका थिए। उक्त विषयमा पार्टीले निर्णय लिनुपर्ने भन्दै उपसभापति निधिले पार्टीभित्र देखिएको विवाद समाधानका लागि फेरि पहल थालेका छन्। निधिसँगको छलफलपछि नेता पौडेलसहित असन्तुष्ट पक्ष आगामी रणनीति बनाउन छलफलमा जुटेको छ।

देउवाबीरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट
पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहितका नेताहरूको अनुपस्थितिमै बुहमतको आधारमा केन्द्रीय समितिबाट निर्णय लिनथालेपछि असन्तुष्ट पक्षीय नेता एक ठाउँमा उभिन पुगेका छन्। व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण विभिन्न समूहमा छरिएका नेताहरू सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका हुन्।

पार्टीको १३ औं महाधिवेशनदेखि नै विभाजित देखिएको यो समूहको उपस्थिति बिनै निर्णयपछि आगामी रणनीति बनाउन सोमबार एकै ठाउँमा भेला भएका छन्। १४औं महाधिवेशनमा नेतृत्वका लागि आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका असन्तुष्ट पक्षीय नेताहरू सोमबार साँझको खानासहित आगामी रणनीति निर्माणका लागि छलफलमा जुटेका छन्।

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसीका साथै शेखर कोइराला, बलबहादुर केसी र मीनेन्द्र रिजाल छलफलमा छन्। केसी र रिजालबाहेक अन्य सबै नेताहरूले १४औं महाधिवेशनमा नेतृत्व दाबी गर्दै आएका छन्। पौडेललाई नेतृत्वमा अस्वीकार गर्दै सिटौलाले त १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए। सांसद् दिव्यमणिराज भण्डारीको निवास मण्डिखाटारमा साँझ साढे पाँच बजेदेखि छलफलमा जुटेका उनीहरूले समूहगत स्वार्थ माथि उठेर १४ औं महाधिवेशनमा एउटै उम्मेदवार बनाउनेदेखि आपसी अविश्वास हटाउने प्रयास स्वरूप खानासहितको छलफल राखिएको सहभागी एक नेताले जानकारी दिए। ‘केन्द्रीय समिति बैठकमा अब हाम्रो भूमिका कस्तो हुने भन्नेदेखि महाधिवेशनमा कसरी एकताबद्ध भएर जाने भनेर छलफल सुरु गरेका छौं,’ सहभागि ती नेताले भने, ‘एकअर्कालाई विश्वासमा लिएर सभापति देउवाका गतिविधिविरुद्ध कसरी एक भएर उभिने भन्नेमै छलफल केन्द्रित छ।’

प्रकाशित: १५ पुस २०७६ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App