coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अत्याधुनिक बनेर ठडियो जेठो शैक्षिक संस्था

सिन्धुपाल्चोक- सर्वसाधरणका छोराछोरीले पढ्न हुँदैन भन्ने मान्यता राख्ने जहाँनिया राणा शासनको समयमा स्थापना भएको सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा मावि ठडिएको छ।

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा अत्याधुनिक विद्यालय भवन बनेको हो। साढे १० करोड रुपैयाँको लागतमा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इन्जिनियर शेरबहादुर  पुजाराले बताए। ‘भूकम्पपछि बनेकामध्ये बजेटका हिसावले जिल्लामा यो नै ठूलो विद्यालय हो,’ उनले भने।

सरकारद्धारा नमूना घोषित विद्यालय भएकाले यो विद्यालय भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको छ। पुनर्निर्माणअन्तर्गत तीन विद्यालय, छात्रावास, पहरा घर र शौचालयसहित ६ वटा भवन एकै प्याकेजमा बनेका हुन्। भव्य भवनमा काक्षाकोठा मात्रै फराकिला ३६ वटा छन्। छात्रावास भवनमा १४ कोठा छन्। छात्रावासमा भित्रै शौचालय, भान्छा घर र चमेनागृह छन्। विद्यालयमा कार्यालय, बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्यूटर प्रयोगशालाका लागि छुट्टै भवनको बनाइएको छ।

                छात्र, छात्रा, अपांग विद्यार्थी र शिक्षकका लागि छुट्टा–छुट्टै शौचालय छन्। भूकम्पप्रतिरोधी विद्यालय अपांगमैत्री, बालमैत्री र बातावरणमैत्रीसमेत छ। निर्माण प्याकेजमै डेस्क, बेञ्च, ह्वाइट बोर्डको व्यवस्था गर्दै कार्पेटिङ गरिएको कक्षाको साजसज्जा चिटिक्क छ। कम्पाउण्ड घेरिएको विद्यालयमा खानेपानी र बिजुलीको पर्याप्त व्यवस्था छ। प्रत्येक कक्षामा पंखा जडान गरिएको छ।

                विद्यालयका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले अत्याधुनिक भवनले शिक्षाको गुणस्तर थप सुधार्न सघाउने बताए। ‘विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको थियो,’ उनले भने, ‘भव्य संरचना पाएकाले अझ गुणस्तर वृद्धि गर्न सहज बनाउने छ।’ उनका अनुसार विद्यार्थी संख्याका आधारमा समेत यो विद्यालय जिल्लाकै सबैभन्दा ठूलो हो। नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा हाल एक हजार दुई सय ८० विद्यार्थी अध्ययनरत छन्।

                यो विद्यालयले एसइई र कक्षा ११, १२ मा निरन्तर उत्कृट नतिजासमेत ल्याइरहेको छ। कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायमा पढाइ हुँदै आएको छ। विद्यालय संरचनाको चिन्ता लिनु नपर्ने भएकाले अझ अब्बल नतिजा ल्याउन केन्द्रित हुने प्रअ श्रेष्ठ बताउँछन्। २०७२ वैशाख १२ को बिनासकारी भूकम्पले ४७ कोठे विद्यालय भवन ढालेको थियो।

                आउँदो शनिबार यो जेठो विद्यालयले ७३ औँ स्थापना दिवस मनाउँदै छ। सोही दिन निर्मित संरचना विद्यालयलाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा नयाँ भवनबाट पठनपाठन थाल्ने तयारी छ। विद्यालय उद्घाटन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई निम्त्याइएको विद्यालयले जनाएको छ।

                नमूना विद्यालय घोषित भएबापत सरकारबाट विद्यालयले यो वर्षदेखि ५० लाख रुपैयाँ थप अनुदान पाउन थालेको छ। शैक्षिक गुणस्तरवृद्धिमा खर्च गर्ने गरी यस्तो अनुदान वर्षेनी प्राप्त हुनेछ। विभिन्न मापदण्डका आधारमा नेपाल सरकारले २०७३ मा मुलुकभरका १४ सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषित गरेको थियो। ठोकर्पाको बाघभैरव मावि सिन्धुपाल्चोकको पहिलो नमूना विद्यालय हो। योसमेत जिल्लामा सरकारबाट नमूना घोषित विद्यालय तीनवटा छन्।

संघर्षपूर्ण यात्रा, गर्विलो इतिहास

                २००४ पुस १९ गते जिल्लाको पहिलो शैक्षिक संस्थाको रुपमा यो विद्यालयको स्थापना भएको थियो। त्यो समय मुलुकमा राणा शासन थियो। राणा शासनमा विद्यालय स्थापना गर्न त्यति सहज थिएन। यो विद्यालय कसरी खोलियो भन्ने बारे जान्न १९९० तिर फर्कँनु पर्ने हुन्छ। त्यतिबेला मालपोत कार्यालय प्रमुख रामेछापका भक्तलाल श्रेष्ठ थिए। उनी सहिद गंगालाल र नेपाल कम्यूनिस्ट पार्टीका संस्थापक पुष्पलालका बाबु थिए। बाबुसँगै आएका उनीहरु चौताराको संस्कृत पाठशालामा पढ्थे। एक वर्षजति मात्र गंगालाल र पुष्पलालले यहाँ पढ्न पाए।

