८ वैशाख २०८१ शनिबार
समाज

म्याद सकिनै लाग्दा ४० प्रतिशत काम

सडकको विषयमा धादिङबेसीमा आयोजित कार्यक्रममा सहभागीहरु ।

धादिङ- विकासको मुख्य पूर्वाधारको रुपमा मानिने सडक निर्माण कार्यलाई जिल्लाका सबै स्थानीय तहले पहिलो प्राथमिकता दिएका छन्। हिउँद लागेसँगै पुराना ट्र्याकको मर्मत तथा स्तरोन्नती र नयाँ ट्र्याक खन्ने कार्य तीव्र भइरहेको छ। जिल्ला सदरमुकाम हुँदै ग्रामीण भेगमा जाने सडकहरु निर्माण गर्ने र कालोपत्रेको काम भइरहेको छ। धादिङबेसी–भर्‍याङभुरुङ–सेमजोङ सडकखण्ड निर्माण भइरहेको हो।

सडकखण्डको निर्माणसम्बन्धी भएका कामको सार्वजनिक सुनुवाई गर्दै उक्त सडकखण्डको अहिलेसम्ममा ४० प्रतिशत काम भएको आयोजना प्रमुख जयराम श्रेष्ठले बताए। ‘निर्माण गरिँदै गरेको धादिङबेसी–भर्‍याङभुरुङ–सेमजोङ सडकखण्डको काम अहिलेसम्म ४० प्रतिशत सकिएको छ’ उनले भने, ‘बाँकी ६० प्रतिशत काम साढे ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको पहलमा सडक निर्माणको कार्य सुरु भएको हो। २०७५ साल असार २३ गते १८ महिनाभित्रमा काम सक्ने गरि सिएबि कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। धादिङबेसी–भर्‍याङभुरुङ–सेमजोङ सडकखण्डको ८ दशमलव २६ किलोमिटर सडक कालोपत्रे र १३ किलोमिटर सडक ग्राबेल गर्न सम्झौता गरेका थिए।

सडक निर्माण सम्झौताको म्याद सकिन अब केही दिनमात्र बाँकी रहदा सडकको अझै ६० प्रतिशत काम गर्नेै बाँकी छ। यो अवधिमा काम सम्पन्न नहुने भएपछि आगामी २०७७ सालको बैशाख २७ गतेभित्र काम सम्पन्न गर्ने गरि साढे ४ महिनाको समय थप गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीयले डेढ वर्षमा पनि नसकिएको सडक निर्माण साढे ४ महिनामा सकिएला भन्नेमा आशंका लागेको बताएका छन्। यस्तै सडक निर्माण गर्ने क्रममा पनि स्थानीयवासीहरुको जग्गा अनावश्यक रुपमा अतिक्रमण भएको गुनासोसमेत गरे। आयोजना प्रमुख जयराम श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपालले कार्यक्रममा सहभागीहरुको गुनासोको सम्बोधन गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सांसद रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा सांसद अधिकारीले निर्माण कार्य समयमा नै सम्पन्न गर्न र काम गुणस्तरीय हुनु पर्ने बताए। ‘सडक हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले निर्माणमा ढिलाई गर्नुहुँदैन’, उनले भने, ‘निर्माण गर्ने क्रममा ठेकेदार र ईन्जिनियरहरुले पनि मापदण्ड अनुरुपको काम गर्नुपर्छ र ढिलाई गरि जनतालाई दुःख दिनु हुँदैन।’

 

प्रकाशित: १३ पुस २०७६ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App