coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धमाधम धोका दिँदै पाइलट

काठमाडौं- प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्। पछिल्ला केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन वरिष्ठ पाइलट उड्डयन नियमविपरीत 'अग्रिम जानकारी' बिनै जागिर छाडेर अन्य कम्पनीमा गएपछि उनीहरूमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका छन्।

सेवा–सुविधा बढी पाएको भन्दै यती एयरलाइन्स, बुद्ध एयर, सिमि्रक एयरलाइन्स, सौर्य एयरलाइन्स, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हेलिकोप्टर सेवाप्रदायक कम्पनी माउन्टेन हेलिकोप्टर्सका वरिष्ठ पाइलट अन्यमा गएका छन्। यसक्रमले कम्पनी–कम्पनीबीच 'वैमनश्य' समेत बढेको छ।

सम्बद्ध कम्पनीका अनुसार यतीका प्रशिक्षक पाइलट प्रफुल्ल वैद्य र राजेश श्रेष्ठ तथा क्याप्टेन राजुसिंह महर्जन अर्को वायुसेवा कम्पनी श्री एयरलाइन्स गएका छन्। त्यस्तै बुद्ध एयरका क्याप्टेन प्रबल सिंह निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा गएका छन्।

सौर्य एयरलाइन्सबाट क्याप्टेन प्रज्ज्वल अधिकारी श्री एयरलाइन्स गएका छन् भने माउन्टेन हेलिकोप्टर्सका क्याप्टेन सुरेन्द्र थापा हालै सञ्चालनमा आएको नयाँ हेलिकोप्टर कम्पनी अल्टिच्युड हेलिकोप्टर्समा जान लागेको स्रोतले जानकारी दियो।

त्यसबाहेक, नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रविन्द्रपुरुष ढकाल हिमालय एयरलाइन्स गएपछि विवाद उत्पन्न भएको थियो। निगमले ढकालको राजीनामा अस्विकृत गरी काममा फर्कन निर्देशन दिए पनि उनले अटेर गरेका थिए। यसबारे निगम र उनीबीच समस्याको छिनोफानो भइसकेको छ।

सिमि्रकका क्याप्टेन केशव सिलवाल पनि अन्य कम्पनीमा गएपछि विवाद उत्पन्न भएको थियो र दुवैबीच अहिले आपसी सहमतिमा कुरा टंुगिइसकेको छ।

ठूलो लगानी गरी तयार पारेका पाइलट तथा इन्जिनियरले ऐन–नियमविपरीत धमाधम छाड्दै अन्य वायुसेवामा काम गर्न थालेपछि नियमअनुसार कारबाही गरिदिन सम्बद्ध कम्पनीले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेका छन्।

'सम्बद्ध वायुसेवाबाट उजुरी परेपछि पाइलटहरूले अग्रिम जानकारीबिना काम छाडेका कम्पनी र ती पाइलटलाई जागिर दिने कम्पनीका जिम्मेवार अधिकारीलाई आमनेसामने राखेर बैठक गर्‍यौं,' प्राधिकरणका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'छलफलपछि वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश– २०७० कडाइसाथ पालना गर्न निर्देशन दिएका छौं।'

प्राधिकरणले पाइलट र इन्जिनियर मात्र नभई वायुसेवा कम्पनीलाई समेत कस्ने गरी तयार पारेको उक्त नियम संशोधनपछि गत असोज ७ बाट कार्यान्वयनमा आएको थियो। तर तीन महिना नपुग्दै पाइलटहरूले उक्त नियम लत्याउँदै धमाधम काम छाडेका हुन्।

प्राधिकरणले तयार पारेको नयाँ नियमअनुसार कुनै पनि पाइलट र इन्जिनियरले काम गरिरहेको कम्पनीबाट जागीर छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघि नै लिखित जानकारी दिनुपर्छ। त्यसबाहेक कुनै पनि वायुसेवा वा हेलिकोप्टर सेवाप्रदायक कम्पनीले पाइलट वा इन्जिनियरलाई तलब–भत्ता समयमै नदिए वा बाँकी राखे त्यस्ता कम्पनीको उडान रोक्न सक्ने तथा सेवाबाट हटाउनुपरे एक वर्षअघि नै जानकारी दिनुपर्छ। नयाँ नियम आउनुअघि तीन महिनापहिले मात्र जानकारी दिएर राजीनामा दिन पाइन्थ्यो।