                त्यसको केही वर्षपछि राणा शासकले राजनीतिमा लागेको आरोपमा गंगालाललाई फाँसी दिए। ‘त्यही घटनापछि अब पढ्नु पर्छ भन्ने भावना विकास गरायो। र, सहिद गंगालाल पढेको पठशालाको जगमा रत्नगंगा जन्मियो,’ विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक र व्यस्थापन समितिका पूर्वअध्यक्ष रहेका कृष्णराज श्रेष्ठले भने।

                उनका अनुसार शिक्षाप्रेमी तथा राजनीतिककर्मी रहेका स्वर्गीय भक्तध्वज प्रधान र स्व. समुन्द्रप्रसाद श्रेष्ठको अगुवाईमा पूरानो बजारको कृष्णमन्दिरबाट कृष्ण प्राइमरी विद्यालयको नाममा पठनपाठन थालियो। त्यतिबेला प्रजा परिषद्मा आवद्ध प्रधान जिल्ला पञ्चायतका सभापतिसमेत भएका थिए। ‘त्यतिबेला विद्यालयलाई सरकारबाट कुनै सहयोग थिएन,’ विद्यालयका तेस्रो ब्याचका एसएलसी रहेका श्रेष्ठ सम्झन्छन्।

                २०१७ सालमा मिडल स्कुल बन्नुअघि विद्यालय विभिन्न स्थानबाट सञ्चालन भएको थियो। कहिले कृष्णमन्दिर त कहिले भीमसेन मन्दिरबाट। केही वर्ष विद्यालयको पठनपाठन पूरानो मालपोत कार्यालय नजिकबाट समेत सञ्चालन भएको थियो। अहिले विद्यालय रहेको स्थानमा २०१६ बाट जनश्रमदानमा भवन बनाउन थालियो। विद्यार्थी, अभिभावक र शिक्षकले श्रमदान गरेको श्रेष्ठलाई अझै सम्झना छ। ‘केही संरचना बनेपछि २०१९ सालमा आफ्नै भवनमा पठनपाठन सुरु भयो। त्यसको दुई वर्षपछि मात्र विद्यालय भवन निर्माण सम्पन्न भएको थियो,’ यो विद्यालयमा ११ वर्ष पढेर १७ वर्ष शिक्षण गरेका पूर्वसांसद उनले भने। विद्यालय बनाउनका लागि स्व. उत्तरध्वज प्रधान र उनका छोरा स्व. भक्तध्वजले जग्गा दान दिएका थिए।

                २०२२ सालमा कृष्ण हाइस्कुल बनेपछि विद्यालयले पहिलो पटक २०२३ मा एसएलसीमा सहभागिता जनाएको थियो। त्यो बेलादेखि धेरै वर्षपछिसम्म एसएलसी दिन काठमाडौं, काभ्रे, दोलखा जिल्ला पुग्नु पथ्र्यो। २०३० मा नयाँ शिक्षा योजना लागू भएपछि कृष्ण व्यवसायिक विद्यालयको नाममा पठनपाठन अघि बढ्यो। कुखुरापालन विषयमा पढाइ हुन्थ्यो। करिब आठ शैक्षिक सत्र यही विषयमा पढाइ भयो।

                २०३८/३९ मा व्यवसायिक शिक्षा हटेपछि कृष्ण मावि नामाकरण भयो। २०४६ मा विद्यालयकै पहलमा रत्नगंगा क्याम्पस स्थापना गरिएको थियो। स्थानीय स्व. रत्नध्वज प्रधानले क्याम्पस स्थापना गर्न तीन लाख ५० हजार रुपैयाँ धरौटीको व्यवस्था गरिदिएका थिए। उनकी पत्नि स्व. गंगाको दाइजोमा प्राप्त घर बेचेर धरौटी रकम जुटाइएको विद्यालयका शैक्षिक अगुवा श्रेष्ठ बताउँछन्। उनका अनुसार दाताकै सम्मानमा रत्नगंगा क्याम्पस नामाकरण गरिएको थियो। विद्यालयकै कक्षा प्रयोग गरेर प्रविणता प्रमाणपत्र तहको अध्ययापन हुने क्याम्पस सात वर्ष चलेको थियो।

                २०५४ मा १० जोड दुईको अवधारणा आएपछि क्याम्पसलाई विद्यालयमै प्रतिस्थापन गरेर कृष्ण रत्नगंगा मावि सुरु गरिएको थियो। निजी स्कुलका कारण सामुदायिकमा विद्यार्थी सुक्दै गएपछि श्रेष्ठ अध्यक्ष रहेका बेला उनकै नेतृत्वमा विद्यालयले अंग्रेजी माध्यम अंगिकार गरेको थियो। १६ वर्ष अध्यक्ष बनेर नेतृत्व दिएको विद्यालय भूकम्पले ढाल्दा कोही सबैभन्दा दुःखी बने भने ती श्रेष्ठ नै हुन्। ‘विद्यालयले अब शैक्षिक गुणस्तरमा फड्को मार्ने कार्यक्रम अघि सार्नु पर्छ,’ पुनर्निर्माणपछि विद्यालयलाई उनको सुझाव छ।

            

 

प्रकाशित: १४ पुस २०७६ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App