८ वैशाख २०८१ शनिबार
कला

रसिकको साहित्यिक कमब्याक

 इलाम -  सरकारी सेवादेखि संगीतमा सक्रिय साहित्यकार गणेश रसिक पुनः साहित्यिक क्षेत्रमा कमब्याक गर्दैछन्। विभिन्न पाँच वटा सिर्जना समेटिएको ‘पेरुंगो’ सहित उनी साहित्य क्षेत्रमा फर्किएका छन्। भोजपुरमा जन्मेका उनी साहित्य, कला, संगीत, राजनीति र जागिर सिलसिलामा देशभर घुमेर दशक अघि इलामको फिक्कल आएका थिए। फिक्कल बजारसँगै रहेको पान्दाम गाउँ बसोबास गरिरहेका उनले पुनः साहित्यिक यात्रामा अघि बढेका हुन्।

उनीद्वारा लिखित ‘दश गजामा उभिएर’, ‘आकाश गंगाको ओतमुनि’, ‘ताराभन्दा सपना धेरै’, ‘मुनियाँ र उसको छोरो’ तथा ‘छपक्कै मनमा बसेकाहरू’ कृति एकसाथ बजारमा आएको छ। ‘आकाश गंगाको ओतमुनि’ उपन्यास तराईको झोडामा बसोबास गर्ने नेपालीको कथा समावेश रहेको छ। विसं. २०३२÷३४ सालतिर पान्डुलिपि तयार गरिएपनि त्यतिबेला प्रकाशन गर्ने अवस्था नभएपछि भर्खरै बजारमा ल्याइएको उनले बताए। ‘झोडामा सरकारी दमन धेरै भइरहेको थियो। त्यतिबेला मैले यो पुस्तक छाप्नु आफ्नै लागि घातक हुनसक्थ्यो,’ उनले भने, ‘लामो समयपछि यो उपन्यास बाहिर आएको छ।’

झोडाको व्यथा, तत्कालीन नक्सलवादी आन्दोलन र नेपाल कम्युनिस्ट पार्टीको संघर्षलाई फ्युजन गरेर यो पुस्तक लेख्ने प्रयास गरेको र दोस्रो भाग लेख्ने तयारीमा रहेको पनि उनले बताए। अहिले सातौं संस्करण प्रकाशित भएको ‘दश गजामा उभिएर’ उनको जीवनका आरोह–अवरोहको संस्मरण हो। यो पुस्तकले विसं.२०६३ सालको पद्मश्री पुरस्कारसमेत प्राप्त गरेको थियो। ‘ताराभन्दा सपना धेरै’ गीत संग्रहमा उनको पुरानो कृति ‘रसिकका गीतहरू’मा समावेश केही र नयाँ अरू गीत समेटिएका छन्। ‘मुनियाँ र उसको छोरो’ मा १५ कथा संगृहीत छन्। ‘युवावस्थामा लेखिएका आवेगका केही र नयाँ कथा यसमा छन्,’ उनले भने, ‘युवा अवस्थामा जेसुकै पनि लेख्नुपर्छ भन्ने हुन्थ्यो। अहिले जेसुकै लेख्नुहुँदैन भन्ने सोचाइ आउन थालेको छ। अघि–पछिका दुवैखाले कथा यसमा राखिएका छन्।’

‘छपक्कै मनमा बसेकाहरू’ अरूभन्दा बेग्लै र नयाँ कृति हो। यसमा उनले आफूलाई रसिकका रूपमा चिनाउन अरूले गरेको योगदान लेखेका छन्। ‘मैले के गरें भन्ने होइन। मलाई कसले यत्तिको बनायो भन्नेबारे ती व्यक्तिसँग आफू जोडिएको कथा यसका लेखेको छु,’ उनी भन्छन्, ‘मलाई यत्तिको बनाउने व्यक्तिलाई म कहिल्यै ऋण तिर्न सक्दिनँ। यही कृति दिन सकें भन्ने लाग्छ।’ यसमा उनले साहित्यकार बालकृष्ण सम, मञ्जुल, रामेश लगायत १९ व्यक्तित्वको कथा लेखेका छन्।

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानको सदस्य–सचिवको कार्यकाल सकिएपछि उनी ‘पेरुंगो’ बोकेर कर्मथलो पान्दाम फर्किएका हुन्। विसं. २०२० सालमा सप्तरीको तत्कालीन राजविराज गाउँ पञ्चायतमा टाइपिस्टदेखि लिएर विसं.२०५२ सालमा साझा प्रकाशनको अध्यक्ष हुँदै भर्खरै प्रतिष्ठानबाट बिदा लिएका थिए। उनले ‘लहरा, पहरा, छहराको देश’, ‘तराई हेर कति राम्रो’, ‘म त त्यस्तो होइन नि पिरतीले जोगी बनायो’, ‘धेरै सम्झे धेरै हुन्छ’ र ‘मसँग एउटा तारा छ मायाको’ जस्ता दर्जनौं गीतहरू लेखेका छन्। करिब दुई सय गीतमा स्वर दिएका उनले डेढ सय गीतमा संगीत भरेका छन्।

उनका ‘जब सिस्नोहरू टेक्दै हिँडें’, ‘स्वाधीनताको पीडा’, ‘क्षितिजलाई छुन खोज्दा’ र ‘सारंगीभित्र बिलाउँदै गएको गीत’ जस्ता कृति प्रकाशित छन्। ‘दश गजामा उभिएर’ ले विसं. २०६३ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो। ‘म कुनै पनि क्षेत्रमा स्थिर रहन सकिनँ,’ उनी भविष्यको योजना सुनाउँछन्, ‘केही साहित्यिक कृति लेख्छु।’

प्रकाशित: १४ पुस २०७६ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App