coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेढ तोला सुनका लागि वृद्धाको हत्या

पोखरा – डेढ तोला सुनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानकी ६६ वर्षीया चिजाकुमारी विकको हत्या भएको छ। म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–५ घर भई पोखरा–२५ हेमजामा बस्दै आएका खिमबहादुर श्रीपालीले ती वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ। ज्याला मजदुरी गर्दै आएका श्रीपालीले वृद्धाले लगाउँदै आएको डेढ तोला सुनको लोभले हत्या गरेको स्वीकारेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए। श्रीपालीले हत्या स्वीकारिसकेका छन्, ‘एसपी कार्कीले भने, ‘अहिलेसम्म सुन डेढ तोला भन्ने भएको छ तर अझै धेरै हो कि भनेर अनुसन्धान जारी राखेका छौं।’

खिमबहादुर गत पुस ६ गते साँझ आठ बजेतिर चिजाकुमारी विकको घरमा पुगेका थिए। रक्सी खाने निहुँले पुगेका उनले रक्सी लागेको बहाना बनाउँदै राति पौने १० बजे आजको राज यतै बस्नुप-यो भनेपछि चिजाकुमारीको नाति नाता पर्ने छिमेकीले भान्छाकोठामा ओछ्यान मिलाइदिएर आफ्नो घर गए। मादकपदार्थ सेवन गरेका उनले राति पौने १० बजेतिर टाउको र अनुहारमा झन्डै दुई किलोको ढुंगाले प्रहार गरी चिजाकुमारीको हत्या गरे। हत्यापछि खिमबहादुरले चिजाकुमारीले लगाएको सबै गहना निकालेर मृतकलाई ओछ्यानमा सुताएर ६ वटा सिरक र ब्ल्याङ्केटसमेत ओढाए। आफू भने घरको ढोकामा बाहिरबाट ताल्चा लगाएर हिँडे।

हत्यापछि खिमबहादुर राति हिँड्दै हेमजा आएर बसे। भोलिपल्ट बिहान पोखरा–२७ स्थित एक सुनचाँदी पसलमा आफूले लुटपाट गरेर ल्याएको मध्ये आधा सुन बेचे। बाँकी सुन लिएर तनहुँको ब्यास–२ पुगे। त्यहाँ उनले सोही दिन साँझ आफूसँग भएको सबै सुन बेचे। सुन बेचेर आएको रकमले नजिकैको फर्निचर पसलमा गएर खाटलगायत आवश्यक सामान खरिद गरेर तनहुँको ब्यास–१ स्थित एक घरमा कोठा भाडामा लिई बस्न थाले।

यता, प्रहरी भने हत्याको खबरलगत्तै हत्याराको खोजीमा जुट्यो। हत्या भएको दिन एक व्यक्ति राति बास बस्न पुगेको भन्ने खबर पाएपछि प्रहरीले अनुसन्धानको सुई त्यसतर्फ केन्द्रित ग-यो। नभन्दै प्रहरीले खिमबहादुरलाई तनहुँ ब्यास नगरपालिका–२ उत्तरशिला फिल्म हलनजिकैबाट पक्राउ ग-यो। अनुसन्धानका क्रममा उनले हत्या स्वीकारेको एसपी कार्कीले बताए। ‘हत्या मात्रै हो वा हत्याअघि बलात्कार वा बलात्कारको प्रयास पनि भएको हो भन्नेतर्फ पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

हत्या अभियोग लागेका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। उनलाई हत्यासहित चोरी–डकैती मुद्दा दायर गरिने एसपी कार्कीले बताए। प्रहरीले खिमबहादुरसँग सुन खरिद गर्ने सुन पसलेहरूलाई पनि पक्राउ गरेको छ। सुन खरिद गरेको बिल भर्पाई नभई सुन खरिद गर्न नपाइने नियम हुँदाहुँदै बिनाबिल भर्पाई सुन खरिद गरेकाले उनीहरूविरुद्ध पनि मुद्दा दर्ता गरिने एसपी कार्कीको भनाइ छ।

हत्या अभियोग लागेका खिमबहादुर मजदुरी गर्ने क्रममा महिलाहरूसँग सम्पर्क बढाई बिहे गर्ने आश्वासन दिदै सँगै बस्ने र पछि छाडेर भाग्ने गर्नुका साथै साथीभाईसँग पनि सरसापट गरेर पैसा नतिरी हिँड्ने स्वभाववाला भएको अनुसन्धानका क्रममा खुलेको एसपी कार्कीले बताए।

प्रकाशित: १४ पुस २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App