coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विधान कुल्चँदै देउवा

काठमाडौं- गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छन्।

१३औं महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउवाले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रियासमेत सुरु भएको छैन।

'मिलिजुली जाऊँ, बाँडीचुँडी खाऊँ' भन्ने संस्कृतिले दुई गुटको पार्टीलाई आधा दर्जन गुटमा परिणत गरिदिएको छ।

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीमा भागबन्डा संस्कृति विकास हुँदा गुटबन्दी मौलाएको बताए। निर्वाचनबाट आएको नेतृत्वलाई विधि र प्रक्रियाअनुसार काम गर्न दिनुपर्ने बताउँदै घिमिरेले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास गर्दा विधि र विधान पछि परेको तर्क गरे। 'मिलिजुली जाऊँ, बाँडीचुँडी खाउँ्क भन्ने राम्रो संंस्कृति होइन,' घिमिरेले नागरिकसँग भने, 'पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पनि समस्या पारेको छ। चुनाव जितेर आएकालाई काम गर्न दिनुपर्छ।'

नेता रामचन्द्र पौडेल निकट एक केन्द्रीय सदस्यले नेतृत्वमा नपुग्दासम्म विधान पालना भएन भन्ने आफैं पुगेपछि अटेर गर्दै अघि बढ्ने प्रवृत्ति नराम्रो भएको बताए। उनले भने, 'विधानको कुरै भएन, अब पर्खनुको विकल्प छैन।'

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सभापतिले समय दिनुपरेकाले पदाधिकारी मनोनयनमा विलम्ब भएको देउवा निकट स्रोतको दाबी छ। 'मंसिरभित्रै विभाग गठन र पदाधिकारी मनोनयन अघि बढाउने भन्ने थियो,' स्रोतले भन्यो, 'राष्ट्रिय राजनीतिले एउटा आकार लिनेबित्तिकै यी काम अघि बढ्छन्।'

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पदाधिकारी नियुक्तिको विषय परिपक्व भइसकेको बताए। उनले नागरिकसँग भने, 'परिपक्व भएको कुरा जति बेला गरे पनि हुन्छ, सभापतिले गर्दै हुनुहोला।'

पार्टीको महाधिवेशन सम्पन्न भएको नौ महिनामा एक दशकदेखि हुन नसकेको प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भने सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयन गर्नुबाहेक महाधिवेशनमा वैचारिक बहस भने भएन।

केन्द्रीय सदस्य घिमिरेले भ्रातृ संगठनको महाधिवेशनमा मात्र नभएर पार्टीभित्रै पनि वैचारिक बहस पक्ष कमजोर बन्दै गएको बताए। महाधिवेशन भनेपछि नेतृत्व चयनमात्र हो भन्ने मानसिकता विकास भएको औंल्याउँदै घिमिरेले भने, 'कम्तीमा भ्रातृ संगठनले नयाँ नेतृत्व पाएका छन्, सभापतिलाई यतिका लागि भने पनि धन्यवाद दिनुपर्छ।'

संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्यसमेत भएको छैन। विधानको धारा ४९ उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। देउवा फागुन २४ गते सभापति निर्वाचित भएका हुन्।

सबै जिल्लामा प्रतिनिधि

आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाइसकेको छ। खटिएका प्रतिनिधिले जिल्लाको सांगठनिक अवस्थाका साथै विकास निर्माण अवस्थाको पनि सूचना संकलन गर्नेछन्।

गाउँदेखि जिल्लासम्म संगठनको अवस्था के छ, कार्यालयको अवस्था र बैठक कत्तिका नियमित छन्, कार्यसमितिले पूर्णता पाए/पाएनन्, भ्रातृ तथा शुभेच्छुक संगठनको अवस्था कस्तो छ भन्ने जानकारी प्रतिनिधिले केन्द्रमा गराउनेछन्। 'स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन लक्षित समग्र सूचना संकलन हुन्छ,' मुख्य सचिव कृष्ण पैाडेलले भने, 'नेताहरू जिल्ला हिंडिसक्नुभएको छ।'

कांग्रेसको कात्तिक ९ मा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको नीति र कार्यक्रमबारे जानकारी गराउन, निर्वाचन पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठन विस्तार एवं सुदृढीकरण गर्न सबै प्रदेश र सबै जिल्लामा एकमहिने अभियान सञ्चालन गर्ने र यसका लागि केन्द्रीय सदस्यलाई प्रतिनिधि खटाउने निर्णय गरेको थियो।

प्रकाशित: ५ पुस २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App