१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा

ओखलढुंगा– ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा भएका छन्। पुनर्निर्माणको माप दण्डअनुसार ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका ३५ वडालाई पुनर्निर्माण वडा घोषणा गरिएको हो। जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकामा रहेका ७५ वडामध्ये ३५ वडामा ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका हुन्।

शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा ती वडाहरुलाई पुनर्निर्माण सम्पन्न वडा घोषणा गरि प्रमाण पत्र वितरण गरिएको छ। सिद्धिचरण नगरपालिकामा एक, मानेभञ्ज्याङ्ग गाउँपालिकाको एक, चिशंखुगढी गाउँपालिकामा दुई, सुनकोशी गाउँपालिकामा ६ र तिन वटा गाउँपालिका लिखुगाउँपालिका, खिजिदेम्बा गाउँपालिका र चम्पादेवी गाउँपालिकाको सात वडालाई पुनर्निर्माण सम्पन्न वडा घोषणा भएका छन्।

समग्र जिल्लामा  करिब ८७ प्रतिशत निजि आवास पुनर्निर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राहीमध्ये करिब ८७ प्रतिशत लाभग्राहीले निजि आवास पुनर्निर्माण सकेका हुन्।

१९ हजार चार सय चार जना लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माणको काम सम्पन्न गरी तेश्रो किस्ता लिएका छन्। यो कुल पहिलो किस्ता लिने संख्याको आधारमा करिब ८७ प्रतिशत हो। जिल्लामा पहिचान भएका २१ हजार तिन सय ७७ लाभग्राहीहरु थिए। जिल्लाको आठ स्थानीय तहहरुमध्ये सबै भन्दा बढी ९८.७ प्रतिशत लिखु गाउँपालिकामा पुनर्निर्माणको काम सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले बताए।

प्रमुख खरेलका अनुसार लिखु गाउँपालिकाका तिन हजार दुई सय ६२ लाभग्राहीमध्ये तिन हजार दुई सय १९ ले आवास पुनर्निर्माण सम्पन्न गरेका छन्। यसका साथै सुनकोशी गाउँपालिकामा ९८, चम्पादेवी गाउँपालिकामा ९७.६, मोलुङ् गाउँपालिकामा ९७.१ र खिजिदेम्बा गाउँपालिकामा ९६.४ प्रतिशत निजिआवास पुनर्निर्माण सम्पन्न भएका हुन्।

बाँकी रहेका चिशंखुगढी गाउँपालिकामा ९४.७, मानेभञ्ज्याङ गाउँपालिकामा ९३.४ र सबै भन्दा कम सिद्धिचरण नगरपालिकामा ९३ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार ओखलढुंगामा प्रवलिकरणको नजिता शून्य छ। चार हजार ६५ लाभग्राही प्रवलिकरणका लागि पहिचान भएका थिए। यसमध्ये दुई हजार सात सय ५० जना लाभग्राहीले प्रवलिकरणका लागि पहिलो किस्ता लिए पनि कुनैले पनि आफ्नो घर प्रवलिकरण नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ।

प्रवलिकरण तर्फ तेश्रो किस्ता लिन आउने लाभग्राहीको संख्या शून्य छ। पुनर्निर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठको सभापतित्व र संघिय सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता तथा विभिन्न पालिका प्रमुखहरुको उपस्थितीमा पुनर्निर्माणका चार वर्ष नामक पुस्तिका सार्वजनिक गरेको छ।

पुस्तकमा जिल्लामा पुनर्निर्माण भएका निजिआवास, विद्यालय र दुई सडकका बारेमा विस्तृत विवरण उल्लेख गरिएको कार्यालयले जनाएको छ।

 

प्रकाशित: १२ पुस २०७६ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App