चेन्नाई- करुण नायरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित तेहेरो शतक पूरा गरेपछि भारतले इङल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टको चौथो दिन सोमबार २ सय ७० रनको अग्रता लिएको छ। नायरले तेहेरो शतक बनाएपछि भारतले ७ विकेट गुमाएर ७ सय ५९ रन बनाउँदा सोमबार पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतले इङल्यान्डविरुद्ध एकै इनिङमा बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।
नायर तेहेरो शतक पूरा गर्ने भारतका दोस्रो खेलाडी हुन्। ३ सय ८१ बल खेलेका नायरले ३४ चौका र ४ छक्का सहित अविजित ३ सय ३ रन बनाएका थिए।
स्टुवाट ब्रोडको बलमा जोए बट्लरबाट क्याच हुनुअघि रविचन्द्र अश्विनले ६७ रन बनाए। १ सय ४९ बल सामना गरेका अश्विनले ६ चौका र १ छक्का प्रहार गरेका थिए। रविन्द्र जडेजाले ५१ रन जोडे। लियाम डसनको बलमा ज्याक बेलको हातबाट समातिएका जडेजाले ५५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेका थिए।
चौथो दिनको समाप्तीमा इङल्यान्डले विना क्षति १२ रन जोडेको छ। कप्तान एलेस्टर कुक ३ र केटोन जेनिङ्स ९ रनमा अविजित छन्।
विहानी सत्रमा टेस्टको पहिलो शतक पूरा गरेका नायरले चिया सत्रमा २ सय रन पूरा गरिसकेका थिए। दिनको अन्तिम सत्रमा उनले तेहेरो शतक पूरा गरे। नायरको यो तेस्रो टेस्ट खेल हो।
३९१–४ को स्थितीबाट चौथो दिन सुरू गरेको भारतले मुरली विजयलाई २९ रनमा गुमाएको थियो। मुरली डसनको बलमा एलबिडब्लु आउट भएका थिए। त्यसपछि ब्याटिङका लागि आएका अश्विनले नायरसँग पाँचौ विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे।
तेस्रो दिन कुकले क्याच छोड्दा जीवनदान पाएका नायर २ सय १७ रनको अवस्थामा पुनः एक पटक भाग्यमानी सावित भए। ज्याक बेलको बलमा जोए रुटले क्याच छोड्दा नायर दोस्रो पटक आउट हुनबाट बचे।
भारतबाट यसअघि वीरेन्द्र सेहवागले दुई पटक तेहेरो शतक प्रहार गरेका छन्। सेहवागले २००४ मा पाकिस्तानविरुद्ध ३ सय ९ र यसै मैदानमा २००८ मा दक्षिण अफ्रिकाविरुद्ध ३ सय १९ रन बनाएका थिए।
प्रकाशित: ५ पुस २०७३ ०३:५७ मंगलबार