coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

बेलटार– उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भको अवसरमा नगरपालिकाले १३ औं सागका पदक विजेतालाई नगदसहित सम्मान गर्न लागेको हो। 

नगरपालिकाले अंग्रेजि नयाँ वर्ष २०२० को सुरु दिन जनवरी १ अर्थात पुस १६ गते भ्रमण वर्ष उद्घाटन गर्दै खेलाडीलाई सम्मान गर्न लागेको नगरप्रमुख खगेन्द्र राईले बताएका छन्। नगरपालिकाको १ नं. वडास्थित ३ सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्वको चौदण्डीगढी दरबारस्थलमा आयोजना गरिने भव्य कार्यक्रममार्फत भ्रमण वर्षको औपचारिक सुरु गर्दै पदकधारी खेलाडीलाई सम्मान गर्न लागेको उनले बताए।

मेयर राईका अनुसार सागमा सहभागी भएर पदक जितेका खेलाडीका साथ प्रशिक्षकहरु पनि सम्मानित हुनेछन्। चौदण्डीगढी नगरपालिकाभित्रका खेलाडीहरु ७ नं. वडाकी बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई, ६ नं. का निशा राई र कविता राई तथा ४ की संगिता राईलाई सम्मान गरिनेछ। बबिता, रन्जना, बन्दना र कविता, निशा र महिला ह्याण्डबलमा रजत पदक बिजेता हुन् भने संगीता भारत्तोलनतर्फ काश्य विजेता हुन्।

चौदण्डीगढीले सागमा स्वर्ण विजेता छिमेकी कटारी नगरपालिकाकी भारत्तोलनकी खेलाडी अनुपमा मगर र अर्को छिमेकी बेलका नगरपालिका ४ की महिला फुटबलमा रजत विजेता दीपा राई तथा संगिता मगरलाई पनि सम्मान गर्ने नगरप्रमुख राईले बताए। स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदका साथ सम्मानपत्र प्रदान गरिने छ।

जिल्ला ह्याण्डबलका प्रशिक्षक पर्वत गुरुङ, सहायक प्रशिक्षकद्वय विन्दाकुमारी थापा र पार्वती राईलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताए। जिल्लाबाट सागमा सहभागी भएर खेलाडीहरुले उदयपुरको नाम राखेको हुनाले आत्मबल बढाउन चौदण्डीगढीसँगै छिमेकी नगरका खेलाडीलाई पनि सम्मान गर्न लागिएको मेयर राईले बताए।

भ्रमण वर्षका लागि १६ गते ‘राइट टु चौदण्डीगढी’ नाम दिइएको ३० किलोमिटर दूरीको बेलटार–चौदण्डीगढी दरवारसम्म साईक्लिङ प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित: १४ पुस २०७६ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App