८ वैशाख २०८१ शनिबार
खेल

चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा

काठमाडौं – राजधानीमा जारीसहित स्मारक ‘ए’ डिभिजन लिगमा सोमबारबाट चौथो चरणका खेल हुँदै छन्। जसअन्तर्गत सोमबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले मच्छिन्द्र क्लबको सामना गर्दै छ भने दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले साबिक च्याम्पियन मनाङ मस्याङ्दीसँग खेल्दै छ।

चौथो चरणका सबै खेल ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सञ्चालन हुँदै छन्। यसअघि दशरथ रंगशालामा तय भएको खेललाई एन्फा कम्प्लेक्समा सारिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भ्रमण वर्षको उद्घाटन समारोह गर्ने सरकारको घोषणापछि प्रतियोगितास्थल एन्फा सारिएको ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।

‘भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा हुने भएपछि हामीले यसअघि नै तय भएका प्रतियोगितालाई  एन्फा कम्प्लेक्समा सारेका हौं,’ लिग निर्देशक मिश्रले भने, ‘समयलाई मिलाएर हामीले एन्फा कम्पलेक्समा सञ्चालन गर्नेछौं।’ १४ क्लबको सहभागिता रहेको लिगमा तेस्रो चरणका खेल सम्पन्न हुँदा साबिक च्याम्पियन मनाङ मस्र्याङ्दी स्पष्ट जितका साथ तालिकाको शीर्ष स्थानमा छ। ९ अंक बनाएको मनाङभन्दा थ्री स्टार २ अंकले पछि रहँदै दोस्रो स्थानमा छ। २ खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्री स्टार ७ अंकका साथ तालिको दोस्रो स्थानमा छ।

यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो। दुई खेलमा जित र एक खेलमा बराबरी खेलेकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। गणितीय समीकरणमा ७ अंक भए पनि यसअघि सम्पन्न रेलिगेसनबिनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो। समान ६ अंक भएको आर्मी गोलअन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ। आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ।

तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न तीनमध्यै सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा निकाल्दै तालिकामा अंक जोडेका छन्। जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखल सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन्। उनको क्लब च्यासलले सम्पन्न तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा पराजित भएको छ। तीन गोल गरेका सन्तोष शतक गोलको नजिक छन्। यसअघि कुनै पनि खेलाडीले लिगमा शतक गोल बनाउन सकेका छैनन्। सन्तोषलगायत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गर्दा अस्ट्रेलिया बस्दै आएका राष्ट्रिय पूर्वखेलाडी जगजित श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन्। यस्तै नेपाल पुलिसका रविन श्रेष्ठले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन्। यसअघि उनी खुट्टाको चोटका कारण मैदानबाहिर थिए। यस्तै लिगमा नयाँ खेलाडीले पनि मौका पाएका छन् भने केही खेलाडीले आपूmमाथि प्रमाणित गर्ने अवसर पनि पाएका छन्।

साढे चार वर्षपछि दशरथ रंगशालमा फुटबल खेल फर्किए पनि दर्शकको रौनक भने तेस्रो चरणको समाप्तिसम्म फर्किएको छैन। दक्षिण एयिाली खेलकुद सागमा दर्शकले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए। तर लिगमा भने साथ शून्यप्रायः छ। एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमणदेखि राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ।

दोस्रो चरणको समाप्तिमा घोषणा गरेको दर्शक उपहार योजना तेस्रो चरणको समाप्तिमा घोषणा गर्ने भने पनि विशेष कारण देखाउँदै आयोजक एन्फाले उक्त अफरलाई चौथो चरणको समाप्तिमा सार्वजनिक गर्ने जनाएको छ। आयोजका एन्फाले पनि लिगको रौनकतालाई त्यति राम्रोसँगै प्रचारप्रसार गर्न सकेको छैन। दशरथ रंगशालामा खेल सञ्चालन गरे पनि फाटफुटले मात्र लिग हेर्न आउने गरेका छन्।

आजका खेल
एन्फा कम्प्लेक्स
टोली     समय
एनआरटीविरुद्ध मच्छिन्द्र    ११ः३० बजे
फ्रेन्ड्सविरुद्ध मनाङ मस्र्याङ्दी    ३ः०० बजे

प्रकाशित: १४ पुस २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App