१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मीको जितमा शर्मिला नायक

धनकुटा – शर्मिला थापाको पाँच गोलको मद्दतले वराहक्षेत्रलाई १०–० ले पराजित गर्दै नेपाली सेनाको महिला फुटबल टोली धनकुटामा जारी सहिद रिदामाहाङ रामालिहाङ प्रथम गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आर्मीले विपक्षी टोलीलाई सुरुदेखि नै दबाबमा राखेको थियो। अधिकांश राष्ट्रिय खेलाडी रहेको आर्मीले खेल सुरु भएको साताैं मिनेटमै शर्मिला थापाको गोलबाट अग्रता लिएको थियो।  एक मिनेट नबित्दै  शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरिन्। १६औं  मिनेटमा आर्मीकी सपना लामाले गोल थपिन्।

निरन्तर विपक्षीको पोस्टमा आक्रमण बुन्न सफल आर्मीले  २२औ मिनेटमा अर्काे गोल थप्यो। विमला चौधरीले गोल गरिन्। चौधरीले नै २४औ मिनेटमा अर्काे गोल थपिन्। खेलको २६औं मिनेटमा शर्मिलाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याक्ट्रिक पूरा गरिन्। उनले विपक्षी टोलीको गोलकिपर अनु बस्नेतको हातबाट रिबाउन्ड भएको बललाई सजिलै जाली चुमाउन सफल भइन्। यद्यपि मध्यान्तरअघि दुई निश्चित गोल वाराहका गोलरक्षक अनु बस्नेतले बचाइन्। खेल सकिन केही मिनेट बाँकी हुँदा आर्मीकी रश्मि घिसिङको सशक्त प्रहारलाई गोलकिपर बस्नेतले बचाइन्।

मध्यान्तरअघि ६–० को अग्रतामा रहेको आर्मीले खेलको ४९औ मिनेटमा आर्मीकी रश्मि घिसिङको हेड गोलमार्फत जितअन्तर अझ फराकिलो पा-यो।  खेलको ५८औं मिनेटमा आर्मीका शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दै आफ्नो टोलीलाई ८–० कोे अग्रतामा पु-याइन्। त्यसको एक मिनेट नबित्दै उनै शर्मिलाले व्यक्तिगत पाँचांै गोल गरिन्।  ७६औ मिनेटमा आर्मीका पूजा रानामगरले गोल गर्दै  जितअन्तर १०–० मा पु-याइन्।

प्रतियोगिताकी वुमन अफ द म्याच आर्मीकी शर्मिला थापालाई ट्रफीसहित नगद रु तीन हजार रुपैयाँ धनकुटा नगरपालिका वडा नं ८ का वडाध्यक्ष सुमन आठपहरियाले प्रदान गरे। सोमबार नेपाल पुलिस क्लब र उदयपुरको वसाहा राइजिङ युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

धकुटा नगरपालिकामा मात्र बसोबास गर्ने आठपहरिया जातिले दशैं नमनाएको आरोपमा तत्कालीन शासकले रिदामाहाङ–रामालिहाङ राईलाई झुन्ड्याएर मारिएको भन्दै उनीहरुको सम्झनामा खेल सुरु गरिएको हो।

प्रकाशित: १४ पुस २०७६ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App