coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेलम्बुमा ठडिँदै एकीकृत बस्ती

हेलम्बु गाउँपालिका–२ मा स्थानीय ह्योल्मो र दलित समुदायले ठड्याउँदै गरेको नोर्बुलिङ एकीकृत बस्ती। तस्बिर : ध्रुव/नागरिक

हेलम्बु (सिन्धुपाल्चोक) – टाकटाक, टुकटुकको आवाज आउनेगरी औजारको केही चर्को ध्वनि। दुवै आवाज आपसमा मिल्दा जातावरण गुन्जयमान छ। विभिन्न आवाज र बाजाले संगीतको धुन बनेजस्तै। पुसको ठन्डीमा पारिलो घाम लाग्दा दिन यसै पनि घमाइलो छ। न्यानो घाममा शरीर तताउँदै २४ वर्षीय फिन्जो शेर्पा रड काटेर रिङ बनाउँदै थिए। अलि पर ढुंगाको काममा थिए दिलबहादुर विक पनि।

शेर्पा र विक समाजमा चलिआएको जातपातको भेदभावबाट धेरै माथि उठेर एकै थलोमा बस्ने बाचा गर्दै भूकम्पले तहसनहस बनाएको बस्ती ठड्याउँदै छन्। हेलम्बु गाउँपालिका–२ मा ४० घरधुरीको नोर्बुलिङ एकीकृत बस्ती ठडिइरहेको छ। ह्योल्मो र दलित समुदाय एकीकृत बस्तीमार्फत गाउँको गुमेको चमक फर्काउन तल्लीन छन्। ह्योल्मो परम्परा कायम राख्दै एकै आकार र डिजाइनका घर ठडिँदै गर्दा बस्तीको मुहार क्रमशः फेरिँदै गएको छ।

नयाँ घर पाउने भएपछि फिन्जो खुशी देखिए। ह्योल्मो समुदायसँगै बस्न पाउने हुँदा दिलबहादुर अझ मख्ख देखिन्थे। ‘हेलम्बु क्षेत्रमा दलित भनेर कहिल्यै भेदभाव हुँदैन,’ गाडाबाट ढुंगा खन्याउँदै उनले भने, ‘अब त झन् एकै बस्तीमा बस्दैछौं।’ विगत ६० दिनदेखि बस्ती बसाउन खटिएको उनले बताए। ‘दुई–चार घर छरिएर बसेका थियौं। अब ठूलो बस्तीमा सँगै बस्न पाउने भयौं,’ रिङको नाप लिँदै फिन्जोले खुशी छचल्काए।

काठमाडौं बस्ने उनी गाउँ आएको बेला बस्ती निर्माणमा निस्किएका हुन्। सातादेखि गाउँका दाजुभाइसँग मिलेर काम गरिरहेका उनी अझै केही दिन बसेर सघाउने बताउँछन्। फिन्जो काममा निस्किएपछि लामो सयमदेखि बस्ती निर्माणमा खटिएका उनका बुबा र दाजु आराममा छन्। काठमाडौैमै बस्ने दाबा शेर्पा पनि केही दिनदेखि गाउँमै छन्। बस्ती निर्माणको रौनकले उनलाई घरभित्रै खुम्च्याउन सकेन, बरु हुटहुटी जगायो। ‘गाउँमा बस्ती डठ्याउने उत्साह छ,’ फिन्जोले बनाएको रिङ ओसार्दै गर्दा भेटिएका उनले रमिते बन्न मनले नदिएको सुनाए।

