coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

र्‍याफ्टिङ, बञ्जी, क्यान्याेनिङ र खानामा छुट गर्दै व्यवसायी

सुनकोसीमा र्‍याफ्टिङ र भोटेकोसी नदीमा बञ्जीजम्पको आनन्द लिँदै पर्यटक । तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक- स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

नेपाल भ्रमण वर्ष-२०२० को अवसरमा होटल व्यवसायीले आफूहरुले दिँदै आएको सबै सेवामा ३० प्रतिशत छुट दिने घोषणा गरेका हुन्। जनवरी १ देखि पहिलो एक सातासम्म होटल, लज र रेष्टुराका सेवामा छुट दिने घोषणा व्यवसायीले गरेको भ्रमण वर्ष जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए।

‘व्यवसायीको घोषणालाई स्वीकार गर्दै समितिको बैठकबाटसमेत ३० प्रतिशत छुटको निर्णय गरेका छौँ,’ जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका उनले भने। उनका अनुसार भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेल, खानाका परिकार, वास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

भ्रमण वर्षमा बढी भन्दा बढी पर्यटक भित्र्याउन व्यवसायीले छुटको प्याकेज ल्याएका हुन्। आन्तरिक तथा बाह्य पर्यटकले छुटको सुविधा पाउने प्रमुख तामाङले जानकारी दिए। र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलका लागि सिन्धुपाल्चोक प्रख्यात छ। साहसिक खेल खेल्न वार्षिक हजारौँ विदेशी पर्यटक आउँछन्। अरनिको राजमार्गको सुकुटेदेखि तातोपानीसम्म खुलेका दर्जन बढी रिसोर्टले र्‍याफ्टिङ खेलाउँछन्। पछिल्लो समय र्‍याफ्टिङ र बञ्जीजम्पमा स्वदेशी युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ।

तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँको प्याकेजमा व्यवसायीले र्‍याफ्टिङ, बञ्जीजम्म र क्यान्याेनिङलगायत साहसिक खेल खेलाउँदै आएका छन्। यो शुल्कमा यातायात, ब्रेक फास्ट, लञ्च र डिनर र वाससमेत समेटिएको छ। अब यो शुल्कमा पर्यटकले ३० प्रतिशत छुट सुविधा पाउने छन्। सुनकोसी, भोेटेकोसी, मेलम्ची, इन्द्रावती, ब्रह्मायाणी नदीमा हुर्केका स्थानीय जातका माछाका परिकारको लागि पनि जिल्ला प्रसिद्ध छ। पछिल्लो समय जिल्लाको पहिचानमा ट्राउट माछासमेत थपिएको छ। जिल्लाले ‘ट्राउट हब’को परिचय थप्दा पर्यटकको आकर्षण बढाएको छ।

‘मिनी’ इलाम भनेर चिनिने भोटेचौर, हेलम्बु क्षेत्र, मेलम्ची, बाह्रविसे, सीमानाका तातोपानी, पाँचपोखरी, भैरवकुण्ड, जुगल हिमशृंखलाको आधारशिविर नेपेमासाललगायत स्थान जिल्लाका चर्चित पर्यटकीय गतन्व्य हुन्। प्राकृतिक रुपमै ४२ डिग्री तापक्रमको पानी बहने प्रसिद्ध तातोपानी धारा यसै जिल्लामा पर्छ। गौराति भीमेश्वर, पाल्चोक भगवती, तौथली र उग्रचण्डीमाईलगायत तीर्थस्थल, तामाङ, नेवार, ह्योल्मो, शेर्पा, गुरुङ, अल्पसंख्यक माझी, दनुवार, पहरी समुदायको भेषभुषा र संस्कृति जिल्लाको धार्मिक पर्यटनका क्षेत्र हुन्।

‘भ्रमण वर्षमा अधिकतम पर्यटक भित्र्याउन हदैसम्मको प्रयास गर्ने छौँ,’ आयोजक समितिका संयोजक तामाङले भने। उनका अनुसार सुनकोसी र भोटेकोसी किनारका होटल, रिसोर्टमा भ्रमण वर्षको पहिलो साता लगातार सात दिन सातै स्थानमा साँस्कृतिक प्रदर्शनी गरिने छ। रिसोर्टका पाहुनालाई त्यहाँ लगेर साँस्कृतिक प्रदर्शनी अवलोकन गराइने छ।

विभिन्न विषगत कार्यालय, स्थानीय तह र संघसंस्थाको कार्यक्षेत्रमा पर्यटन सम्बन्धी जानकारी दिने होडिङ बोर्ड राखेर भ्रमण वर्षको प्रचार गर्ने निर्णय आयोजक समितिले गरेको छ। गत वर्ष पुसमा ७७ जिल्लाका समन्वय प्रमुख, उपप्रमुख भेला गराएर प्रथम राष्ट्रिय जलवायु सम्मेलन गरिएको गुफाडाँडामा आउँदो पुस १८ गते जलवायु दिवस मनाउँदै भ्रमण वर्ष-२०२० लाई स्वागत गरिने संयोजक तामाङले जानकारी दिए।

प्रकाशित: १३ पुस २०७६ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App