७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेससँग नजिकिदै समाजवादी

फाइल तस्बिर

काठमाडौं - सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्। सरकारको कार्यशैलीविरूद्ध सहकार्य गर्न प्रस्तावसहित नेताहरूले कांग्रेसका नेताहरूसँग संवाद र छलफल सुरु गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवलाई भेट्न समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष उपेन्द्र यदव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बिहीबार साँझ देउवा निवास बूढानीलकण्ठ पुगेको थिए। छलफलमा कांग्रेस उपसभाति विमलेन्द्र निधि पनि थिए।

समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग भेट भएको स्वीकार गरे। तर भेटबारेमा थप बोल्न चाहनेनन्। भेटको विषयवस्तबारे पनि उनले केही बोलेनन्। तर समाजवादी पार्टीका महासचिव रामसाहाय यादवले समाजवादी पार्टीले उठाएको माग र अजेन्डा कार्यान्वयन गर्न जो सुकै पार्टीसँग पनि कुराकानी गर्ने बताए। राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भने भैनसकेको उनले बताए। उनले भने, ‘कांग्रेस र समाजवादी पार्टीले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरे पनि हामी बहुमतमा पुग्ने स्थिति देखिन्न।’

समाजवादी पार्टी सरकारबाट बहिर्गमन मात्र भएको छैन, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। समाजवादीबाट सरकारमा प्रीतनिधित्व गरेका उपेन्द्र यादव र इस्तिायक राईले मन्त्रीपदबाट राजीनामा दिएको भोलिपल्टै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनीहरूले कांग्रेससँग भेट गरेका हुन्। समाजवादी पार्टीले उठाएको संविधान संशोधनको मुद्दामा सरकार तयार नभएको भन्दै ऊ सरकारबाट बाहिरिएको थियो।

स्रोतका अनुसार कांग्रेस र समाजवादी पार्टीका नेताबीचको भेटवार्तामा समाजवादीका नेताहरूले सरकारको कार्यशैली निरकुंश र तानाशाही भएको भन्दै यस्तो शैलीको विरोधमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिनुपर्ने राखेका थिए। सो प्रस्तावलाई कांग्रेसका नेताहरूले सकारात्मक मान्दै छलफल र संवाद जारी राख्नुपर्ने बताएको स्रोतको भनाइ छ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा कांंग्रेसका १९ जना प्रदेशसभा सांसद र ८१ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख छन्। यसैगरी समाजवादीका ३० जना प्रदेश सांसद र ५२ जना स्थानीय तहमा प्रमुख÷उपप्रमुख छन्। यसैगरी, प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीका ३२ जना प्रदेश सांसद र स्थानीय तहमा प्रमुख/उपप्रमुख ८३ जना छन। यसैगरी प्रदेश २मा राजपाका प्रदेश सांसद २५ र स्थानीय तहमा प्रमुख÷उपप्रमुख ५४ जना छन्। यसबाट राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपाको गठबन्धन बहुमतमा पुग्ने सम्भावना देखिएको छ।

समाजवादी र राजपाबीच दूरी बढ्यो
यता, सरकारबाट बर्हिगमनपछि समाजवादी पार्टी र राजपाबीच दूरी बढेको छ। पार्टी एकीकरण प्रक्रिया पनि स्थगित भएको छ। अहिले दुई पार्टीका नेताहरूले एक–आपसमा आराप प्रत्यारोप गरेका छन्। समाजवादीले विज्ञप्ति निकाली राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसँगको भेटमा राष्ट्रियसभाको निर्वाचनका सम्बन्धमा कुनै छलफल नभएको जनाएको छ। विज्ञप्तिमा अध्यक्ष यादवले महतोसँग भेट गरेको तर राष्ट्रियसभाको निर्वाचनको विषयमा कुनै कुराकानी नभएको बताइएको छ।

‘राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपा सहकार्य गर्ने प्रस्ताव गरेको र सो प्रस्ताव समाजवादी पार्टीले अस्वीकार गरेकोले नै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग राजपाले चुनावी एकता गरेको भनी छलफल नै नभएको विषयलाई सञ्चार माध्यमद्वारा बारम्बार प्रचारप्रसार गरी राजपाका अन्य नेता तथा कार्यकर्ता र जनतामा समेत भ्रम फैलने गरी बद्नियतपूर्ण ढंगले झूठो, भ्रमपूर्ण मनगढन्ते र कपोकल्पित प्रचार गरेको कुरा थाहा हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

हुँदै नभएको कुरालाई यसरी बारम्बार बोल्नु, प्रचारप्रसार गर्नु अत्यन्त गलत र विद्वेषपूर्ण अभिव्यक्ति दिनु गलत राजनीतिक कार्य भएकाले यस्तो भ्रमात्मक प्रचारमा विश्वास नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ। समाजवादीको दाबीलाई राजपाका नेताहरूले भने खण्डन गरेका छन्। ‘समाजवादी पार्टीका अध्यक्ष यादवले जसरी राष्ट्रियसभाको निर्वाचनमा कुराकानी भएको छैन भनेर विज्ञप्ति निकाल्नुभएको छ। यो उहाँले ढाट्नु भएको छ,’ राजपाका महासचिव केशव झाले भने, ‘राष्ट्रियसभाको चुनावको विषयमा राजपाले नेकपासँग सहमति गर्नुअघि राजपाा शीर्ष नेताले समाजवादी पार्टीसँग यस विषयमा कुराकानी गर्नुभएको थियो। तर यादवले नेकपासँग सहकार्य गर्न चाहनुभएको थियो।’

राजपाका नेताहरूले यसअघि समाजवादी पार्टीले सरकार छाडेमा समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण हुने बताउँदै आएका थिए तर अहिले समाजवादी पार्टीसँग एकीकरण गर्न राजपाका नेताले त्यती चासो देखाएका छैनन। राजपाका एक पदाधिकारीले भने, ‘समाजवादी पार्टी सरकारबाट बाहिरिएको पार्टी एकीकरणका लागि होइन। यो भनेको सरकारबाट बाहिरिन समाजवादी पार्टीलाई बाध्य बनाइएको हो।’

प्रकाशित: १४ पुस २०७६ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App