७ वैशाख २०८१ शुक्रबार
समाज

शनिबार भैरहवामा यस वर्षकै न्यून तापक्रम

भैरहवा- विगत केही दिनदेखि बढेको चिसो र शितलहरले भैरहवासहित अधिकांश तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ। शनिबारदेखि बढेको चिसोसँगै बिहान साँझ बाक्लो हुस्सु दिनभरि कुहिरो र हावाले दैनिक काम प्रभावित हुन थालेको छ। चिसो हावाले न्यून मात्रामा नागरिकहरु घरबाहिर निस्केका छन्।

भैरहवाको आइतबार अधिकतम तापक्रम १० डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने न्यूनतम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। दिनभरि पश्चिमी हावा चलेकोले चिसो बढेको छ सरदरमा ५ देखि ६ नट इकाईमा हावो मापन भएको छ। भिजीबिलीटी विहान पख १०० मिटर भए पनि दिउँसो १७०० सम्म पुगेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ।

विमान उडानका लागि कम्तिमा १६०० मिटरको भिजीविल्टी चाहिन्छ आइतबार ३ बजे भिजीबिलीटी भएपछि केही उडान मात्र भएको छ। शनिबार भैरहवाको तापक्रम यो वर्षकै सबै भन्दा कम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय भैरहवाका प्रमुख राममणि मिश्रले बताए।

हवाई सेवा अवरुद्ध
बढ्दो कुहिरो र हुस्सुले जनजीवन मात्र होइन हवाई सेवा पनि अवरुद्ध भएको छ। भिजीबिलीटी कम भएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट शनिबार कुनै पनि उडान र अवतरण भएको छैन। आइतबार ४ बजेसम्म मौसममा केही सुधार आएपछि २ वटा उडान भएको भैरहवास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जानकारी दिएको छ।

बिरामीहरु पनि बढ्दै
जाडो बढेसँगै अस्पतालमा आउने बिरामीहरुको संख्या पनि ह्वात्तै  बढेको छ। मौसम चिसो भएको कारण बालबालिकामा रुघाखोकी, निमोनिया, आगोले पोलेर र झाडा पखालाजस्ता पाचनसम्बन्धी रोगका बिरामीहरुको संख्या बढेको भिम अस्पताल भैरहवाका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। बृद्धबृद्धाहरुमा हाडजोर्नी दुख्ने, बाथको समस्या, ब्लड प्रेसर दमका रोगी, पेट दुखाई, मुटु रोगका  बिरामीलाई अलि बढि समस्या देखिएको उपाध्यायले बताए। चिसोले रोगको प्रतिरोधात्मक क्षमता कमजोर गर्ने र रोगको ब्याक्टेरीयाहरुले छिट्टै आक्रमण गर्ने भएकाले सुत्केरी महिला, बालबालिका, बृद्ध र दीर्घरोगी एवं लामो समयसम्म औषधि सेवन गर्नेहरु छिट्टै प्रभावित हुने गरेको पडसरी स्वास्थ्य चौकीका प्रमुख नेत्र न्यौपानेले बताए।

चिसो मौसमा खासगरी नवजात शिशु, बालबालिका र जेष्ठ नागरिकको हेरचाहमा बिशेष ध्यान दिनुका साथै सजगता अपनाउनु पर्छ। चिसोबाट बच्न न्यानो कोठामा बस्ने, न्यानो कपडा लगाउने, तातो र झोलिलो पदार्थ सेवन गर्नुपर्ने ब्यायाम, आराममा ध्यान दिनु चिकिस्तकहरुको सुझाव छ।

स्थानीय तह र विपद व्यवस्थापन तयार
बढ्दो चिसोसँगै शीतलहर प्रभावितलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति शतर्क भई विपतको सामना गर्न सरोकारवाला निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पन्थले स्थानीय तहको सक्रियतामा शीतलहरको जोखिममा रहेका परिवारको विवरण तयार गर्ने, ठाँउठाउँमा आगो बाल्ने,  शीतलहरको जोखिममा रहेका परिवारलाई आवश्यक राहत तथा सहयोग गर्ने तर्फ केन्द्रित छ।

जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा संघ संस्थाहरुको कार्य विभाजन गरेर सोही अनुसारको काम गर्न आदेश दिइएको पन्थले बताए। पुस महिनाको सुरवात भएसँगै जाडो बढेको भए पनि अहिलेसम्म हताहत हुने अवस्था समग्र जिल्लामा नरहेको उनले बताए।

विपतलाई ध्यानमा राखि अति बिपन्न, गरिब, जेष्ठ नागरिक, अपाङ्ग, टुहुरालाई विशेष ध्यानमा राख्दै समितिले प्रभावित क्षेत्रमा रेडक्रसको सहकार्यमा तथ्याङ संकलन गरिरहेको छ।

त्यस्तै रुपन्देहको मायादेवी, मर्चवारी, सम्मरीमाई कोटहीमाईले कम्बल वितरण गरेका छन्। रोहिणी गाउँपालिका सिद्धार्थनगर नगरपालिकाले पनि भैरहवाका चोकचोक र चहलपहल हुने ठाँउमा दाउरा बालेको छ त्यस्तै कोटहीमाई गाउँपालिकाले पनि प्रत्येक वडा र सरकारी कार्यालयमा दाउरा वितरण गरेको छ।

 

प्रकाशित: १३ पुस २०७६ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App