८ वैशाख २०८१ शनिबार
समाज

शिलान्यासको ६ महिनापछि पुलको काम सुरु

साप्सु खोलामा प्रिस्ट्रेस पुल शिलान्यास गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । फाईल तस्बिर: दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको छ।

ठेकेदारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको बिचमा रहेको साप्सु खोलाको बाटो फेदीमा निर्माण गरिने प्रिस्ट्रेस बिम पुलको काम शिलान्यास भएको ६ महिना बितेपछि सुरु गरिएको हो।

कामै नगरी ६ महिना बिताएको ठेकेदार कम्पनी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ढिलागरी पुलको प्रारम्भिक चरणका काम थालेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। शिलान्यास भएको लामो समयसम्म पुलको काम सुरु नहुँदा ठेकेदारको आलोचना सुरु भएको थियो।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले गत असार ११ गते शिलान्यास गरेका थिए। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा जोड्ने सडक खण्डमा पर्ने प्रिस्ट्रेस बिम पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्ने गरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो।

४० मिटर लम्बाई भएको पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको थियो। दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुल मूल्य अभिवृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले बताए। उनले निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने जनाएका छन्।

प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाई तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो। ‘हामीले विभिन्न ठाउँमा यस्ता पुल बनाएका छौँ। अहिलेसम्म निर्धारित समयमै बनाएको रेकर्ड छ,’ निर्माण कम्पनीका ईन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘यो नयाँ प्रविधिको पुल हो। गुणस्तरमा पनि तलमाथि हुँदैन।’

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो। ‘पुलको काम समयमै बन्नुपर्छ। मितिमा तलमाथि गर्न दिइन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ।’

सडककोबीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो। साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ।


 

 

प्रकाशित: १३ पुस २०७६ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App