७ वैशाख २०८१ शुक्रबार
समाज

बरुवा क्याम्पस स्थापनाको १० वर्षपछि आफ्नै भवनमा

भर्खर पठनपाठन सुरु भएको बरुवा क्याम्पस भवन । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर सदरमुकामस्थित बरुवा क्याम्पस १० वर्षपछि भाडामुक्त भएको छ। त्रियुगा नगरपालिका १२ त्रियुगा नदी किनारको पौने २ बिगाह जमिनमा नयाँ ब्लक (भवन) बनाएपछि यही पुसदेखि क्याम्पस भाडामुक्त हुन पुगेको हो।

त्रियुगा नगरपालिकाले नदी उकासको १ बिगाह १५ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराएपछि क्याम्पसले ४ वटा ब्लक निर्माण गरेर पठनपाठन सुरु गरेको छ। ४ वटा ब्लकमा १५ वटा कोठा, पुरुष–महिला शौचालय तथा खानेपानीको व्यवस्था गरेर पुसदेखि त्यही पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख भिमबहादुर खड्काले बताए। उनका अनुसार यसअघि त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटको दुईवटा पक्की भवन भाडामा लिएर पठनपाठन गराइदै आएको थियो।

तत्कालीन त्रियुगा उच्च माविमा ०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापित बरुवा क्याम्पसमा स्नातक तहको पठनपाठन हुँदै आएको छ। विद्यालयका दुई भवनमा १० वर्षदेखि क्याम्पस सञ्चालन हुँदा मावि तहका विद्यार्थीलाई पठनपाठन गर्न साँघुरो भएको गुनासो स्कुलले गरेपछि अन्यत्र जमिनको व्यवस्था गरी नगरपालिकासँगको सहकार्यमा भवन बनाउन क्याम्पस लागी परेको थियो। झण्डै १ करोड रुपैयाँको लागतमा निर्मित भवनका १५ कोठामध्ये एउटामा प्रमुख कार्यकक्ष, एउटा कर्मचारी कक्ष प्रयोग गरेर बाँकी १३ वटामा पठनपाठन सञ्चालन थालिएको प्रमुख खड्काले बताए।

भवन बनाउन गतवर्ष नगरपालिकाले ३५ लाख रुपैयाँ अनुदान दिएको थियो भने प्रदेश सरकारले ५ लाख रुपैयाँ दिएको थियो। अपुग रकम क्याम्पसको आन्तरिक आमदानीबाट बेहोरेर भवन बनाइएको खड्काले बताए। उनका अनुसार विद्यालयको भवन भाडामा लिएर चलाउनुपर्दा साँघुरो हुनुका साथै विद्यालयलाई पनि असहज भएपछि क्याम्पसले ३ वर्षअघि आफ्नै भवन बनाउने गरी पहल थालेको थियो। ३ वर्षको पहलमा क्याम्पसको आप्mनै भवन निर्माण गर्न सफल भएपछि शैक्षिक तथा प्रशासनिक सबै कार्य गर्नेगरी क्याम्पस स्थानान्तरण गरिएको हो।

शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुने क्याम्पसमा हाल ५ सय विद्यार्थी अध्ययनरत छन्। ब्लक भवनमा तत्काल काम चलाउ कक्षा सञ्चालन गरिएको क्याम्पसका लागि दीर्घकालीन योजना बनाएर पक्की भवन बनाउन स्रोतको खोजी भईरहेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले विद्यालयको पठनपाठनमा समस्या हुन नदिन काम चलाउ ब्लक भवन बनाएर क्याम्पस सारिएको बताए। उनले दीगो र भरपर्दो गरी क्याम्पस चलाउन नगरपालिकाले जमिन र पक्की भौतिक पूर्वाधार निर्माणका लागि स्रोतको खोजी गरिरहेको बताएका छन्।

त्रियुगा नमूना माविका प्रधानाध्यापक सुवास विष्टले एकदशकसम्म विद्यालयको भवन क्याम्पस सञ्चालनका लागि दिएर सहयोग गरेको तर, पछिल्लो समय विद्यार्थीको अत्याधिक चाप बढेपछि कक्षा कोठा अभाव भएर क्याम्पस अन्यत्र सार्न लगाएको बताए। ४ वटा सुविधासम्पन्न भवन र ४ वटा ब्लक भवन भए पनि त्रियुगा माविमा विद्यार्थीको चाप थेगिनसक्नु भएपछि क्याम्पस अन्यत्र सार्नु परेको उनले बताए।

त्रियुगा मावि जिल्लाकै सामुदायिक विद्यालयमध्ये अत्याधिक विद्यार्थी भर्ना हुने स्कुल हो। हाल त्रियुगामा २ हजार हाराहारी विद्यार्थी अध्ययन गर्दै आएका छन्। कक्षा ८ देखि प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा पठनपाठन हुँदै आएको विद्यालयलाई सरकारले दुई वर्षअघि ‘नमूना विद्यालय’ घोषित गरेर भौतिक पूर्वाधार र यन्त्र उपकरणहरु थप्दै आएको प्रअ विष्टले बताएका छन्।     

 

 

प्रकाशित: १३ पुस २०७६ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App