नोर्बुलिङका स्थानीय जनस्तरबाट एकीकृत बस्ती ठड्याउन जुटेका हुन्। १८ रोपनी क्षेत्रफलमा बस्ती बनिरहेको छ। माथिदेखिका तीन लहरमा १० र अन्तिमका दुई लहरमा पाँचवटाका दरले घर ठडिइरहेका छन्। प्रतिघरले ६ आना क्षेत्रफल ओगटेको छ। एकीकृत बस्ती विकास समितिका अध्यक्ष दाबा लामाले बस्तीमा पाँच दलित परिवार बस्ने बताए। उनका अनुसार जोखिममा रहेका गिजे टोलका ११ परिवार, खर्क, कोलामा र पासस गाउँका स्थानीय बस्तीमा यही बस्नेछन्। बस्तीका निर्माणाधीन १९ घर छाना छाउने चरणमा पुगिसकेका छन् भने १० घरको संरचना निर्माण आधाबाट माथि लागेको छ। बाँकी घरको जग तहसम्मको काम सकिएको छ।

सरकारले आवास पुनर्निर्माणमा दिने तीन लाख रुपैयाँ अनुदानबाटै स्थानीय एकीकृत बस्ती बसाल्न कस्सिएका हुन्। बस्तीमा बस्ने ३३ परिवार लाभग्राही सूचिमा समेटिएका छन्। बाँकी सात परिवारले गुनासो भरेको हेलम्बु क्षेत्र हेर्ने पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का असिस्टेन्ट सबइन्जिनियर मिलन ढुंगानाले बताए। उनका अनुसार नौ परिवारले दोस्रो किस्ता पाइसकेका छन् भने २६ परिवार पाउने प्रक्रियामा छन्।

अध्यक्ष दाबा दैनिक ६० जना निर्माणमा खटिइरहेको बताउँछन्। ‘१० जना मिस्त्री मात्र बाहिरबाट ल्याएका छौं। अरु सबै बस्तीमा बस्ने स्थानीय हुन्,’ उनले भने। परिवारको एक सदस्य अनिवार्य दैनिक काममा खट्नुपर्ने सर्त भए पनि तीन जनासम्म आउने गरेको उनले बताए। उनका अनुसार ल्होसार एकीकृत बस्तीको नयाँ घरमा मनाउने स्थानीयको चाहना छ। आउँदो माघमा ह्योल्मो समुदायले नयाँ वर्ष (ल्होसार) मनाउँदै छ।

स्थानीयले गोलाप्रथाबाट आफू बस्ने घर छानिसकेका छन्। ह्योल्मो परम्परा कायम राख्दै स्थानीयले सिफारिस गरेको घरको डिजाइन भने प्राविधिकले गरेका हुन्। ढुंगामाटो र काठपात प्रयोग गरी प्रविधि अपनाएर बनाइएका बस्तीका प्रत्येक घरमा ठूला आकारका तीन कोठा छन्। घरभित्रै शौचालय छ। मेसिनले काटेर लगाइएको सुरे ढुंगा गाह्रोले घरको आकर्षण बढाएको छ। एक घर–एक धाराको व्यवस्था मिलाइने बस्ती विकास समितिका सहसचिव जीवन लामाले जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न हुँदा प्रतिघर लागत १२–१३ लाख रुपैयाँ पुग्ने अनुमान छ। अनुदानबाहेक बाँकी रकम सम्बन्धित परिवारले नै बेहोर्ने उनी बताउँछन्। छानो छाउन सामुदायिक आत्मनिर्भर केन्द्र नामक संस्थाले प्रतिघर ३० हजार रुपैयाँका दरले सघाउने प्रतिबद्धता जनाएको छ। प्रतिरोपनी दुई लाख रुपैयाँ दरले जग्गा किनेर भूकम्प प्रभावितले गत भदौ ११ गतेदेखि बस्तीको काम अघि बढाएका हुन्। ‘बस्तीभित्र पशुचौपाया नपाल्ने सहमति छ,’ बस्ती विकास समितिका सदस्य छेसाङ लामाले भने। पशुचौपाया पालनका लागि बस्ती नजिक छुट्टै जग्गाको व्यवस्था गरी सामूहिक रुपमा आयआर्जनको कार्यक्रम सञ्चालन गर्ने सोच रहेको उनले जानकारी दिए।

प्रकाशित: १४ पुस २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App