८ वैशाख २०८१ शनिबार
समाज

चिटिक्क बन्यो थाक्ले एकीकृत बस्ती

मेलम्ची नगरपालिका–१२ बाँसवारीमा ठडिएको थाक्ले एकीकृत नमुना बस्ती। तस्बिर : ध्रुव/नागरिक

मेलम्ची (सिन्धुपाल्चोक) – चारवटा लहरमा ठडिएका मझौला आकारका एकै डिजाइनका घरहरू चिटिक्क देखिन्छन्। सबै घरमा लगाइएको हरियो रङको कर्कटपाताको छानाले चमक थपेकाले बस्तीको सुन्दरता झनै खुलेको छ। झट्ट हेर्दा उक्त बस्ती सैनिक ब्यारेकझैं लाग्छ।

भूकम्पले तहसनहस पारेको थाक्ले गाउँ एकीकृत नमुना बस्तीमा ३१ घरधुरी ठडिएसँगै मेलम्ची नगरपालिका–१२ बाँसबारीस्थित थाक्लेको मुहारै फेरिएको छ। यसै साता थाक्ले पुग्दा बस्तीमा घर बनाउने काम भर्खरै सम्पन्न गरेका स्थानीय अन्य पूर्वाधार निर्माणमा व्यस्त देखिन्थे। उनीहरू बस्तीको संरक्षण गर्न पर्खाल लगाउने, ड्रेन उठाउने, नाला बनाउने, हिमपाइप बिछ्याउने, बाटोको स्तरोन्नति गर्नेलगायत काममा जुटिरहेका थिए।

बस्ती पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर तामाङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्तीको पूर्वाधार विकास गर्न प्रतिघर तीन लाख रुपैयाँका दरले अनुदान दिएको बताए। ‘त्यसैबाट पूर्वाधार विकासको काम भइरहेको हो,’ उनले भने। उनका अनुसार मंसिरमै बस्तीमा घर बनाउने काम सकिएको थियो। त्यसयता पूर्वाधार विकासको काम भइरहेको हो।

बस्ती १७ रोपनीमा फैलिएको छ। आकर्षक पिँढी, फराकिला चार कोठा, घरभित्रै जडान गरिएको खानेपानी धारा र शौचालय थाक्ले बस्तीका विशेषता बनेका छन्। घरमा चोटाको समेत व्यवस्था गरिएको छ। यहाँ अन्नपात, सरसामाग्री राख्न तथा मान्छे बस्न, सुत्न मिल्छ। गाउँमा राखनधरनका दृष्टिले बस्तीका घर व्यावहारिक लाग्छन्। घरघरमा सडकको पहुँच पुगेकाले शारीरिक रूपमा अशक्त बनेको जोकोही व्यक्ति ह्विलचियर चढेरै सिंगो बस्ती परिक्रमा गर्न सक्छ।

एकीकृत बस्ती बनेकै स्थानमा भूकम्पअघि स्थानीयको बसोबास थियो। जग्गा सट्टापट्टामा मिलाएर गत वर्ष पुसको अन्तिम सातादेखि स्थानीयले एकीकृत बस्ती विकासको काम थालेका थिए। महिला आत्मनिर्भरता केन्द्रसँगको साझेदारीमा अक्सफाम नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती ठडिएको हो। घर निर्माणमा अक्सफामले सात लाख २५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको बस्ती विकास समितिका अध्यक्ष खिलबहादुर तामाङले जानकारी दिए।

‘पुनर्निर्माण सकिँदा श्रमदानसमेत प्रतिघर लागत १३ लाख रुपैयाँ पुग्ने अनुमान छ,’ उनले भने। उनका अनुसार साढे तीनदेखि चार लाख रुपैयाँ सम्बन्धित घरधनीले बेहोर्नुपर्ने देखिएको छ। विकासप्रतिको भोककै कारण गाउँ सल्लाहमै आफूहरुले एकीकृत बस्ती रोजेको उनले सुनाए। पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि बन्ने एकीकृत बस्तीको पूर्वाधार विकासमा सघाउने नीति लिएको छ। घर बनाउने काम सकिएकाले अक्सफामले बिहीबार मात्र समुदायलाई बस्ती हस्तान्तरण गरेको थियो। इन्टरलक इँटा प्रयोग गरी बनाइएका घर चिटिक्क देखिन्छन्। संस्थाले सुरुमा बनाएको घरको डिजाइनमा चोटा थिएन। चोटा नभएको घरगाउँमा व्यावहारिक नहुने भन्दै स्थानीयले थप्न लगाएका थिए। बस्तीका घरमा रङ लगाउने र बिजुली पानीको काम अन्तिमतिर पुगेको छ।

पूर्वाधार विकासको काम नै ५० प्रतिशत सकिएको प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का इन्जिनियर पुकार शर्माले जनाए। उनका अनुसार बस्तीको पूर्वाधार विकासमा पाँच करोड रुपैयाँ लाग्ने डिपिआर तयार भएको थियो। ‘तर प्राधिकरणको मापदण्डअनुसार प्राप्त थोरै रकमले धेरै काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने। शर्माका अनुसार बस्तीमा एउटा सामुदायिक भवन निर्माण गर्ने डिपिआर रहे पनि बनाउन बजेट पुग्ने देखिँदैन। बस्ती निर्माणमा स्थानीयले प्रतिघर तीन सय ६० जनाका दरले श्रमदान गरिसकेका छन्। पूर्वाधार विकासको काम भइरहेकाले श्रमदान गर्नेको संख्या अझ बढ्ने अध्यक्ष तामाङले बताए। आउँदो फागुनमा पर्ने आफ्नो समुदायको नयाँ वर्ष (ल्होसार) एकीकृत बस्तीमा मनाउने योजना रहेको उनले सुनाए। ‘एकीकृत बस्ती बसाईंको अनुभव बटुल्न उत्साहित छौं,’ उनले भने।

उनका अनुसार बस्तीमा पशुचौपाया पाल्न प्रतिबन्ध लगाइएको छ। बस्ती आसपासका स्थानीयको प्रशस्त जग्गाजमिन रहेकाले वस्तुभाउ त्यहीँ पाल्ने योजना बनाइएको छ। बस्तीमा बस्ने स्थानीयले आयआर्जनको अभ्यास पनि थालिसकेका छन्। तरकारी खेती र कुखुरापालन गरेर आयआर्जनमा हात हालेका हुन्। यसका लागि अक्सफामले नै स्थानीय बाँसबारी कृषि सहकारीमार्फत एकमुष्ट तीन लाख रुपैयाँ ऋण उपलब्ध गराएको थियो। त्यही रकमबाट १० हजार रुपैयाँसम्म ऋण लिएर उनीहरूले कृषि व्यवसाय अघि बढाइरहेका छन्। ‘आयआर्जनलाई पनि सामूहिक बनाउने योजना ल्याउँदै छौं,’ अध्यक्ष तामाङले भने।

प्रकाशित: १४ पुस २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App