'पाइलट, इन्जिनियर र वायुसेवा कम्पनी सबैलाई सहज होस् र उड्डयन क्षेत्र थप सुरक्षित होस् भनेर नयाँ नियम कार्यान्वयनमा ल्याएका थियौं तर अधिकांशले पालना गरेको पाइएन,' प्राधिकरणका ती अधिकारीले भने, 'पछिल्लोपटक देखिएको अस्वस्थ प्रतिस्पर्धाले हवाई सेवा उद्योग गम्भीर समस्यामा पर्ने निश्चित छ।'

पाइलट वा इन्जिनियर एक वर्षमै तयार गर्न सकिँदैन। उनीहरूलाई विदेशमा तालिम दिलाउनुपर्छ। उस्तै परे जहाज निर्माता कम्पनीमै गएर तालिम दिलाउनुपर्छ। यसमा वायुसेवा कम्पनीको लाखौं/करोडौं खर्च हुन्छ।

'ठूलो पुँजी र लामो प्रयासपछि स्थापना भएका वायुसेवा वा हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई कुनै व्यक्तिको सनकको भरमा अप्ठेरोमा पार्न पाइँदैन,' सम्बद्ध एक अधिकारीले भने, 'र, सँगसँगै वायुसेवा कम्पनीले पनि पाइलट र इन्जिनियरको सेवा सुविधामा ध्यान दिनुपर्छ। त्यसकारण उड्डयन क्षेत्रलाई जोगाउन कडा नियम कार्यान्वयनमा ल्याइएको हो।'

स्रोतका अनुसार वायुसेवा कम्पनीबीच जहाज वा हेलिकोप्टर उडाउने पाइलट र मर्मत गर्ने इन्जिनियरलाई बढीभन्दा बढी तलबसुविधाको प्रस्ताव गर्दै 'तानातान' गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ। यसबाट अस्वस्थ प्रतिस्पर्धा बढेको मात्र नभई उड्डयन सुरक्षामा खतरा बढेको छ।

'तालिम लिएर पोख्त भएर आउने अनि केही समयमै काम गरेको कम्पनी छाडेर अर्को कम्पनीमा जाँदा सम्बद्ध कम्पनीलाई मर्का पर्छ,' पीडित कम्पनीका एक अधिकारीले भने, 'उड्डयनजस्तो संवेदनशील उद्योगमा यस्तो समस्या आउनु राम्रो लक्षण होइन।'

प्राधिकरणले संशोधनपछि कार्यान्वयनमा ल्याएको वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश– २०७० अनुसार वायुसेवा कम्पनी र चालक वा इन्जिनियरबीच सर्त–सुविधासम्बन्धी अन्य व्यवस्था कर्मचारी नियमावली वा करारमा उल्लेख गरिएको भए सोहीबमोजिम हुनेछ।

यस्तो अवस्थाबाहेक मनलागी ढंगले वायुसेवा कम्पनी छाड्ने वायुयान चालक वा इन्जिनियरको इजाजतपत्र उपयोगमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले आवश्यकताअनुसार रोक लगाउन सक्नेछ। यसमा नयाँ कम्पनीले पनि पाइलट र इन्जिनियरलाई समयमै तलब–भत्ता दिनुपर्ने र हटाउनुपरे एक वर्षअघि नै अग्रिम जानकारी दिनुपर्नेछ।

त्यसबाहेक वायुसेवा कम्पनीले वायुयान सञ्चालनका सिलसिलामा वायुयान चालक तथा इन्जिनियरलाई सीप तथा दक्षता अभिवृद्धि गराउन तालिमको आवश्यकता महसुस गरी कम्पनीले आफ्नै खर्चमा पठाउँदा लागेको रकमबापत कम्पनीमा निश्चित अवधिसम्म काम गर्नुपर्ने सर्त राखी व्यवस्थापनले तालिममा जानेलाई बन्ड (प्रतिज्ञापत्र) गराउने सक्ने उक्त आदेशमा छ।

'वायुसेवा कम्पनीसँग बन्ड गरेको वायुयान चालक तथा इन्जिनियर बन्डको अवधि कायम रहेसम्म आफू कार्यरत कम्पनी छाडी अन्य वायुसेवा कम्पनीको सेवामा प्रवेश गर्दा आफू कार्यरत कम्पनीको स्वीकृति अनिवार्य प्राप्त गरेको हुनुपर्नेछ,' आदेशमा छ, 'यसरी साबिक कम्पनीको स्वीकृति प्राप्त नगरी सेवा छाड्ने वायुयान चालक वा इन्जिनियरले यसबाट कम्पनीलाई कुनै हानि–नोक्सानी हुन गए त्यसको क्षतिपूर्ति बेहोर्नुपर्नेछ।'

प्रकाशित: ५ पुस २०७३ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App