७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधन नभएसम्म असोज ३ गते संविधान जलिरहन्छः लक्ष्मण थारु

मन्तव्य राख्दै लक्ष्मण थारु । तस्बिरः महेश्वर

उदयपुर- थरुहट–थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले नेपालको संविधान जनभावना अनुकुल संशोधन नभएसम्म हरेक असोज ३ गते संविधान जलिरहने बताएका छन्। उदयपुरको जोगीदहमा आइतबारदेखि सुरु ‘थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलन’को उद्घाटन गर्दै थारुले देशवासीको जनभावना अनुसार संविधान संशोधन गर्नुपर्ने माग गरे।

०७२ असोज ३ गते घोषित नेपालको नयाँ संविधानमा थारु, मधेसी र आदिवासी जनजातिको हक अधिकार र ऐतिहासिक जनआन्दोलनले निर्दिष्ट गरेका विषयहरु धेरै छुटेको भन्दै उनले ती कुराहरु समेटेर छिटटै संविधान संशोधन गर्नुपर्ने माग गरे। जनभावना अनुसार संविधान संशोधन नभएसम्म पटकपटक जलिरहने चेतावनी थारुले दिए। ‘संविधानमा १० वर्षे जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलन र पटकपटक भएका मधेसी, थारु, जनजाति आन्दोलन र राज्यसँग भएको सम्झौता र सहमति समेटिएको छैन’ थारुको चेतावनी थियो ‘ती कुराहरु समेटेर संशोधन नभएसम्म हरेक असोज ३ गते संविधान जलिरहनेछ।’

उनले संविधान संशोन नभएसम्म त्यसको विरोध गर्दा शासकले सके जेल हालोस् नसके आन्दोलन भईरहने चेतावनी पनि दिए। संविधानको धारा ५६ पल्टाएर हेर्न प्रधानमन्त्रीलाई सुझाउँदै थारुले धारा ५६ को उपधारा ५ बमोजिम ‘भाषिक, सामुदायिक र सांस्कृतिक स्वायत्तता दिने’ उल्लेख भएको कुरालाई कुनै पनि आदिबासी जनजातिले स्वायत्तता नपाएको गुनासो गरे। थारु स्वायत्तता नदिएको संविधानलाई थारुहरुले मानिरहनु पर्ने कुनै बाध्यता नभएको उनको भनाइ थियो। संविधान जस्ताको तस्तै मान्न तयार नभएको भन्दै संशोधन नभएसम्म मेचीदेखि महाकालीसम्मका थारुहरु जुटेर आन्दोलनको ज्वारभाटा सिर्जना गरिरहने चेतावनी उनको थियो।

थारुले टीकापुरको आन्दोलन थरुहट आन्दोलनकै सिलसिलामा भएको भन्दै तर, सो घटनालाई जातिय हिंसासँग जोडेर जननिर्वाचित सांसद रेशम चौधरीलगायत २७ जनामाथि राज्यले झुटो मुद्दा लगाएकको आरोप लगाए। उनले उनीहरुमाथिको मुद्दा तत्काल फिर्ता गर्न माग गर्दै फिर्ता नलिए फागुनदेखि आन्दोलनको सुनामी ल्याउने चेतावनी दिएका छन्।

कार्यक्रममा मोर्चाका केन्द्रीय सल्लाहकार तथा थारु कल्याणकारिणी सभाका पूर्व महासचिव राजकुमार लेखीले थरुहट अभियान जाति, समुदाय वा कुनै पार्टीविरुद्ध नभएको भन्दै संघीय, प्रदेश र स्थानीय सरकारमा थारु नेतृत्वको कमी पूरा गर्न चलाइएको बताए। उनले थारु समुदायमा नेतृत्व स्थापित गर्नका लागि चलाइएको अभियान तराईका २४ वटै जिल्लामा सम्पन्न भईसकेको जानकारी दिए। माग सरकारले पूरा नगरेसम्म अभियान चलिरहने उनले बताए।

कार्यक्रममा मोर्चाका केन्द्रीय महासचिव तुलसी चौधरी, त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरी, चौदण्डीगढी नगर उपप्रमुख रीताकुमारी चौधरी र मोर्चाका केन्द्रीय सदस्यहरुलगायतले थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनमा विकास गरेर अधिकार प्राप्तीको माध्याम बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्मेलन उद्घाटनको अवसरमा दक्षिण एसियाली गेम (साग) मा विजेता बिभिन्न १६ थारु पदकधारी खेलाडीलाई सम्मान गरिएको थियो। सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए।

प्रकाशित: १३ पुस २०७६ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App