coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर। तस्बिर : अर्जुन/नागरिक

बाँके (नरैनापुर) – बाहिरबाट झ्वाट्ट हेर्दा चिटिक्क परेको देखिने सुविधायुक्त भवन। यहाँ अस्पतालका लागि चाहिने भौतिक पूर्वाधारको कमी छैन। भवनभित्र प्रवेश गरिसकेपछि भने यहाँको अवस्था फरक देख्न सकिन्छ। स्वास्थ्य केन्द्रले अहिलेसम्म मेडिकल अफिसर (डाक्टर) र स्टाफ नर्स पाउन सकेको छैन। जिल्लाको विकट मानिने नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरले वर्षौदेखी डाक्टर र नर्स नहुँदा यहाँका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न नसकेको हो। मेडिकल अफिसर र स्टाफ नर्सको दरबन्दी भए पनि पदपूर्ति भएको छैन। सरकारले यसअघि कैयौं पटक मेडिकल डाक्टर पठाए पनि कोही बस्न मानेनन्।

डाक्टर र नर्स नहुँदा स्वास्थ्य केन्द्रमा तल्लो तहका कर्मचारीले काम चलाइरहेका छन्। ‘प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म एमबिबिएस डाक्टर र नर्सको मुख देख्न पाएका छैनौं,’ एक सर्वसाधारणले नागरिकसँग भने, ‘सामान्य बिरामी भए पनि कि भारतीय अस्पताल कि त नेपालगन्जका अस्पताल जानुपर्ने हामीलाई बाध्यता छ।’

प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको वर्षौ भइसकेको छ। स्थापना भएदेखि नै यहाँ डाक्टर बसेर बिरामीलाई सेवा दिएका छैनन्। हाल नयाँ सुविधायुक्त भवन निर्माण हुँदासमेत डाक्टरको मुख देख्न नपाएको उनले बताए। नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरमा ३ करोड १९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको थियो। स्वास्थ्य केन्द्रमा डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ। तर, अहिले यहाँ कार्यालय सहयोगीसहित ३/४ जना मात्र स्थानीय कर्मचारी कार्यरत छन्। स्थानीयका अनुसार केन्द्रमा अन्य कर्मचारी पनि नियमित रूपमा कार्यालयमा जाँदैनन्।

नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहित १३ जनाको दरबन्दी छ तर अहिले यहाँ कार्यालय सहयोगीसहित ३/४ जना मात्र स्थानीय कर्मचारी कार्यरत छन्।

नेपालगन्जबाट करिब ४३ किलोमिटर पूर्वमा भारतीय सीमासँग जोडिएको सो क्षेत्रमा मधेसी तथा मुस्लिम समुदायको बसोबास छ। कृषि र व्यापारमा निर्भर यहाँका सर्वसाधारणलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय जनप्रतिनिधिले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरसहितको जनशक्तिको पदपूर्ति गराउन यहाँका जनप्रतिनिधिले कसरत गरेकै छन्। तापनि स्वास्थ्य केन्द्रमा जनशक्तिको पदपूर्ति हुन सकेको देखिँदैन।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा एमबिबिएस डाक्टरसहित दरबन्दी भए पनि संघीय सरकारले नै पदपूर्ति नगरिदिएको दुखेसो पोखे। ‘डाक्टरका लागि धेरै पटक संघीय सरकारको मन्त्रालय र विभाग धाएँ तर खै किन हो नरैनापुरलाई हेर्ने सरकारको दृष्टिकोण नै फरक जस्तो लाग्यो,’ उनले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रका लागि सुविधायुक्त भवन त बन्यो तर यहाँका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिएको छैन।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले स्वास्थ्य केन्द्रमा डाक्टर र नर्स ल्याउने प्रयास भइरहेको बताए। ‘प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र नर्स ल्याउने प्रयास त भइरहेकै छ, ल्याए पनि उनीहरू बस्नै चाहँदैनन्,’ उनले भने। सो केन्द्र पहिले संघीय सरकार मातहत रहे पनि स्थानीय तह पुनर्संरचनापछि गाउँपालिकाले सञ्चालन गर्ने जिम्मा पाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह डाक्टरसहित दक्ष स्वास्थ्यकर्मी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरबाट स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको बताउँछन्।

प्रकाशित: १४ पुस २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App