बागलुङ - ‘पर्यटन वर्ष २०२०’ सुरु हुन लाग्दा पर्यकीय क्षेत्रको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। प्रर्यटन प्रवद्र्धन गर्न पर्यटकीय गन्तव्य गण्डकीको सभ्यतालाई बचाउनु पर्ने सरोकारावालाले धारणा राखे। बागलुङ महोत्सवको अवसरमा धौलागिरी समाज नेपाल, बागलुङ उद्याग वाणिज्य संघले शनिबार आयोजना गरिएको ‘गण्डकी सभ्यता बचाउ अभियान तथा धौलागिरीका पर्यटकीय गन्तव्यको पहिचान बिषयक अन्तरक्रियामा सहभागीले यस्तो धारणा राखेका हुन्। गण्डकी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल, नदी नालामा भैरहेको अतिक्रमण, प्रदूषणले पर्यटकीय स्थलको भविस्य संकटमा परेको भन्दै यसलाई बचाउनका लागि अभियान चलाउनु पर्ने बताए।
धौलागिरी पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा विश्वमा सभ्यताको विकास नदीहरुबाटै सुरु भएकाले मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता संकटमा परेको बताए। गण्डकी सभ्यताअन्तर्गत नदी किनारका पर्यटकीय स्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक साँस्कृतिक परम्परा, तिर्थस्थल,यहाँको जीवन पद्धति मुल्य मान्यतालाई संरक्षण गर्नुपर्ने धौलागिरी समाज नेपालका महासचिव गोविन्दप्रसाद शर्माले बताए। ‘गण्डकी सभ्यताभित्र धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक विषय पनि छन्,’ शर्माले भने, ‘प्रर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संरक्षण गर्नु जरुरी छ।’
पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीहरुको पनि सरसफाईमा सबैले ध्यान दिनुपर्नेमा सबैको जोड थियो। धौलागिरी समाज नेपालका अध्यक्ष तथा पूर्वमुख्य सचिव मुकुन्द शर्मा पौड्यालको अगुवाइमा केही समयअघि देखि गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिएको थियो। अनियान अन्तर्गत पर्यटकीय तथा धार्मिक महत्वबारे जानकारी गराउँदै स्थानीयको सहभागितामा पर्यटन प्रवद्र्धन, नदीनालामा ढल मिसाउन नपाइने, सरसफाइ अभियान सञ्चालन गरिएको छ।
स्वामी ऋषि प्रपन्नाचार्यले कालिगण्डकी नदीको दोहन, शालग्राम शिलाको चोरी निकासी तथा नक्कली शालग्रामको कारोबारले धार्मिक संकट पैदा गर्न थालेको बताए। नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा शहरको ढल समेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको बागमती जस्तो बन्ने खतरा रहेकोमा उनले चिन्ता व्यक्त गरे।
धौलागिरी पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियन्ता खिमानन्द कंडेलले धौलागिरीको पर्यटकीय सम्भावना रहेको बताए। सभ्यता बचाउन अभियान अन्तर्गत यस क्षेत्रका पर्यटकीय स्थल धौलागिरी हिमाल, काली गण्डकी नदीमा पाइने शालीग्राम, बागलुङमा रहेको गाजाको दह, पञ्चकोट, माग्दीको तातोपानी कुण्ड, गलेश्वर मन्दिरर, घोरेपानी, पर्वतको गुप्तेश्वर, गुल्मीको रुरु, स्याङ्जाको संगममा रहेको सेतीबेणी, पाल्पाको रानी महल, तनहुँ र चितवनको बीचमा रहेको देवघाटको प्रचार र संरक्षणमा ध्यान दिनुपर्ने सुझाब दिए।
दामोदर कुण्ड उद्गम भएर बगेको कालीगण्डकी नदी, सहायक नदीहरु रघुगंगा, आँधिखोला, बडीघाट, त्रिशूली जस्ता नदीहरु मिसिएर बनेको नारायणी नदीमा सरसफाइ अभियान सञ्चालन गर्ने योजना छ। मुक्तिनाथदेखि देवघाटसम्म पर्ने नदीको सरसफाइमा स्थानीयलाई प्रोत्साहित गर्ने अभियानको उद्देस्य रहेको गण्डकी सभ्यता बचाउ महाअभियानका सह–संयोजक केदरनाथ गौतमले बताए। दामोदर कुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पुलस्त्य आश्रम, निरयघाट, खुदुर्केघाट, सहस्रधारा, मोदीवेनी, जैमिनी घाट, बेलबगर, रुद्रवेणी, सेतीवेणी, रिडी रुरु क्षेत्र, ऋषिकेश्वर, रानीमहल, मिर्मी, राम्दीघाट, देवघाट, त्रिवेणी, गजेन्द्रमोक्ष जस्ता तीर्थस्थलको प्रचार गर्न सुरु गरिएको छ।
मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवा, कागवेनी, जोमसोम, मार्फा, टुकुचे, कोबाङ, लेत, म्याग्दीको भुरुङ तातोपानी, बेनी, दरवाङ, रघुघाट, राखु, बागलुङ बजार, काठेखोला, विहुँकोट, गल्कोट, हरिचौर, ताराखोला, खर्बाङ, ग्वालिचौर, बुर्तिवाङ, बरेङ, बलेवा, कुश्मिशेरा, बेलबगरलगायत बस्तीलाई यो अभियानमा जोडिएको छ। त्यसैगरी पर्वतको पारी बेनी, मल्लाज, कुश्मा, पातिचौर, डिमुवा, महाशिला, कार्कीनेटा, फलेवास बजार, पोखरा, दमौली, गोरखा, गुल्मीको तम्घास, पाल्पालाई पनि गण्डकी सभ्यता भित्रका बस्तीको रुपमा समेटिएको छ।
प्रकाशित: १४ पुस २०७६ ०२:५३ सोमबार