८ वैशाख २०८१ शनिबार
समाज

पर्यटक तान्दै परम्परागत घर

भक्तपुर - नेपालमा विदेशी पर्यटक के हेर्न आउँछन् ? धेरैको उत्तर हुनसक्छ– प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन हेर्न पर्यटक आउँछन्। भक्तपुरमा भने यीबाहेक पनि हेर्न पर्यटक आउँछन्। पर्यटक यहाँका परम्परागत घर हेर्न पनि आउँछन्।

भक्तपुर नगरपालिका– ५ (साबिक वडा नम्बर ८) चाँसुखेलका महेश ताम्राकार भक्तपुर घुम्न आउने धेरै पर्यटक आफनो घर देखेर लोभिने बताउँछन्। ‘हाम्रो घर देख्यो कि पर्यटक लोभिन्छन् र फोटो खिच्न हतारिन्छन्,’ उनले नागरिकसँग भने, ‘हाम्रो घरको फोटो संसारभर पुग्यो होला, लाखाैं फोटो खिचिए होला।’

हुन पनि उनको घर हेर्दै लोभलाग्दो छ। भक्तपुरको टिपिकल परम्परागत घर जस्तो छ। सबैतिर आकर्षक काठका बुटे झ्याल छन्। भित्री भाग पनि उतिकै परम्परागत देखिन्छ। यो घर भक्तपुरको प्रसिद्ध चासुखेल मन्दिरभन्दा तल छ। घर पाँचतले छ। घरको सबै मोहडा पूरै परम्परागत छ। घर हर्दै लोभलाग्दो देखिएकाले विदेशी मात्रै होइन स्वदेशी पर्यटक तथा स्थानीयसमेत यो घर देखेर लोभिने ताम्राकार बताउँछन्।

घरका अर्का हिस्सेदार रूपेश ताम्राकार पर्यटक तान्नभन्दा पनि भक्तपुरको परम्परा जोगाउन यस्तो घर बनाएको बताउँछन्। दाज् महेश र आफूले भक्तपुरका परम्परागत घरको नमुना बचाउन यस्तो घर बनाएको बताउँछन्। यो घर बनाउन तुलनात्मक रूपमा बढी खर्च लागेको छ। काठका झ्यालले धेरै प्रयोग गरिएकाले घर निर्माण खर्च अन्य घरको तुलनामा बढी भएको उनीहरूको भनाइ छ।

यो घर दुई दाजुभाइको सगोलमा छ। घरमा आमा, दुई दाजुभाइ, उनीहरूका श्रीमति र सन्तान गरी आठ जना बस्छन्। घर आवासीय प्रायोजनका लागि नै बनाइएको छ। भक्तपुरमा परम्परागत घर धेरै देखिन्छन् तर यस्तो विधि झ्यालले भरिएका परम्परागत घर विरलै भेटिन्छन्। यहाँ धेरैले व्यावसायिक प्रायोजनका लागि परम्परागत देखिने घर बनाएका छन्। होटल, रेष्टुरेन्ट सञ्चालन गरी पर्यटक तान्न यस्ता घर बनाएको धेरै देखिन्छन्। तर चासुखेलको जस्तो परम्परागत देखिने घर भने सायदै देखिन्छन्।

पुरानो सहरको जीवन्तताका लागि भक्तपुर नगरभित्र आधुनिक घर बनाउन नपाइने भक्तपुर नगरपालिकाको नियम छ। मोहडामा ढलान देखाउन नपाइने, माथिल्लो तलामा स्ल्याब नदेखिने गरी छाना राख्नुपर्नेलगायत नियम नगरपालिकाको छ। यसका लागि अगाडिको मोहडामा लाग्ने खर्चमा निश्चित प्रतिशत सहयोग नगरपालिकाले गर्ने व्यवस्था छ।

भक्तपुरमा यस्ता घरलगायतका मठमन्दिर, रहनसहन, जनजीवन हेर्न धेरै पर्यटक आउँछन्। यहाँ आउने पर्यटकसँग नगरपालिकाले प्रवेश शुल्क उठाउँदै आएको छ। सार्क र गैरसार्क राष्टका पर्यटकलाई छुटाछुटै प्रवेश शुल्क तोकिएको छ।

प्रकाशित: १३ पुस २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App