coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडा कार्यालयमा स्थानीयले लगाए दोस्राेपल्ट ताला

खोटाङ– वडाध्यक्षसँग असन्तुष्ट खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन्। वडाध्यक्ष सन्तबीर तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै आइतबार वडासदस्य जयकुमार तामाङको नेतृत्वमा गएका ५० भन्दा बढि स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन्।

वडासदस्य जयकुमारले गत पुस ७ गते वडा कार्यालयमा लगाएको ताला सोही दिन साँझ प्रहरीको सहयोगमा वडाध्यक्षले खोलेपछि पुनः आइतबार स्थानीयसमेतको सहभागितामा ताला लगाइएको हो। वडाध्यक्षले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेको, आफ्नो अनूकुल मात्र काम गरेर भूमीकाविहीन पारिएको भन्दै वडासदस्य जयकुमारले वडा कार्यालयमा ताला लगाउनु परेको बताए।

वडा कार्यालयमा ताला लगाएका स्थानीय छलफलका लागि गाउँपालिकाको कार्यालयमा डेलीगेसन पुगेका थिए। तर, वडाध्यक्ष नआएपछि छलफल हुन नसकेको बताइएको छ। वडाध्यक्षले बाकाचोलको खोपखर्कभञ्ज्याङ–गोर्केविसकाम सडक निर्माणका लागि बजेट विनियोजन गराएको र सो योजनाले लुबेरा खानेपानी आयोजनालाई क्षति पुग्ने र करिब अढाई सय घरधुरीलाई असर पुग्ने भएकाले पुर्नविचार गर्नुपर्ने माग वडासदस्यले राखेपछि उनीहरुबीच द्धन्द्ध सिर्जना भएको जनाइएको छ।

‘हामी निर्वाचित भएदेखि नै वडाध्यक्षले एकलौटी गर्नुभयो। उहाँ पोजिटिभ हुनुभएन। यसपल्ट पनि हामीलाई योजना छनौट प्रकृयामा सहभागी गराइएन, उहाँ आफैले एकैचोटी गाउँसभामा योजना पास गराउनु भयो,’ वडा सदस्य जयकुमारले भने, ‘हामीले विमती राख्यौँ तर बहुमतको नाममा योजना पारित गराउनुभयो। जनताबाटै असन्तुष्टीका आवाज आएकाले ताला लगाउनुपर्ने अवस्थामा पुगेको हुँ।’

बाकाचोलका वडाध्यक्ष सन्तबीर र वडा कार्यालयमा ताला लगाउने जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। वडासदस्य जयकुमारले यसपल्टको योजनाको उपभोक्ता समिति पनि वडाध्यक्षले एकलौटी गठन गरेको आरोप लगाए। ‘यसपल्ट उपभोक्ता समिति गठन गरेको हामीलाई थाहै छैन। गाउँपालिकामा पुग्दा सम्झौता गर्न पुगेको समितिसँग भेट भएपछि मात्र पो थाहा पाएँ,’ उनले भने, ‘हामी पनि जनताबाट अनुमोतिद हौँ। सहमतिमा काम गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

वडा कार्यालयमा लागेको ताला खुलाएर वडाको कामकाजलाई सुचारु गराउन सोमबार वडामै छलफल गर्ने सहमतिमा स्थानीयलाई फर्काइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

प्रकाशित: १३ पुस २०७६ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App